• ११ मंसिर २०८१, मङ्गलबार

म्याग्दीमा भित्रियो १४ हजार सेट पाठ्यपुस्तक

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी, चैत २७ गते । आगामी नयाँ शैक्षिक सत्रका लागि म्याग्दीमा करिब १४ हजार सेट सरकारी पाठ्यपुस्तक भित्रिएका छन् । जिल्लाका पुस्तक व्यवसायीहरूले सामूहिक रूपमा लगानी गरेर सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई आवश्यक पर्ने १३ हजार सात सय सेट पाठ्यपुस्तक ल्याएका हुन् ।  

सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तकको सहज र व्यवस्थित रूपमा वितरण गर्नका लागि सामूहिक रूपमा लगानी गरेर जनक शिक्षा सामग्री क्षेत्रीय कार्यालय पोखराबाट पुस्तकहरू खरिद गरेर ल्याइएको पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला कार्यसमिति म्याग्दीका अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो  ।  

उहाँका अनुसार कक्षा १ देखि ५ सम्मका सबै पुस्तक आइसकेका छन् । कक्षा ६ देखि १० सम्मका ७७ प्रतिशत पुस्तक जिल्लामा आइसकेको उहाँले बताउनुभयो । बाँकी अपुग पुस्तक वैशाख १ गतेभित्र जिल्लामा आइसक्ने उहाँले बताउनुभयो । 

पुस्तक व्यवसायीहरूले सञ्चालन गरेको विक्री केन्द्रमार्फत पुस्तकहरू चैत २८ गते देखि पालिका केन्द्र सम्म पुर्‍याउने र विद्यालयहरूलाई विक्री वितरण गरिने जनाइएको छ । जिल्लाको दुर्गम धौलागिरि पालिकाबाट पाठ्यपुस्तकहरू विक्री वितरण गरिने महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष लीलाराम गौतमले बताउनुभयो ।

जिल्लामा पाठ्यपुस्तकको अभाव नहोस् भनेर पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ गण्डकी प्रदेशले जनक शिक्षा सामग्री केन्द्रसँग पटक पटकको छलफलबाट पुस्तकहरू जिल्लामा ल्याउन सफल भएको उहाँले बताउनुभयो । विगतमा जस्तो पाठ्यपुस्तकको अभाव नहोस् भनेर पुस्तक व्यवसायीहरूले पहिला नै सहजीकरण गरेको  उहाँले बताउनुभयो । 

जिल्लामा भित्रिएका पाठ्यपुस्तकहरूलाई व्यवस्थित र सहज रूपमा वितरणको व्यवस्था मिलाउन शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले व्यवसायीहरूलाई अनुरोध  गर्नुभएको छ ।  

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला शाखाले सबै सामुदायिक विद्यालयको कक्षा १–१० सम्मका पाठ्यपुस्तकहरू  विगत ९ वर्षदेखि उपलब्ध गराउँदै आएको छ ।