• १२ मंसिर २०८१, बुधबार

बिसुपर्व मनाउन घर फर्किंदै परदेशी

blog

बैतडी समाचारदाता

बैतडी, चैत २६ गते । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत गएकाहरू बिसुपर्व मनाउन झुलाघाट नाका भएर स्वदेश फर्किन थालेका छन्। नयाँ वर्षलाई सुदूरपश्चिम र कर्णालीमा बिसुपर्वका रूपमा मनाउने चलन छ। 

बिसुपर्व नजिकिएसँगै झुलाघाट नाकाबाट दैनिक दुई सयभन्दा बढी परदेशी स्वदेश फर्किने गरेको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ। बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, दैलेख, बाजुरा, डोल्पा र हुम्लालगायत विभिन्न जिल्लावासी स्वदेश फर्किरहेको प्रहरी चौकी इन्चार्ज योगेशबहादुर पालले बताउनुभयो।  

झुलाघाट प्रहरी चौकीका अनुसार चैत १ गतेदेखि २४ गतेसम्म ४८० महिला र एक हजार ६३८ पुरुष गरी दुई हजार ११८ जना स्वदेश फर्किएका छन्। पछिल्लो समय पुरुषसँगै महिला पनि कामको खोजीमा भारत जाने गरेका छन्। गाउँघरमा बिसुपर्व मनाएन भने बिसु नै बिग्रेको भन्ने चलन रहेको छ।  कर्णाली र सुदूरपश्चिममा बिसुपर्वलाई मुख्य चाडको रूपमा मनाउने चलन रहेकाले घरपरिवारका लागि नयाँ लुगा कपडा लिएर घर फर्किरहेको बैतडीका कृष्ण बोहराले बताउनुभयो। 

बिसुपर्व (नयाँ वर्ष)का दिन तितेपातीले नुहाउने, नयाँ लुगा फेर्ने, देवर–भाउजूबीच सिस्नो लगाउने, स्थानीय वटुक, माणा र सेलरोटी खाने चलन रहेको उहाँले बताउनुभयो। 

घर फर्किनेहरूमा कोरोना सङ्क्रमण 

झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरूमा कोरोना सङ्क्रमण देखिन थालेपछि नाकामै स्वास्थ्य चेकजाँच थालिएको छ। यही बिहीबार मात्रै झुलाघाट नाकाबाट स्वदेश फर्किंदै गरेका चार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले जानकारी दिनुभयो।

बिसुका लागि घर फर्किनेको भीड लागेपछि झुलाघाट नाकामै हेल्थ डेस्क स्थापना गरेर नियमित रूपमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो। कोरोना परीक्षण गरेर मात्रै स्वदेश आउन दिने गरेको उहाँले बताउनुभयो। 

घर फर्किनेहरूमा कोरोना सङ्क्रमण देखिन थालेपछि समुदायस्तरमा कोरोना फैलिन नदिन स्थानीय तहसँग समन्वय भइरहेको छ। बैतडी जिल्लामा शुक्रबारसम्म सक्रीय कोरोना सङ्क्रमितको सङ्ख्या सात पुगेको छ।