• १३ असोज २०८१, आइतबार

देशमा भ्रष्टाचार संस्थागत भयो : सांसद

blog

काठमाडौं, चैत २३ गते । प्रतिनिधि सभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्नुहुँदै सदस्य ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताउनुभएको हो ।

उहाँले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको औंल्याउनुभयो । गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै उहाँले यो सबैको कारण बेथिति भएको बताउनुभयो ।

‘‘विदेशबाट शव ल्याउँदा शवको बाक्सा फोरिएको छ, एयरपोर्टमा । केही सामान छ कि भनेर लुट्नलाई । ब्यागहरु फुटेको त जानकारी थियो । समाज कहाँ जादैछ ? समाज के बन्दैछ ? कारण के हो ? कारण भ्रष्टाचार यसरी संस्थागत भएछकि यसरी जरोसम्म पुगेछ कि शव बोकेको बाक्सा पनि एयरपोर्टमा फुट्छ ।,’’ सांसद ढकालले भन्नुभयो, ‘‘अचम्मको छ एयरपोर्ट यताबाट लागूऔषध स्क्रिनमा देख्दैन । लागूऔषध कतारमा पुग्छ । संस्थागत यति भएछ भ्रष्टाचार गरिब चेपाङ कुपोषित बच्चाको दिवा खाजा लुट्छ । दिवा खाजामा भ्रष्टाचार छ ।’’

प्रतिनिधि सभाका अर्का सदस्य प्रेम सुवालले सिक्टा सिचाइँ आयोजनामा भ्रष्टाचार भएको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा दोषीलाई सफाइ दिने न्यायाधीशहरुलाई कारबाही गर्नुपर्ने बताउनुभयो । त्यस्तै, उहाँले भरतपुरको बिपी कोइराला क्यान्सर अस्पतालमा उपचारका लागि आवश्यक मेशिन खरिदका लागि छुट्याइएको रकमबाट कर्मचारीलाई तलब खुवाइएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गर्नुभयो ।

‘‘भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक र उपनिर्देशकले क्यान्सर उपचारका लागि मेसिन खरिदका लागि प्राप्त सरकारी बजेट १५ करोड ४५ लाख र स्तन क्यान्सर पत्ता लगाउने मेमोग्राफी मेसिन खरिदको लागि प्राप्त सरकारी बजेट ३ करोड कर्मचारी तलवमा खर्च गरेको र बिरामीलाई निजी अस्पतालमा पठाएको समाचार छ । अस्पताल नेपाली काँग्रेसको भन्ने सुनिएको ।,’’ सदस्य सुवालले भन्नुभयो, ‘‘सत्ता पक्ष पनि हो ध्यान जानुप¥यो । सिक्टा सिचाइ आयोजनाको नहर परीक्षणमै भत्किनुमा निर्माण अघि माटो परीक्षणमा त्रुटि भएको, फिजिबिलिटी अध्ययन नभएको, विज्ञ परामर्श विचार नलिइएको । निर्माणस्थलको विस्तृत अध्ययन नभएको यथार्थलाई बेवास्ता गरि ८ अर्बभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको माग, दाबी विरुद्ध फैसला दिने, दोषीलाई सफाइ दिने विशेष अदालतका न्यायाधीशहरुलाई कारबाही गर्नुपर्छ कि पर्दैन ? भनेर जनताले आवाज उठाइरहेका छन् ।’’

सदस्य ज्ञानबहादुर शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै सङ्घीयताको विरोध गर्नुभयो । उहाँले सङ्घीयता कार्यकर्ता भर्ति गर्ने ठाउँ भएको बताउनुयभो । कही पनि नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भएको उहाँको भनाइ छ ।

‘‘विदेशबाट ऋण ल्याएको ल्याएकै गर्ने । यहाँ युवाहरु हरेक दिन बेरोजगारी बढेको बढेकै छ । त्यो पैसा कहाँ गयो ? यो पैसाको एक एक हिसाब किताब अहिलेका प्रधानमन्त्रीहरुले र आजसम्म भएका प्रधानमन्त्रीहरुले जवाफ दिनुपर्छ । विदेशीसँग ऋण मागेर यो देशमा त्यो पैसा कहाँ गयो ? पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रुपियाँ गयो ।,’’ उहाँले भन्नुभयो, ‘‘यदी एक अर्ब बराबर तीन सय जना कर्मचारी राख्न सकिन्छ भने जम्मा चार लाख ८९ हजार छ सय जनाले रोजगारी सिर्जना गर्न सकिन्छ । म आग्रह गर्न चाहन्छु प्रदेश एउटा पहिचानका लागि चाहिन्छ । एउटा देश ठूलो भयो भने देशलाई केन्द्रिकरण गर्न चाहिन्छ । तर आज देशमा सङ्घीयता कार्यकर्ता भर्ती गर्ने । कही नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृति भयो । यसरी देश विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’’

प्रतिनिधि सभा सदस्य शाहीले विदेशबाट ऋण ल्याएको ल्याएकै गरेपनि हरेक दिन बेरोजगारी समस्या बढेको भन्दै यसको जवाफ हालसम्मका प्रधानमन्त्रीहरुले दिनुपर्ने बताउनुभयो ।