काठमाडौं, चैत २६ गते। अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरेर सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताउनुभएको छ। आइतबार अर्थमन्त्रालयमा आर्थिक मिडिया सञ्चालक सङ्घसँगको भेटमा अर्थमन्त्री डा. महतले मुलुकको आर्थिक अवस्था अप्ठ्यारो अवस्थामा रहेको भन्दै अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताउनुभएको हो।
उहाँले अर्थतन्त्रमा देखिएका सबै खाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन आफू लागि रहेको बताउनुभयो। अर्थमन्त्री डा. महतले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गरी तत्काल सकारात्मक सन्देश दिनुपर्ने भएकाले आफ्नो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित रहेको बताउनुभयो।
उहाँले अर्थतन्त्रमा लगानी, बैङ्कको ब्याजदर, पुँजी बजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरेर तत्काल अर्थतन्त्र सुधार गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो।
मन्त्री डा. महतले मुलुकको अर्थतन्त्रमा बाह्य र आन्तरिक समस्याले गर्दा राजश्व सङ्कलन न्यून भएको स्वीकार गर्नुभयो। उहाँले विगतमा आर्थिक वृद्धिदर भन्दा बढी राजश्व सङ्कलनको लक्ष्य राख्ने गरे पनि उत्साहजनक रूपमा सङ्कलन हुने गरेको भन्दै चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व सङ्कलन हुने अवस्था नभएको बताउनुभयो।
उहाँले मुलुकको राजश्व सङ्कलन भन्सारमा निर्भर भएको भन्दै यो वर्ष आयात प्रतिबन्ध लगायतको कारण लक्ष्य पूरा हुन नसकेको बताउनुभयो। उहाँले सरकारलाई साधारण खर्च धान्न आन्तरिक ऋण र बाह्य सहयोग र ऋणमा निर्भर भएको उल्लेख गर्नुभयो।
उहाँले सरकारलाई साधारण खर्च धान्न आन्तरिक ऋण र बाह्य सहयोग र ऋणमा निर्भर हुनु उपयुक्त नभएको बताउनुभयो। उहाँले साधारण खर्चमा समस्या देखिए पनि विदेशी मुद्रा सञ्चिताको लगायत अन्य अर्थतन्त्रका सूचक सकारात्मक रहेकाले निराशा भइहाल्ने अवस्था नरहेको बताउनुभयो। उहाँले बैङ्कको ब्याजदर, मौद्रिक नीतिमा कडाइले सिर्जना गरेका परिस्थितिका कारणले अर्थतन्त्रमा कहीँ अप्ठ्यारा आएको बताउनुभयो। उहाँले अर्थ मन्त्रालय र राष्ट्र बैङ्कको सहकार्यमा सरकारको वित्त नीति र मौद्रिक नीति निश्चित लक्ष्यका साथ सकारात्मक दिशामा उन्मुख गराउने बताउनुभयो। उहाँले निराशाको परिस्थितिलाई आशामा रुपान्तरित गर्ने लक्ष्यकासाथ काम गरिरहेको बताउनुभयो। उहाँले सरकारको साधारण खर्चलाई अत्यन्त कम गर्नेगरी काम गर्ने बताउनुभयो। उहाँले सरकारको दायित्वभित्र रहेका तलब, भत्ता, शिक्षा, स्वास्थ्यलाई चाहेर पनि कम गर्न नसक्ने बताउनुभयो।
उहाँले भन्नुभयो,‘‘मुलुकको आर्थिक अवस्था अप्ठ्यारो अवस्थामा छ। सरकारले तत्काल सुधार गर्नुपर्ने महसुस गरेको छ। विश्वको आर्थिक वृद्धिदरको अवस्थालाई ध्यानमा राख्दा धेरै निराशा जनक नभए पनि हाम्रो अपेक्षा भन्दा तल हो। जुन एग्रिगेट मागमा समस्या देखिएको छ। लगानीकर्ताले असहजता महसुस गरिरहेका छन्। बैङ्कको ब्याजदर, पुँजीबजारका समस्याहरू छन्। कर्जा लिनेहरुले पनि असहजता महसुस गरेको अवस्था छ।’’
अर्थमन्त्री डा. महतले बजेटको प्रभावकारिता कार्यान्वयन गर्ने र उत्पादनशील क्षेत्रमा लगानीको सुनिश्चित हुनेतर्फ सरकारको ध्यान केन्द्रित हुने बताउनुभयो।
त्यस्तै, अर्थमन्त्री डा. महतले सामाजिक सुरक्षा भत्तामा सरकारले गरिबीको रेखामुनी रहेकालाई राज्यले सहयोग गर्ने उद्देश्यले विगतदेखि निरन्तरता दिएको भन्दै देशको साधन स्रोत बिना गर्न नसक्ने बताउनुभयो। उहाँले पुँजी निर्माणको दायरा फराकिलो नहुँदा सरकारले सामाजिक दायित्वहरूलाई बढाएर लैजान नसक्ने बताउनुभयो। उहाँले सरकारले आम्दानीको दायरालाई बेवास्ता गर्ने सरकारले दिन्छ भनेर मात्रै बोली दिने विषयले समस्या समाधान नहुने बताउनुभयो।
उहाँले उद्योग व्यवसायमा लगानी गरी आम्दानीको दायरा वृद्धि, वैदेशिक तथा आन्तरिक लगानी प्रवर्द्धन हुनुपर्ने बताउनुभयो। उहाँले वैदेशिक ऋणलाई समयमा नै कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। उहाँले सरकारको राजश्वमा वृद्धि गर्नसके मात्रै सामाजिक सुरक्षामा खर्च गर्न सकिने बताउनुभयो।