• १३ मंसिर २०८१, बिहिबार

आँप उत्पादनमा कमी आउने

blog

बर्दिबास समाचारदाता

बर्दिबास, चैत २५ गते । फलको राजा मानिने आँपमा फूल लाग्ने बेलादेखि नै रोगको प्रकोप बढेकाले यो वर्ष उत्पादनमा ह्रास आउने भएको छ । मौसमी प्रतिकूलता र रोगका कारण आँपको फूल (मञ्जर) नै डढेकाले उत्पदनमा निकै कमी आउने जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । बोटमा फल नलागेपछि आँप कृषकले करोडौँ रुपियाँ बारबरको क्षति बेहोर्नुपर्ने भएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत मनीष पालका अनुसार महोत्तरीका तीन हजार एक सय हेक्टर क्षेत्रफलमा आँप बगैँचा छ । गत वर्ष यी बगैँचामा प्रतिहेक्टर १० मेट्रिक टनको दरले ३१ हजार मेट्रिक टन आँप उत्पादन भएको थियो । तत्कालीन मूल्यअनुसार उत्पादित आँपको एक अर्बभन्दा बढीको कारोबार भएको थियो । 

कृषकका अनुसार गत वर्ष प्रतिकेजी सरदर ४० रुपियाँको दरले आँप बिकेको थियो । अत्यधिक उत्पादन भएकाले महोत्तरीका आँपले भारत विहारको सीतामढी जिल्लासम्मको माग धानेको थियो । 

तर यस वर्ष भने रोग प्रकोपले उत्पादन घट्ने भएपछि आँप कृषकले सस्तो मूल्यमा बगैँचा बेच्न थालेका छन् । 

गौशाला–९, भरतपुरका मुन अधिकारीको सात बिघामा आँप बगैँचा छ । गत वर्ष राम्रो फल लागेकाले सात लाख आम्दानी भएको थियो । अहिले त्यही बगैँचाको फल केवल एक लाख ५० हजारमा बेच्नु परेको अधिकारीले जनाउनुभयो । 

गौशाला–१० का लालु साह हरेक वर्ष बोटमै आँप किनबेचको व्यापार गर्नुहुन्छ । यस पटक उहाँले १५ बिघा बगैँचाको आप किन्नुभएको छ तर फूल (मञ्जर) लागेअनुसार चिचिलो (टिकुला) नलागेपछि किनेका बगैँचा टाउको दुखाइ भएको छ ।

“मञ्जर (फूल) जोगाउन ५० हजारजतिको त औषधि छरेँ,” उहाँले भन्नुभयो, “बल्लबल्ल लागेको चिचिलो (टिकुला) पनि कीराले प्वाल पारेर झार्न थालेपछि निद्रा हराएको छ, फेरि ३० हजारको औषधि ल्याएको छु । दुईचार पैसा कमाइ होला भनेको औषधि छर्दैमा सकिने भयो ।”

यो समस्या जिल्लाभरिका आँप कृषक र व्यापारीको हो । उहाँहरूका अनुसार सुरुमा बोटै ढाक्ने गरी फूल (मञ्जर) लागेपछि उत्पादन बढ्ने अपेक्षा जगाएको थियो तर चैत लागेपछि सुरुमा मधुवा (हुपर) रोग लागेर फूल नै झारेपछि अधिकांश बोट रित्तिएका छन् । थोरै लागेको चिचिला (टिकुला)मा पनि कीराले प्वाल पारेर झार्न थालेपछि चिन्ता थपिएको हो । 

रोग प्रकोपबाट आँप उत्पादनमा पर्ने क्षतिबारे सूचना सङ्कलनको काम भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

केन्द्रका बाली विकास अधिकृत मनीष पालले सुरुमा ‘क्लोरोपाइरिफस’ (मधुवा) र अहिले ‘बोरर’ले प्वाल पारेका चिचिलो लिएर दैनिक पाँच/सात जना आँप किसान कार्यालय आउने गरेको बताउनुभयो । 

“हामीले त्यस्ता किसानलाई प्राविधिक सल्लाह सुझाव दिएर पठाउने गरेका छौँ,” पालले भन्नुभयो । जिल्लामा गत भदौदेखि चैत दोस्रो सातासम्म पानी नपरेका कारण पनि फलफूल खेतीमा रोग सङ्क्रमण बढेको कृषकको बुझाइ छ ।

कृषि प्रविधिज्ञका अनुसार भने बगैँचामा प्रदूषण बढेपछि मधुवा रोगको प्रकोप देखा पर्छ । घना वृक्षरोपण, सिँचाइ अभाव, सरसफाइ र हेरचाहजस्ता कमीका कारण फैलने मधुवाले रस चुसेर फूल नै सुकाइदिने भएकाले आँपमा फल लाग्न पाउँदैन । 

“मधुवा रोगले फूल मात्र खाँदैन, पात नै कालो पारेपछि प्रकाश संश्लेषण हुन नपाउँदा रुख नै मर्ने सम्भावना हुन्छ,” पालले भन्नुभयो ।