• ३० वैशाख २०८२, मङ्गलबार

समयमा पुल नबन्दा तुइनकै भर

blog

जाजरकोटको छेडागाड नगरपालिका–६ र जुनिचाँदे गाउँपालिका–४ को बीचमा रहेको कालेखोलामा सञ्चालित तुइन । तस्बिर : सहदेव बस्नेत

सहदेव बस्नेत
जाजरकोट, चैत २८ गते ।
 निर्माण व्यवसायीले समयमा काम नगर्दा जाजरकोटको छेडागाड नगरपालिका–६ र जुनिचाँदे गाउँपालिका–४ को बीचमा रहेको कालेखोलामा वारपार गर्न तुइनकै भर पर्नु परेको छ ।  दुई वर्षअघि लगाएको पक्की पुलको ठेक्काको काम जय बागेश्वरी कन्स्ट्रक्सन बाँकेले अहिलेसम्म सुरु नगर्दा खोलामा तुइनको यात्रा गर्न स्थानीय बाध्य भएका हुन् ।

सडक डिभिजन चौरजहारीले यो ठेक्का दुई वर्षअघि खोलेर निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो । हाल छेडागाड नगरपालिका–६ का मानबहादुर थापाले तुइन निर्माण गरेर खोलामा दैनिक रूपमा वारपार गराउने कार्य गरिरहनुभएको छ । त्यहाँका स्थानीयले खोला तर्नकै लागि तुइनलाई  प्रतिव्यक्ति  एक सय रुपियाँ  तिर्नुपर्ने बाध्यता रहेको स्थानीय प्रेमबहादुर खड्काको गुनासो छ ।

वर्षायाममा तुइनमार्फत यहाँका सर्वसाधारणले खोला तर्ने र दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका छन् । हिउँद याममा खोलामा पानीको मात्रा कम भएपछि खोलामै जबरजस्ती सवारीसाधन चलाएर खोला पार हुने गरेको छ ।

यता सडक डिभिजन कार्यालय चौरजहारीले भने पुल निर्माणका लागि कार्यालयले ताकेता गरिरहेको जनाइको छ । सडक डिभिजन चौरजहारीका प्रमुख आशुतोष कर्णले आफूहरूले निर्माण व्यवसायीसँग  ताकेता गरिरहेको जानकारी दिनुभयो ।