• ८ वैशाख २०८१, शनिबार

हलगोरु पाल्ने कृषकलाई दश हजार अनुदान

blog

गोरु पाल्ने कृषकलाई अनुदान प्रदान गरिदैं । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत २५ गते । व्यास नगरपालिकाको वडा नम्बर १ को कार्यालयले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरूप दश हजार अनुदान दिएको छ । जैविक कृषिलाई प्रोत्साहन गर्न र  हाते ट्याक्टर खरिद गर्न नसक्ने कृषकलाई जीविकोपार्जनलाई सहज बनाउन अनुदान दिइएको वडाध्यक्ष रमेशचन्द्र हड्खलेले जानकारी दिनुभयो । वडाले १२ जना कृषकलाई रकम प्रदान गरेको छ ।

अनुदान रकम एक कार्यक्रमबिच व्यास नगरपालिकाका  प्रमुख वैकुण्ठ न्यौपानेले रकम प्रदान गर्नुभयो । उक्त अवसरमा बोल्दै नगरप्रमुख न्यौपानेले पछिल्ला समयमा गोरु पाल्ने प्रचलन हराउँदै  जान थालेपछि प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको बताउनुभयो । अनुदान रकमले गोठ सुधार तथा गोरुका लागि आवश्यक पर्ने आहार बिहारमा खर्च गर्न समेत उहाँले कृषकलाई सुझाव दिनुभयो ।

 गोरुले जोत्ने परम्परा लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षण गर्न र कृषकलाई टिकाइ राख्न गोरु पाल्ने कृषकलाई प्रोत्साहन गरिएको वडा कार्यालयले जनाएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकका लागि अनुदान दिने कार्यक्रम ल्याएसँगै तथ्याङ्क सङ्कलन गरी अनुदान प्रदान गरेको वडा सचिव मञ्जु कँडेलले जानकारी दिनुभयो ।