• ७ वैशाख २०८१, शुक्रबार

‘लम्पी स्किन डिजिज’ अनियन्त्रित

blog

सूर्योदय नगरपालिकास्थित मकरजुङ्गमा पालिको गाई ।

कोकिला ढकाल

इलाम, चैत २६ गते । इलाममा गाईबस्तुमा ‘लम्पी स्किन डिजिज’ फैलन सुरु भएको छ । गाईबस्तुको शरीरमा एलर्जी जस्तो मसिना फोका आउने, ज्वरो आउने, खुट्टा सुनिने, घाँस नखाने जस्ता लक्ष्यणहरु देखापर्ने भएपछि पशुहरू मर्नेसम्म गरेका पाइएको हो । 

सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माइजोगमाई गाउँपालिका, रोङ गाउँपालिकालगायत जिल्लाका दशवटै पालिकामा यो रोगको सङ्क्रमण रहेको किसानहरूले बताएका छन् ।

पछिल्लो साता मात्र सूर्योदय नगरपालिकाका एक हजार बढी पशुहरूमा यो रोग फैलिएको नगरपालिकास्थित पशु शाखाले जनाएको छ । "तीन वटा बाच्छा र दुई माउ गरी पाँच पशुहरू मरेको खबर आएको छ," पशु शाखाका प्रमुख विपिन साहले भन्नुभयो, "नगरपालिकाभरि एक हजार बढी पशुमा यो रोग फैलिएको छ ।" 

साहले पशुहरू मर्न थालेपछि प्रदेश र केन्द्रमासमेत जानकारी गराएको बताउनुभयो । नगरपालिकाले यस्तो रोग देखा परेपछि रोकथामका लागि आवश्यक औषधी किसानहरूलाई निःशुल्क उपलब्ध गराएको सूर्योदय नगरपालिका प्रमुख रनबहादुर राईले बताउनुभयो । 

यस्तै, इलाम नगरपालिकामा पनि वडा नम्बर, ६, ८, ९, १०, ११, १२ मा यो रोग फैलिएको इलाम नगरपालिकाको पशु शाखाले जनाएको छ । इलाम नगरपालिका– १२ का किसान होम प्रसाईँको एक माउ गाई त यो रोगकै कारण १५ दिन अघिमात्र मरेको इलाम नगरपालिकाको पशुशाखा प्रमुख रूपबहादुर लिम्बुले जानकारी दिनुभयो । लिम्बुका अनुसार इलाम नगरपालिकाका तीन सय बढी पशुहरूमा यो रोग फैलिएको छ । 

"यो रोग नियन्त्रणका लागि ठ्याक्कै औषधी छैन । नेपालमा कुनै भ्याक्सिन छैन, शरीरमा फोका देखिएपछि त्यसलाई नियन्त्रण गर्न एन्टी बायोटिक चलाउने गरेका छौँ", लिम्बुले भन्नुभयो, "त्यही ज्वरो र एलर्जीको औषधी गरिन्छ, यो रोगको औषधी भने माथि देखिनै आएको छैन । झिँगाबाट सर्ने यो रोग नियन्त्रण गर्न इलाम नगरपालिकाले भने फर्मालिन किसानहरूलाई उपलब्ध गराइरहेको छ ।" लिम्बुका अनुसार यो रोग लागेर निको भएका पशुहरूमा पनि दूध कम दिने, बाँझोपन देखा पर्ने गरेको छ । 

लम्पी स्किन डिजिज फैलिएको खबर आइरहेपनि रोगको नियन्त्रण गर्ने औषधी र भ्याक्सिन नभएको इलाम र झापा हेर्दै आएको भेट्नरी अस्पताल झापाका प्रमुख शीतल भट्टराईले बताउनुभयो । "किसानहरूबाट रोगको नमुना लिएर प्रदेशस्थित प्रयोगशालामा परीक्षण गरिन्छ । तर, हामीसँग रोग नियन्त्रणका लागि भ्याक्सिन छैन", भट्टराईले भन्नुभयो, "भारततिर यो रोग नियन्त्रणका लागि भ्याक्सिन प्रयोग भइरहेको भन्ने सुनेका छौँ । हामीले पनि यहाँबाट विभाग र मन्त्रालयमा समन्वय गरिरहेका छौँ ।"

विशेष गरी गर्मीको सिजन सुरु भएपछि फैलिएको रोग नियन्त्रण गर्न झिँगा नियन्त्रण र गोठ तथा पशु सरसफाइमा ध्यान दिनुपर्ने भट्टराई बताउनुहुन्छ ।

यता ८० हजार रुपियाँदेखि एक लाख रुपियाँ मूल्य पर्ने गाई लम्पी स्किन डिजिजका कारण मर्न थालेपछि किसानमा भने चिन्ता छाएको छ । ब्याउन लागेको गाईमा पनि रोग देखा परेपछि कसरी निको पार्नै भन्ने चिन्ता भएको सूर्योदय नगरपालिका– १ का किसान टिकाराम अधिकारीले बताउनुभयो । "भर्खरै मात्र गाईमा खटिरा देखिएको छ । खोले दाना रुचाउँदैन । रोगको औषधी नै छैन अरे," अधिकारीले भन्नुभयो, "यतिधेरै पशुमा रोग महामारीका रूपमा फैंलदासमेत नेपाल सरकार मौन बसेको जस्तो लाग्छ ।"