केही दिन मात्र बितेका थिए, उसले आफ्नी श्रीमतीलाई घरमा भिœयाएको । केही दिन भनेको केही दिन नै फेरि । दुवै हातका औँलामा गन्न सकिने दिनहरू । हो, एक सप्ताह मात्र भएको थियो, उसको बिहे भएको । नयाँ नयाँ बिहे, नयाँ नयाँ दुलही । सबैको आँखा उसकी दुल्हीमाथि नै थियो । सासूससुरा, नन्द, यहाँसम्म कि छरछिमेकका युवकहरूको पनि । बिहेमा आएका पाहुनाहरू अझै आफ्नो घर फर्किसकेका थिएनन्, त्यहीँ घरजम गरेर बसेका थिए । यसो त उसको घर त्यति ठूलो चाहिँ थिएन तर सानो भए पनि आफ्ना मालिकहरूलाई आश्रय दिइरहेको थियो । हो, यो बेग्लै कुरा हो, कुनै कुनै बेला, एकाधभन्दा बढी पाहुनाहरूको आइपर्दा अतिरिक्त व्यवस्था गर्नमा अलिक कमजोर साबित भइरहेको थियो । घरमा जम्मा चारवटा कोठा थिए, एउटा कोठामा ऊ बस्थ्यो, एउटा कोठामा उसका आमाबुवा, एउटा कोठामा उसकी दुई अविवाहित बहिनीहरू र एउटा कोठामा उसकी वृद्ध भइसकेकी हजुरआमा बस्ने गर्थिन् । यसरी उसको घर ऊ र उसको परिवारका लागि मात्र पर्याप्त थियो । आकस्मिक व्यवस्था गर्दा गाह्रो हुने गर्दथ्यो । यो कुनै अस्वाभाविक कुरो पनि होइन, कुनै पनि घरको व्यवस्था सधैँका लागि र सबैका लागि पूर्ण रूपमा व्यवस्थित हुँदैन । अतिरिक्त व्यवस्था गर्नै पर्छ । हो, बैठक कोठा थियो, जसलाई अङ्ग्रेजी भाषा र आधुनिकताको प्रभावले डाइनिङ हल भन्ने गरिन्थ्यो । त्यसमा चिया नास्ता गर्ने, खाना खाने र टेलिभिजन हेर्न गरिन्थ्यो । यसो छरछिमेकका व्यक्तिहरू वा बाहिरबाट केही आएकाहरूलाई बसाउने गरिन्थ्यो, कुराकानी गर्ने गरिन्थ्यो । यति मात्र होइन, त्यो बैठक कोठा पाहुनाहरूको सङ्ख्या बढी दिँदा रातिमा सुत्ने कोठामा समेत रूपान्तरित हुने गर्दथ्यो ।
यसरी साँच्चै भन्नुपर्दा पाहुनाहरूका लागि एक मात्र कोठा, बैठक कोठा थियो, जो अहिले उसको बिहेका लागि भनेर आएका पाहुनाहरूको भार उठाउनमा कुनै पनि किसिमले सक्षम भइरहेको थिएन । तर उसकी आमा निकै कुशलपरायण गृहिणी थिइन् । अभावमा पनि सहज र सहज तरिकाले जीवन जिउने कला जानेकी थिइन् । कुशल व्यवहार परायण गृहिणी उसकी आमाले घरमा आएका पाहुनालाई बडो राम्रो ढङ्गले सुत्ने व्यस्था गरेकी थिइन् । त्यस व्यवस्थाअनुसार नै उसको बुवा आफ्नो एक बडो मिलने साथीकहाँ सुत्न जाने गर्दथे । उसकी आमाले यति बेला बडो व्यावहारिक भएको प्रमाण दिएकी थिइन् । अन्य कुनै बेला भएको भए, उनी यस्तो समझौता कदापि गर्ने थिइनन्, उनको सम्झौता गर्ने बानी पनि थियो । तर यो समय भनेको उनी एक आदर्श पत्नी, एक आदर्श भाउजू र एक आदर्श महिलाका रूपमा प्रस्तुत गर्ने समय थियो । उनी यतिखेर आफ्नी सासूले कुनै बेला भनेको कुरो सम्झिरहेकी थिइन्– ‘पूर्णता र सम्पन्नता भएको बेला त जो कोहीले पनि आफ्नो घर परिवारको हेरविचार राम्री गर्न सक्छ तर अभाव र कमी व्याप्त रहेको बेला आफ्नो घर परिवारको राम्रो व्यवस्था गर्ने बुहारी नै सबैको प्रिय हुने गर्छिन् । म यो घरमा आउँदा त अभावै अभावको साम्राज्य थियो । दुई छाक खान पनि धौ धौ हुन्थ्यो । तिमीले आफूलाई भाग्यमानी ठान्नुपर्छ बुहारी, अहिले यो घरमा कुनै चिजको कमी छैन, छेलोखेलो नभए पनि ।’ हो, उसकी आमा यति खेर बडो ज्ञानी र व्यवहार प्रवीण नारीका रूपमा प्रदर्शित भइरहेकी थिइन् । घरमा आएका पाहुनाहरूले उनको खुब प्रशंसा गरिरहेका थिए । उनले आफ्नो कोठामा नन्द, आमाजू र आफ्ना बहिनीहरूलाई राखेकी थिइन् । अर्थात् ससुराली र माइत पक्षलाई आफूसँगै राखेकी थिइन् । उनकी दुईटी छोरीहरूको कोठाले पनि केही दिनका लागि तथाकथित धर्मशालाको रूप अख्तयार गरेको थियो । आफ्नो कोठा कहिल्यै कोहीसँग साझा गर्न नरुचाउने ती दुई दिदीबहिनीहरूले भाउजू भिœयाउने खुसीमा त्यसो गर्न राजी भएकी थिए । उनीहरूको कोठामा आठ जना महिलालाई सुत्ने व्यवस्था गरिएको थियो, पलङ र तल भुइँमा हुने गरी । ‘पुरुष पाहुनाहरूलाई जहाँ र जसरी पनि सुताउँदा भइहाल्छ नि’ भन्ने भाव सन्निहित थियो उसका आमाबुवाको मनमा । पुरुष पाहुनाहरूलाई त्यही डाइनिङ हलमा सुताउने गरिन्थ्यो । किशोर वयका एकाध केटाहरू घरको छतमा गएर सुतिहाल्थे । यसरी उसको घरमा अव्यवस्थामा व्यवस्था व्यवस्थित देखिन्थ्यो । त्यही व्यवस्थाअन्तर्गत थियो उसको नयाँ नयाँ बिहेको सुहागरातको व्यवस्था नभएको व्यवस्था । नाम मात्रको थियो सुहागरात । रात मात्र थियो, त्यो रातले सुहागरातको रूप धारण गर्न सकेको थिएन । उसले आफ्नी श्रीमतीलाई मनभरि हेरेको पनि थिएन, कुराकानी गर्नु त धेरै टाढाको कुरा थियो ।
कुरो के थियो भने उसकी आमा अलिक पुरानो विचारकी थिइन् । भन्नु पर्दा पुरातनवादी । उनको विचारमा उनको छोरो त्यति खेर पत्नी सुख प्राप्त गर्ने लायक भइसकेको थिएन । त्यसका लागि उसले अझै केही दिन महिना कुर्नुपर्ने थियो । जब कि उसको बुवाको विचारमा छोरो पट्ठो जवान भइसकेको थियो, छोरा यौवन मादकताको खहरे खोलामा बगिरहेको थियो । छोरा बुहारीलाई यसरी एकअर्काबाट टाढा राख्न कुनै पनि हिसाबले जायज थिएन, एक किसिमले पापै थियो । तर उसको बुवाको अहिले केही पनि चलिराखेको थिएन । घरपरिवारलाई के कसरी चलाउने हो, त्यसको सारा जिम्मा उसकी आमाको काँधमा थियो । उसको बुवालाई बाहिरका कामहरूमा मात्र हस्तक्षेप गर्ने अधिकार दिइएको थियो । घरपरिवारको कुरामा उसको बुवाको केही चल्दैन थियो । कुनै बेला उसको बुवाले घर परिवारका कामधन्दामा झिनो हस्तक्षेप गर्दा, हस्तक्षेप त के भन्नौँ, अलिक सोधपुछ गर्दा पनि उसकी आमाको अनुहार रिसले रातो, पिरो हुन पुग्थ्यो । उनी यति मात्र बोल्थिन्– ‘मैले हजुरसँग कहिल्यै हजुरको कामकुरामा हस्तक्षेप गरेकी छु । सधैँ घर अबेर किन आउनु हुन्छ ? आएर पनि कोहीसँग किन केही नबोलेर सिधै आफ्नो कोठामा गइहाल्नुहुन्छ, दस चोटि बोलाउँदा एक चोटि बोल्न पनि गाह्रो मान्नुहुन्छ । मैले यसबारे कहिले कुनै गुनासो गरेकी छु ? अनि हजुर मैले जिम्मा लिएको कुरोमा, मैले गर्ने काम कारवाहीमा किन पटक पटक हस्तक्षेप गर्न खोज्नु हुन्छ ? हरेक व्यक्तिको आआफ्नो जिम्मेवारी हुने गर्दछ, उसले आफ्नो जिम्मेवारी पूरा ग¥यो कि गरेन, त्यो मात्र हेर्नुपर्छ, उसले आफ्नो जिम्मेवारी के कसरी पूरा ग¥यो, त्यसबारे धेरै चासो राख्नु हुँदैन ।’ त्यसपछि उसको बुवा केही बोल्दैन्थे, चुपचाप आफ्नो कुनै काम गर्न हिँडिहाल्थे । एक शब्दमा भन्ने हो भने उसको घर परिवारमा उसकी आमाको हैकम चल्थ्यो । उसको बुवा घरको आन्तरिक मामलामा अत्यावश्यक नपरेको खण्डमा सामान्यतः कुनै हस्तक्षेप गर्दैनथे ।
