अमरराज नहर्की
तनहुँ, चैत २३ गते । तनहुँको व्यास नगरपालिका–१०, डिहीगाउँको कुसुन्डा परिवारकी इन्द्रमायालाई सरकारी जागिर खाने ठूलो इच्छा छ। पढ्न लेख्न नआए पनि आफ्नो क्षमताअनुसारको सरकारी जागिरका लागि उहाँले चिनजानका जनप्रतिनिधिसँग पटक–पटक हारगुहार गरिरहनुभएको छ। आफू र छोरीसहितको दुई जनाको परिवार चलाउन उहाँलाई आर्थिक अभाव पनि हुने गरेको छ।
पाँच वर्षअघि श्रीमान् गुमाएकी इन्द्रमायालाई सरकारी जागिर खान पाए परिवार चलाउन सहज हुन्थ्यो भन्ने लागेको छ। तनहुँ जिल्लामै लोपोन्मुख कुसुन्डा जातिको व्यास नगरपालिका–१०, डिहीगाउँमा इन्द्रमाया कुसुन्डाको परिवार मात्रै छ। यहाँको एक मात्र कुसुन्डा परिवारकी इन्द्रमाया सरकारी जागिरको आसमा बसिरहनुभएको छ। आम्दानी नहुँदा उहाँलाई जीवन धान्नसमेत कठिन भएको छ। इन्द्रमायाले भन्नुभयो, “पछाडि परेका वर्ग, जातिलाई सरकारले केही न केही हेर्नु प¥यो। नयाँ वर्षमा मेरो जीवनमा पनि नयाँ परिवर्तन आउला भन्ने आशा गरेको छु।”
व्यास नगरपालिकाका जनप्रतिनिधिलाई भेट गरी उहाँले जग्गा थोरै भएकाले खेती गर्न नपाएको बताउनुभएको छ। जागिर नहुँदा आफ्नो परिवारलाई छाक टार्न धौ–धौ भएको दुखेसो पनि उहाँले जनप्रतिनिधिसँग पोख्नुभयो। जागिर भए बिरामी हुँदा औषधि गर्न, साँझबिहान हातमुख जोड्न सहज हुने इन्द्रमायाको भनाइ छ। छोरी बिरामी भइरहने भएकाले उपचार गर्न कठिन भएको इन्द्रमायाले बताउनुभयो। जीवन सहज रूपमा यापन गर्नका लागि सरकारी जागिर खान इच्छुक रहेको इन्द्रमायाले गोरखापत्रसँग बताउनुभयो। इन्द्रमायाले श्रीमान् राजामामाको २०७५ वैशाख ५ गते निधन भएपछि जीवनयापन कठिन भएको जानकारी दिनुभयो। राजमामा हुँदा उहाँले ज्यालादारी गरेर पैसा ल्याउने, भेट्न मान्छेहरू आइरहने र सहयोग पनि प्राप्त भइरहने हुँदा सहज भएकोमा हाल आम्दानी नभएकाले समस्या परेको इन्द्रमाया बताउनुहुन्छ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका निवर्तमान अध्यक्ष वसुन्धरा घर्तीले इन्द्रमायालाई सरकारी जागिर दिइनुपर्ने बताउनुभयो। लोपोन्मुख जातिको संरक्षणमा सहयोग पुग्ने भएकाले पनि उहाँलाई जागिर दिइनुपर्ने माग व्यास नगरपालिकामा धेरै पटक राखिएको उहाँले बताउनुभयो। राजामामाकी एक मात्र छोरी सीमान्त हुनुहुन्छ। उहाँ दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयमा ७ कक्षामा पढ्नुहुन्छ ।
जङ्ली जनावर सिकार गरेर र वनकै कन्दमूल खाएर जीवनयापन गर्ने भएकाले कुसुन्डा ‘जङ्गलका राजा’ उपनामले चिनिन्थे। विकासको गति, समयको परिवर्तन, सामाजिकीकरण, वन विनाश, जीवनयापन गर्न कठिनाइ गैरप्रजातीय विवाह प्रणालीलगायतका कारणले कुसुन्डाको भाषा र संस्कृति लोप हुँदै गएको जानकारी घर्तीले दिनुभयो। कुसुन्डा जाति आफ्नो मौलिकतालाई क्रमशः त्यागी समाजमा मिसिएका छन्। यो जातिमा मानव जातिकै प्रारम्भिक अवस्थाको प्रतिनिधित्व गर्ने संस्कार थियो। हाल यो हराएर गएको छ। यो नेपालको घुमन्ते जातिमध्येको एक हो।
कुसुन्डा खेती गर्दैनथे, जङ्गलमै रमाउँथे। वनमा आफ्नो अधिकार भएको ठान्ने गर्थे। इन्द्रमाया र छोरी सीमान्तले लोपोन्मुख जातिका रूपमा मासिक दुई हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता पाउनुहुन्छ। त्यसले आफ्नो आवश्यकता पूरा नहुने इन्द्रमायाको गुनासो छ। कुसुन्डा लोपोन्मुख जातिमा पर्छ।
इन्द्रमायाको परिवारलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरिद गरी तीनकोठे घर निर्माण गरिदिएको छ। कसुन्डा जातिको संरक्षणका लागि प्रतिष्ठानले नै २०६१ साल पुस ७ गते राजामामाको विवाह इन्द्रमाया तामाङसँग गराइदिएको थियो। कुसुन्डा स्याउलाको एकपाखे छाना भएका अस्थायी टहरा बनाउँदै फिरन्ते रूपमा जङ्गलका विभिन्न ठाउँमा बसोबास गर्थे। जङ्गली रूखबिरुवाका ठूल्ठूला पात गाँसेर ओछ्याउने र ओढ्ने गर्थे। धनुषवाणले कालिज, गोहोरो, वनकुखुरा, मृग, स्याललगायतको सिकार गर्थे। वनतरुल, निगुरो, गिट्ठा, भ्याकुर, सिप्लिकानजस्ता जङ्लमा पाइने कन्दमूल तथा तरकारी खाएर जीवनयापन गर्थे। जङ्गलमै बच्चा जन्माउने, स्वास्थ्य सुरक्षा नहुँदा बच्चाहरू मर्नेजस्ता कारणले कुसुन्डा लोप हुँदै गएकाले तनहुँका कुसुन्डा परिवारलाई सामाजिक जीवनमा ल्याइएको थियो।
निवास सुनसान
सधैँ भीडभाड हुने तनहुँको व्यास नगरपालिका–१०, डिहीगाउँको कुसुन्डा निवास अहिले सुनसान छ। जङ्गलका राजा भनेर चिनिने कुसुन्डा राजामामाको निधन भएपछि यहाँ सुनसान भएको हो। उहाँकी श्रीमती इन्द्रमाया कुसुन्डा र छोरी सीमान्त कुसुन्डाले अहिले आफन्तको अभाव अनुभव गर्नुभएको छ। राजामामा हुँदा घरमा ठूलो सङ्ख्यामा भेट्नेहरू आउने गर्थे। अहिले कसैले वास्ता नगरेको राजामामाकी धर्मपत्नी इन्द्रमायाको दुखेसो छ। उहाँले भन्नुभयो, “कुसुन्डा जातिबारे बुझ्न, दुःखसुखमा साथ दिन नजिकबाट मात्रै हैन; टाढा–टाढाबाट समेत आउँथे। अहिले कसैले नसम्झिँदा सुनसान भएको छ।”