काठमाडौँ, चैत २७ गते । इन्टर भ्याली ह्विलचियर बास्केटबल टुर्नामेन्ट २०७९ को प्रथम उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ ओमेन ह्विलचियर बास्केटबल एसोसिएसन (डब्लुडब्लुबिए) ले हात पारेका छन्।
नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनको आयोजनाद्वारा आयोजित बास्केटबल टुर्नामेन्ट प्रतियोगिताको अन्तिम चरणमा आर्मीले जावलाखेल व्हीलचियर स्पोर्टस् क्लबलाई ४४–३३ अङ्कले पराजित गर्दै उपाधि जितेको हो ।
आर्मीको जितमा दान थिङ्गको २२ अङ्कको योगदान रह्यो। यस्तै आर्मीका रमेश खत्री मोस्ट भ्यालुएबल खेलाडी घोषित भए । तेस्रो स्थानमा बोधिसत्त्व इन एक्सनका बुद्धिसरा राई रह्यो ।
राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिलातर्फ ओमेन ह्विलचियर बास्केटबल एसोसिएसनले आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एसोशियसनलाई पराजित गर्दै उपाधि जित्यो।
डब्लुडब्लुबिएले रजनी चामलिङ्ग राईको १३ अङ्कको योगदानमा फाइनलमा आयोजकलाई १९–२ अङ्कको अन्तरले पराजित गरेको हो। रजनी मोस्ट भ्यालुएबल खेलाडी पनि घोषित हुनुभयो । तेस्रो स्थानमा ह्विलचियर स्पोर्टस् एसोसिएसन नेपाल रह्यो।
शीर्ष तीन टिमले क्रमशः नगद ४० हजार रुपियाँ ३० हजार रुपियाँ र २५ हजार रुपियाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। भने मोष्ट भ्यालुएवल खेलाडी शीर्षकमा खेलाडीहरूलाई जनही २५ सय रुपियाँ प्रदान गरिएको थियो ।
जाउलाखेल ह्विलचियर बास्केटबल, बोधिसत्य, इनयाक्सन एसोसिएसन, त्रिभुवन आर्मी क्लब, नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद सङ्घको टिम,स्पोर्ट क्लब व्वाइज टिमलगायत नौ वटा समूहबिच बास्केटबल प्रतियोगिता भएको थियो ।
स्पाइनल कर्ड इन्जुरी खेलकुद सङ्घका अध्यक्ष देवी आचार्यले स्पाइनल कर्ड इन्जुरी भएका बास्केटबल खेलाडीको प्रोत्साहनका लागि पहिलो पटक इन्टर भ्याली बास्केटबल प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो ।