• १३ असोज २०८१, आइतबार

बच्चाको जन्मदर्तामा मावलीको थर राख्ने परिपत्र फिर्ता गर्न सांसदको माग

blog

नेकपा (एमाले) की सांसद विद्या भट्टराई

काठमाडौं, चैत २४ गते। नेकपा (एमाले) की सांसद विद्या भट्टराईले सरकारले संविधान र कानुन विपरीत मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै आपत्ति जनाउनु भएको छ। 

शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले संविधान र कानुनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई नै अस्वीकार गर्ने गरी सबै वडामा सरकारले गरेको सो परिपत्र फिर्ता लिएर संविधान सम्मत ढङ्गले अर्को परिपत्र गर्न पनि सरकारलाई सचेत गराउनुभयो। 

उहाँले संविधान र कानुनको ख्याल गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद भट्टराईले भन्नुभयो, ‘‘नेपाल सरकारले एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता सम्बन्धमा सबै वडामा परिपत्र गरेको छ। संवैधानिक र कानुन व्यवस्थाको ख्याल नगरी जारी गरिएको सो परिपत्रमा मावलीको थर राख्ने भन्ने लेखिएको छ। परिपत्रले संविधान र कानुनले साबित गरेको आमाका पहिचान र अस्तित्वलाई अस्वीकार गरेको छ। संविधान र देवानीसंहिता अनुसार पुन परिपत्र गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’’

सांसद भट्टराईले संविधानले पितृत्वको ठेगान नभएका बच्चाको जन्मदर्ता उनीको आमाको नामबाटै गर्ने व्यवस्था गरेकाले त्यसै अनुसारको आवश्यक व्यवस्था सरकारले मिलाउनुपर्ने पनि बताउनुभयो।