अहिले उसको बिहे उपरान्त घटेको घटनामा पनि यही तर्क लागू थियो । दुल्ही भित्रिएको सात दिन भइसकेको थियो तर ऊ आफ्नो कोठामा जान पाएको थिएन । उसकी दुल्ही एक्लै सुत्ने गर्दथी । नौ दिनमा उसको ससुरालीतर्फका मान्छेहरू आउनेवाला थिए– उसकी दुलहीलाई लैजानका लागि, त्यस्तै नियम थियो सायद । यसको पूर्वजानकारी दिइएको थियो । उसलाई पनि दशौँ दिन आफ्नो जागिरमा फर्किहाल्ने थियो । अहिलेका लागि यही योजना थियो । उसको बुवाले चाहेर पनि आफ्नी श्रीमतीको तेस्रो प्रेमिल आँखा खोल्न सकेका थिएनन्, उनी चाहेर पनि आफ्नो छोराबुहारीलाई एकअर्काको नजिक हुने वातावरण निर्माण गर्ने सकेका थिइनन् । तर उनको मनमा यो विचारले आँधी हुरीको रूप नै धारण गरिसकेको थियो । त्यसैले उनले सातौँ दिनको दिउँसो, उनकी श्रीमती कतै एक्लै भएको बेला, भने– ‘शान्ति, तिम्रो हाम्रो बेलाको समय होइन, यो आजको समय हो, भन्नुपर्दा उत्तरआधुनिक समय हो । आज समय बदलिइसकेको छ । हिजोआज यस्तो गरिँदैन । वस्तुतः हिजोआज त प्रीतिभोजकै राति छोराबुहारीलाई एकाकार हुन दिनुपर्छ । तिमी यस्तो किन गरिरहेकी छ्यौ । छोराबुहारीलाई एकअर्कासँग भेटघाट गर्न पनि दिइराखेकी छैनौ । एकअर्काको नजिक आउन पनि दिन खोजिरहेकी छैनौ । यस्तो नगर शान्ति, यस्तो नगर प्रिय, छोरा जागिरमा फर्किनु छ, बुहारी एकाध दिनपछि आफ्नो माइत फर्किन्छिन् । उनको माइतबाट भोलि वा पर्सि कोही न कोही आउनेवाला छ ।’ यो कुरो सुन्नासाथ उसकी आमा अर्थात् शान्तिले आफ्नो श्रीमान्तिर रिसले भरिएको आँखाले हेरिन्, बोल्नचाहिँ केही बोलिनन् । उसको बुवाले फेरि भने,’ होइन, मैले भनेको कुरोमा किन केही बोल्दिनौँ । आज बेलुकासम्म त बाँकी पाहुनाहरू पनि गइहाल्नेछन् । घरमा हामी मात्र हुनेछौँ । सोच प्रिय, विचार गर ।’ त्यसपछि उसकी आमा केही नबोलिकन आँगनतिर हिँडिन् । उसको बुवा पनि बाहिर निस्किहाले ।
आँगनमा उनकी आमाजू घर फर्किने तयारी गरिरहेकी थिइन् । ब्यागमा लुगा कपडा राखिरहेकी थिइन् । उनलाई हेर्नासाथ उनकी आमाजूले उनलाई आफूनिर बोलाइन् र भनिन्, ‘बुहारी, हामी आज रात्रिबसबाट घर फर्किदै छौँ । छोरोले बसको टिकट काटिसकेको छ । तिमीले राम्रो सेवा सत्कार गरेकी छ्यौ, म खुसी छु ।’
–हैन दिज्यू, किन आज नै ? केही दिन अरू बस्नु न । हजुरकै त घर हो नि !’ शान्तिले आग्रह गरिन् ।
–त्यो त हो नि बुहारी तर अब आफ्नो घर गृहस्थी पनि सम्हाल्नुपर्छ । टिकट पनि काटिसकेको छ । भैगो नि, पन्ध्र दिन भैगो आएको, भन्छन्– माइतमा धेरै दिन बस्नु हुँदैन ।’ शान्ति केही नबोलेर चुपचाप उभिरहिन् । उनको आमाजूको सानो स्वर सुनियो, ‘बुहारी, एउटा कुरा भन्न मन लागिरहेछ, भन्छ्यौ भने भन्छु, भनूँ ?’
