• १० मंसिर २०८१, सोमबार

मिडिया कानुन परिमार्जन गरेर अघि बढ्नुपर्छ : सञ्चारमन्त्री शर्मा

blog

नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको २३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर : कविन अधिकारी

काठमाडौं, चैत २५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकबारे सञ्चारमाध्यममा प्रकाशन भएका समाचारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री शर्माले समाचारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।


मन्त्री शर्माले मन्त्रालयमा छलफल नै नभएका विषयवस्तुका बारेमा पछिल्लो समय सञ्चारमाध्यममा ठूलाठूला अक्षरमा समाचार छापिएको भन्दै असन्तोष व्यक्त गर्नुभयो । उहाँले मन्त्रालयमा छलफल नै नभएको विषयवस्तुलाई लिएर समाचार प्रकाशन एवम् प्रसारण हुँदा नीति निर्माण गर्नेलाई कानुन नै बनाउन नहुने हो कि भन्ने स्थिति आएको उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘ठूलाठूला मिडियामा जुन ढङ्गले समाचार बाहिर आइरहेका छन्, वास्तवमा मन्त्रालयमा जे कुरामा छलफल नै भएको छैन, त्यो कुरा मिडियामा बाहिर ठूलाठूला अक्षरमा समाचार आइरहेका छन् । त्यसले कानुन बनाउनेहरू नै कानुन बनाउनै हुँदैन भन्या जस्तो, कानुन बनायो भने यो हुन्छ, यो सर्त गाँसिएको छ । यो कानुन बनाउनको लागि भनेर कन्टेनमा सुझाव होइन कि प्रक्रिया सुरु नगर्दा नै बाहिर जुन ढङ्गले एउटा चर्चा भएको छ, यसले कतै कानुन बनाउने कुरामा नै अड्किने हो कि, कानुन नबनाऊ भन्न खोजिएको हो कि भन्ने अर्थ पनि लाग्ने गरेर बाहिर कुराहरू आइरहेका छन् । कानुन बनाउँदै गर्दा राष्ट्रिय हित सर्वोपरि हुनुपर्छ । त्यसलाई राष्ट्रिय हितमा राखेर कानुन बनाउने हो, प्रक्रिया हामीलाई थाहा छ ।’’


सञ्चारमन्त्री शर्माले प्रक्रिया सुरु नगर्दा नै सञ्चारमाध्यमहरूले कल्पना गरेर समाचार प्रकाशन गरेको आरोप लगाउनुभयो । मन्त्री शर्माले कानुन बनाउँदा सरकारले राष्ट्रिय हीत सर्वोपरि राखेर नै निर्माण गर्ने र कानुन निर्माणको प्रक्रिया आफूलाई स्पष्ट रूपमा जानकारी रहेको पनि बताउनुभयो । उहाँले अनलाइन मिडियालाई नियमन गर्नसक्ने कानुन सरकारसँग नरहेको भन्दै आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन बनाउँदा सबै कुरा समेटेर निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

‘‘हामी सबैले आफ्नो ठाउँमा बसेर स्वनियम, स्वआचारसंहिता पालना गर्नुपर्छ । अनलाइन मिडियाका विषयमा पनि कुरा उठेका छन्, अनलाइन मिडियालाई नियमन गर्नसक्ने कानुन हामीसँग छैन । हामीले आमसञ्चार ऐन बनाउँदै छौँ, मन्त्रालयमा तयारीको चरणमा छ । मिडिया काउन्सिल बन्दैछ, विभिन्न कानुन बन्ने विषयमा यी विषयहरू हामीले समेट्ने छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘अनलाइन मिडियाहरू पनि हिजोको प्रिन्टेड मिडियालाई आधार बनाएर बनाइएका कानुनले अहिलेको मिडियाको क्षेत्रमा भएको विकासलाई कभर गर्न सक्दैन । त्यसलाई समेट्ने गरेर कानुन बनाउन जरुरी छ । कानुन बनाउने कुरामा हामी लागि नै रहेका छौँ । मन्त्रालयमा अहिले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन छलफलको चरणमा छ ।’’


मन्त्री शर्माले सञ्चारमाध्यमले कल्पना गरेर बाहिर समाचार प्रकाशन एवम् प्रसारण गरेको बताउनुभयो । उहाँले पछिल्लो समय समाजका हरेक क्षेत्र सकारात्मक भन्दा बढी नकारात्मक हुँदै गएको बताउनुभयो । उहाँले सञ्चारमाध्यमहरूले सकारात्मक कुराहरूलाई बाहिर नल्याएको आरोपसमेत लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रतिनिधि सभामा गइसकेको प्रसारण ऐन छ । त्यस विषयमा पनि हामी व्यापक छलफल गरेर के सुधार गर्न सकिन्छ ? सुधार गरेर अघि बढ्ने प्रक्रियामा छौँ । मैले के आग्रह गर्छु भने मन्त्रालयमा हरेक विषयका धेरै पुराना कानुन छन्, कुनै पनि कानुनहरू समयसापेक्ष छैनन् । दशकौँ अघिका ऐनबाट काम गर्नुपर्दा कानुनले काम गर्न सकिरहेका छैनन्, अब कानुन परिमार्जन गरी अघि बढ्नुपर्नेछ ।’’

काठमाडौं शाखाले उक्त अवसरमा एक लाख एक हजार १११ रुपियाँको आदर्श पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरेको छ ।