• १२ असार २०८१, बुधबार

स्वास्थ्यमा कृत्रिम फोक्सो

blog

काठमाडौँ, चैत २५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (यूएसएआईडी)को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले वायु प्रदूषणको अवस्था तथा हावाको स्वच्छता परीक्षण गर्नका लागि कृत्रिम फोक्सो जडान गरिएको जानकारी दिनुभयो । उहाँले वायु प्रदूषणको अवस्था हेर्न तथा यसले हामीलाई कस्तो असर गरिरहेको छ भन्ने देखाउनका लागि यस्तो फोक्सो जडान गरिएको बताउनुभयो । 

उहाँले कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र रहेको जानकारी दिँदै यसले मानिसको फोक्सोको सास फेर्ने गतिलाई प्रतिविम्बित गर्ने बताउनुभयो । एक महिनामा कृत्रिम फोक्सोको रङ वायु प्रदूषणको प्रभावले परिवर्तन हुँदै जानेछ । यसबाट कसरी वायु प्रदूषणले मानव फोक्सोलाई हानि गरिरहेको छ भन्ने देखाउन सहयोग पुग्ने उहाँको भनाइ छ । उहाँले उक्त कृत्रिम फोक्सोसँगै काठमाडौँको स्वस्थ हावाको मापदण्ड नियमित देखाइने बताउनुभयो । 

धेरै देशले वायु प्रदूषणको सामना गरिरहेको सन्दर्भमा आईक्यू एयरले सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तरसम्बन्धी तथ्याङ्कले विश्वका १३१ देशमध्ये नेपाल वायु प्रदूषण हुने देशमध्ये १६औँ स्थानमा रहेको छ । सन् २०१९ मा वायु प्रदूषणका कारण नेपालमा ४२ हजार एक सय जनाको मृत्यु भएको थियो । त्यसमध्ये काठमाडौँमा मात्रै पाँच हजार ८० जनाको मृत्यु भएको बताइएको छ । दीर्घकालीन फोक्सोको रोग बढी हुने देशमा नेपाल पनि पर्छ । सो हुनुको कारणमध्ये ६६ प्रतिशत वायु प्रदूषण मानिएको छ ।