• १३ मंसिर २०८१, बिहिबार

दुर्घटना न्यूनीकरण अभियानमा बाँकेको ट्राफिक प्रहरी सक्रिय

blog

दुर्घटना रोक्न सडक सुधार अभियानमा जेब्रा क्रसिङको रङ्गरोगन गरिँदै । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, चैत २४ गते । 
 बाँकेको कोहलपुर र नेपालगञ्ज लगायतका राजमार्ग तथा मुख्य सडकमा दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सडक सुधार अभियान सुरु गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक तिलकबहादुर सुनारले सो अभियानअन्तर्गत ट्राफिक कार्यालयले विभिन्न ठाउँका सडक क्षेत्रमा रहेका जेब्रा क्रसिङको रङ्गरोगनसँगै अन्य सुरक्षा चिह्न लेख्ने कार्य गरिरहेको बताउनुभयो ।

उहाँले बढ्दो सवारी साधनको चाप र मानवीय लापरबाहीका कारण दुर्घटना रोक्न निकै ठूलो चुनौती देखिएको जनाउनुहुँदै रोक्नका लागि पहिलो चरणमा ट्राफिक सुरक्षाका लागि सुरक्षा चिह्न निर्माण तथा रङ्गरोहन सुरु गरिएको बताउनुभयो ।

बाँके जिल्लालाई सवारी दुर्घटनामुक्त बनाउने अभियानअन्तर्गत विभिन्न सङ्घ–संस्था तथा विद्यालयसँग मिलेर काम सुरु गरिएको प्रमुख सुनारको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘दुर्घटना न्यूनीकरणका लागि अभियान थालिएको छ । यो अभियानमा सहयोगीहरू जोडिरहनु भएको छ । सबैको साथको आशासमेत गरेका छौँ ।’’

सङ्घ संस्थाहरूसँग मिलेर प्रहरीले कोहलपुर क्षेत्रमा रहेका विभिन्न सडकहरूमा जेब्रा क्रसिङ तथा सुरक्षा चिह्नहरू रङ्गरोहन गरिरहेको र त्यसपछि नेपालगञ्जमा पनि गरिने जनाएको छ ।

भोलिन्टियर सोसाइटी अफ बाँकेको आयोजनामा कोहलपुर क्षेत्रमा पुरिएका जेब्रा क्रसिङमा सेतो रङ्ग लगाउने काम सम्पन्न भएको ट्राफिक कार्यालय बाँकेका प्रमुख सुनारले बताउनुभयो ।

सोसाइटी र ट्राफिक प्रहरी मिलेर आगामी दिनमा पनि यस्ता ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण सम्बन्धी काम गरिने उहाँको भनाइ छ । भोलिन्टियर सोसाइटी अफ बाँकेका अध्यक्ष दीपककुमार शाहीका अनुसार संस्थाले भोलिन्टिएर रूपमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ । जेब्रा क्रसिङ रङ्गरोहन कार्यका लागि पनि सहयोग गरिएको उहाँको भनाइ छ ।

नेपालगञ्ज र कोहलपुर क्षेत्रका धेरै ठाउँका सडकमा सुरक्षा चिह्नहरुनै नबनाइएको र बनाएका पनि समय समयमा रङ्गरोगन नगर्दा मेटिएकोले दुर्घटना वृद्धिको कारण बनिरहेका छन् ।

ट्राफिक नियमहरूको पालना नगर्दा नै बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।