नवलपरासी समाचारदाता
कावासोती, चैत २८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले त्रिवेणी–दुम्कीबास सडक विस्तारको काम अब चाँडो हुने बताउनुभएको छ।
मुख्यमन्त्री अधिकारीले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने करिब आठ किलोमिटर सडक विस्तारका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम तत्काल सुरु गरिने बताउनुभयो। त्रिवेणी पुग्नुभएका मुख्यमन्त्री अधिकारीसँग त्यहाँका स्थानीयले बाटो विस्तारको कुरा पटकपटक भए पनि तत्काल सुरु गर्न आग्रह गर्दै छिटो काम थाल्न ध्यानाकर्षण गराएका थिए।
मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “अहिलेसम्म वातावरणीय प्रभाव मूल्याङ्कनसमेत भएको थिएन, अहिले त्योसँगै आवश्यक काम अगाडि बढाउन सहमति बनेको छ भोलिबाट नै आवश्यक काम सुरु हुन्छ।”
मुख्यमन्त्री नियुक्ति भएलगत्तै मुख्यमन्त्री अधिकारीले प्रदेशको लाइफ लाइनका रूपमा त्रिवेणीदेखि कोरला नाकासम्मको बाटो विस्तार गरिने बताउनुभएको थियो। उहाँले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सडक विस्तारका लागि सहमतिपत्र प्रदेश सरकारलाई दिनका लागि निरन्तर पहल गरेको बताउनुभयो। मुख्यमन्त्रीले भन्नुभयो, “यो बाटो प्रदेशको लाइफ लाइन हो, सु्रुवातदेखि नै म लागिरहेको थिएँ खासगरी निकुञ्जभित्र देखिएको समस्या अब टुङ्गिएको छ।” अब वन्यजन्तुलाई कुनै असर नपर्ने गरी काम अगाडि बढाइने र यसका लागि सम्बन्धित कार्यालयले काम थालनी गर्ने बताउनुभयो।
मुख्यमन्त्री अधिकारीले मित्रराष्ट्र भारतको सीमानाकाबाट गण्डकी प्रदेशको राजधानीसम्म पुग्ने सडकले प्रदेशको समृद्धिमा ठूलो योगदान पुग्ने उहाँको भनाइ थियो। प्रदेश सरकारअन्तर्गत सोही सडकखण्डको तनहुँ क्षेत्रमा सडक स्तरोन्नतिको काम द्रुत रूपमा भइरहेको उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “आफ्नै प्रदेशको बाटो हु्ँदाहुँदै पनि अर्को प्रदेशबाट आवतजावत गर्नुपर्ने अवस्था छ, हामी यसलाई अन्त्य गरेर हाम्रै प्रदेशबाट सीमासम्मै आवतजावत गर्न सहज बनाउनेछौँ, यसले जनताको आवतजावत मात्रै होइन व्यापारिक दृष्टिकोणबाट पनि ठूलो राहत मिल्नेछ, व्यवसायीलाई पनि सहज हुनेछ।”