धनगढी समाचारदाता
धनगढी, चैत २६ गते । थारू समुदायमा जगन्नथिया, भेँरुवा, पीठगुन्नी, बथवा, सपलेहरी, जखवा–जखिनियाँ, मदुवालगायत फरक–फरक कुलघरानले मान्ने कुलदेवता हुन्। यी छुट्टाछुट्टै स्थानमा हुन्छन्।
फरक कुलका विभिन्न देवीदेवतालाई अब कैलालीमा भने एकै थलोमा देख्न पाइने भएको छ। कैलारी गाउँपालिका–७, रामपुरमा देउथानको स्थापना गरेर एउटै ठाउँमा सबै कुलदेवता राखिएको हो।
कुलदेवताको संरक्षणका लागि थारू गुरुवा बैदवा समाज जिल्ला कार्यसमितिले देउथान स्थापना गरेको छ। विभिन्न कुल घरानले मान्दै आएका कुलदेवता त्यहाँ राखिएका छन्।
“गुरुवा, बैदवा र देवीदेवता मान्ने चलन घट्दै गएको छ,” समाजका जिल्ला अध्यक्ष रामप्रसाद चौधरीले भन्नुभयो, “यी सबैको जगेर्ना गर्नका लागि देउथान स्थापना गरिएको हो।” उहाँले पछिल्लो समय समुदायबाट गुरुवा, बैदवा घट्दै गएकोप्रति चिन्तासमेत व्यक्त गर्नुभयो।
“थारू समुदायमा भोजभतेरदेखि विभिन्न कार्य वा पूजाका लागि गुरुवा, बैदवा आवश्यक पर्ने गर्दछन् तर गुरुवा, बैदवाको सङ्ख्या घट्दै गएको छ,” अध्यक्ष चौधरीले भन्नुभयो, “यसमा हामी सबैले विशेष ध्यान दिन आवश्यक छ।”
प्रकृतिपूजक मानिने थारू समुदायमा धेरैजसो पूजा गर्न गुरुवा, बैदवा नभई हुँदैन। त्यसकारण हरेक गाउँमा भलमन्सासँगै गुरुवा पनि राख्ने चलन छ। नाचगान गर्नसमेत गुरुवाको आवश्यकता पर्ने गरेको छ।
रामपुरमा स्थापना भएको देउथानमा हरेक वर्ष पूजा गरिने जनाइएको छ। कैलारी गाउँपालिका–७ का वडाध्यक्ष दीपेन्द्र बमले धर्म, संस्कृति कुनै पनि समुदायको पहिचान रहेकाले यसको संरक्षण, संवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो। “धर्म, संस्कृतिको संरक्षण हामी सबैको दायित्व हो,” उहाँले भन्नुभयो।