• ५ जेठ २०८१, शनिबार

निःशुल्क उपचारपछि सेवाग्राही दङ्ग

blog

बोदेबरसाइन समाचारदाता

बोदेबरसाइन (सप्तरी), चैत २५ गते । स्वास्थ्य सेवामाथिको खस्किँदो भरोसाबीच सप्तरीको एक सरकारी अस्पतालको स्वास्थ्य सेवाबाट सेवाग्राही खुसी देखिएका छन् । बोदेबरसाइन नगरपालिकाले तीन वर्षअघि सञ्चालनमा ल्याएको शत्रुधन अस्पतालले दिँदै आएको स्वास्थ्य उपचार सेवाबाट स्थानीय सेवाग्राही खुसी भएका छन् । गजेन्द्रनारायण सिंह अस्पताल जिल्लाको पुरानो अस्पताल हो तर यहाँ आउने बिरामीमध्ये ९० प्रतिशत बिरामी उपचार पाएर पनि सन्तुष्ट छैनन् । यो अस्पताल पूर्ण रूपमा निःशुल्क पनि छैन ।

शत्रुधन अस्पतालले भने औषधिदेखि ल्याबसम्मका सम्पूर्ण सेवा निःशुल्क गर्दै आएको छ । पाँच शøयाको आकस्मिक कक्ष, ईसीजी, अल्ट्रासाउन्ड र डिजिटल ल्याबसहितको सुविधासम्पन्न यस अस्पतालमा बोदेबरसाइन नपा–५, भाटिनकी मकिना खातुन बिहीबार बिरामी परेर आकस्मिक कक्षमा भर्ना हुनुभयो ।

अस्पतालमा आफूले चार दिनसम्म उपचार गराउँदा उपचार र ल्याबमा एक पैसा पनि नलागेको बताउँदै उहाँले स्थानीय बासिन्दाका लागि यो अस्पताल वरदानजस्तै भएको बताउनुभयो । कोरोनाकालमा सङ्घीय सरकारको आठ लाख रुपियाँ ससर्त अनुदानबाट सञ्चालनमा ल्याइएको उक्त अस्पताल अहिले १५ शय्यामा बढोत्तरी भई तीन वर्षदेखि नगरपालिकाको आन्तरिक स्रोतबाट सञ्चालन गरिँदै आएको बोदेबरसाइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवले जानकारी दिनुभयो ।

बढ्दो व्यवसायीकरणले स्वास्थ्य क्षेत्रमा हुँदै गएको निजीकरणका कारण पछिल्लो समय सरकारी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाप्रति अनेक प्रश्न उब्जिँदै आएको छ । यसैबीच बोदेबरसाइन नगरपालिकाले सञ्चालनमा ल्याएको अस्पतालमा स्वास्थ्य उपचार पाएर यहाँका नागरिक सन्तुष्ट छन् ।

“यो अस्पताल एक मेडिकल अफिसर, दुईस्टाफ नर्स र एक अनमीका भरमा चलाइरहेका छौँ, अस्पतालमा सहज सेवा प्रवाहका लागि जनशक्ति र विशेषज्ञ सेवाको टड्कारो आवश्यकता रहेको देखिन्छ,” अस्पतालका मेडिकल अफिसर डा. अरविन्दकुमार यादवले भन्नुभयो, “आठ महिनाअघिसम्म दिनको पाँच/सात वटा मात्रै बिरामी आउँथे तर अहिले बिरामीको चाप बढ्दो छ । दिनकै ८० देखि सयजना बिरामीलाई उपचार गर्दै आएका छौँ,” बिरामी दर्तासमेतको पैसा नलाग्ने यो अस्पतालमा शल्यक्रिया र विशेषज्ञसहितको सम्पूर्ण प्रारम्भिक उपचार सहज र निःशुल्क रहेको जानकारी उहाँले दिनुभयो । कुल १४ कट्ठामा रहेको यो अस्पतालको भौतिक पूर्वाधारको दायरा बढाएर विशेषज्ञसहितको सेवा प्रदान गर्न सकियो भने यस भेगका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच हुने डा. यादवको भनाइ छ ।

नगरप्रमुख आतेशकुमार सिंहका अनुसार स्वास्थ्य मन्त्रालय र नगरपालिकाको सहकार्यमा २७ करोड रुपियाँको लागतमा अस्पताल भवन निर्माण भएको र विशेषज्ञ चिकित्सकसहितको थप सेवा विस्तार गर्ने नगरपालिकाको योजना छ । यद्यपि स्वास्थ्य सेवामा सरकारको लगानी खेर जान नदिन नागरिकस्तरमा सरकारी स्वास्थ्य सेवाप्रतिको विश्वास बढ्न आवश्यक रहेको उहाँको बुझाइ छ ।