काठमाडौं, चैत २७ गते । काठमाडौं उपत्यकामा मात्रै २१ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा मात्रै २१ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा रहेकामध्ये १० जना आइसियु र चार जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
२४ घण्टामा देशभरका प्रयोगशालाबाट २५ सय ६६ जनाको कोरोना परीक्षण गर्दा १२४५ जनामा कोरोना पुष्टि भएको थियो। सोही समयमा २९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । १९ हजार २६३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४४ रहेका छन् ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले कोरोना लाग्न नदिन जनस्वास्थ्यका मापदण्डा अपनाउन आग्रह गर्नुभएको छ ।
उहाँले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गनुभएको छ। उहाँका अनुसार काठमाडौंका स्थानीय तहले पनि आवश्यकता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन् ।
केही दिनअघि गरिएको अनुवांशिक अध्ययनमा नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखा परेको छ । मन्त्रालयले सङ्क्रमणको लक्षण देखिने बित्तिकै परीक्षण गराउन र आइसोलेसनमा बस्न अनुरोधसमेत गरेको छ ।