• १६ चैत २०८०, शुक्रबार

सडक क्षेत्राधिकारभित्रको संरचना हटाउन अन्तिम म्याद

blog

सडक क्षेत्राधिकारभित्र बनाइएका संरचना आफैँ हटाउँदै स्थानीय । तस्बिर: चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २८ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गको सडक क्षेत्रभित्रको संरचना हटाउन अन्तिम म्याद दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै सडक क्षेत्राधिकारभित्र पर्ने घर–टहरा लगायतका संरचना हटाउनलाई सात दिनको अन्तिम पटक म्याद दिएको हो । 

फुङ्लिङ नगरपालिकाले मेची राजमार्ग सडक सीमाभित्रको संरचना हटाउनलाई २०८० साल वैशाख २ गते सम्मको म्याद दिएको छ । राजमार्ग सडकको दायाँ–बायाँ साढे ७ मिटर क्षेत्रभित्रका संरचना हटाउनलाई अन्तिम पटक म्याद दिएको सूचनामा उल्लेख गरिएको छ । तोकिएको समयभित्र सडक सीमा क्षेत्रका संरचना आफैँ हटाउन र नहटाए सडक ऐनको व्यवस्थाअनुसार प्रक्रिया अघि बढ्ने पनि सूचनामा सचेत गराइएको छ । 

सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको सडक क्षेत्राधिकार भित्रका संरचना हटाउन पहिलो पटक गत पुस २४ गते ३५ दिने सूचना जारी गरेको थियो । सडक डिभिजन कार्यालयले सडक सीमा क्षेत्रमा संरचना व्यवस्थापनका लागि सीमा क्षेत्रमा पर्ने स्थानीय तहको समेत सहयोग मागेको थियो ।

डिभिजन कार्यालयको अनुरोध अनुसार ३५ दिने म्याद सकिएपछि फुङ्लिङ नगरपालिकाले सीमा क्षेत्रमा संरचना हटाई सहयोग गर्न गत फागुन १४ गते सूचना जारी गर्दै १५ दिने म्याद दिएको थियो । त्यसपछि पनि गएको चैत १ गते नगरपालिकाले तेस्रो पटक सात दिनको म्याद दिएर संरचना हटाउन स्थानीयलाई अनुरोध गरेको थियो । 

यता पटक पटक सूचना जारी गरिएको भए पनि संरचना हटाउनप्रति स्थानीयले बेवास्ता गरेको पाइएको छ । केही स्थानीयले भने सडक मापदण्डभित्र निर्माण गरिएका संरचना आफैँ हटाएका छन् । सीमितले मात्र संरचना हटाए पनि अधिकांशले संरचना हटाउनमा चासो नदेखाएपछि पुनः अन्तिम पटकभन्दै नगरपालिकाले सूचना जारी गरेको हो । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।