–‘हुन्छ नि दिज्यू, भन्नु न ।’ शान्तिले भनिन् ।
–‘यो त तिमीले के गरेकी बुहारी । दुल्ही आएको सात दिन भइसक्यो, छोरा बुहारीलाई कोठा नै दिएकी छैनौ । के हो ?’ उनकी आमाज्यूले आफ्नो मनको कुरो भनिन् । जवाफमा शान्तिले केही बोलिनन्, बरू चुपचाप आफ्नी आमाज्यूका आँखामा प्रश्नले भरिएको आँखाले हेरिरहिन् ।
‘उनकी आमाजूले हाँस्दै भनिन्,’ थाहा छ मलाई, तिमी के भन्न खोजिरहेकी छ्यौ, यही होइन कि मैले पनि तिमीलाई तिमी दुलहीका रूपमा हाम्रो घरमा भित्रिँदा कैयौँ दिनसम्म आफ्नो भाइसँग भेट्न दिएकी थिइन । होइन ?’
शान्तिले अझै पनि केही बोलिनन्, चुपचाप हेरिरिहन् ।
‘बुहारी, त्यो हाम्रो जमाना थियो, यो हाम्रा छोराछोरीहरूको जमाना हो । यो एक आनाको जमाना होइन, यो सय हजारको जमाना हो । जमाना बदलिसकेको छ । जमानाअनुसार हिँड्नुपर्छ बुहारी, मेरो कुरो मान, आज राति छोरा बुहारीलाई एकअर्कासँग भेट्न, कुराकानी गर्न मौका देऊ, सुन्दैछ्यौ, कोठा देऊ भन्या ।’ शान्तिकी आमाजूले यति भनेर आफ्नो काममा लागिन् । उनको मनमा कुरा खेल्न थाल्यो– उनको श्रीमान् र उनकी आमाजूले भनेको मिलिरहेको थियो ।
त्यो राति, शान्तिको श्रीमान् र आमाजूले भनेको कुराको सुखद् र प्रेमिल परिणाम निस्कियो । शान्तिले आफ्ना नयाँ दुलही र दाम्पत्य जीवनमा प्रवेशमा गरेका छोरा, दुवैलाई एकाकार हुने वातावरण दिइन् । भनाइको अर्थ उनको छोरोले, जो पढेलेखेको, पुलिसमा जागिर खाइरहेको नौजवान थियो, बिहे भएको सातौँ दिनको राति आफ्नी श्रीमतीसँग प्रेमालाप तथा चिनजान गर्ने मौका पायो । भन्नुपर्दा सुहागरात मनाउन पायो ।
ऊ आफ्नो जागिरमा फक्र्यो । पुसको महिना, काठमाडौँको ठाउँ, चिसो दिन प्रतिदिन बढ्दै गइरहेको थियो । बिहानको तापक्रम त कहिल्यै तीन त कहिल्यै दुईमा झरिहाल्थ्यो । ऊ ट्राफिक प्रहरी थियो । धेरै दिन भा’को थिएन, उसको काठमाडौँमा सरुवा भएको । सरुवा भएको छ महिनामै उसको बिहे भएको थियो । लक्का जवानमाथि यौवनका मादकता छाएको थियो । त्यो बेला काठमाडौँका तीनकुने, जावलाखेल, बल्खु, माइतीघर आदि जस्ता चोकहरूमा पुरुष तथा महिला प्रहरी ट्राफिकका डमी राखिएको थियो । तिनीहरूबाट पनि ट्राफिक व्यवस्थाको काम लिने गरिन्थ्यो । उसको ड्युटी तीनकुनेमा थियो । ऊ बिहान बिहानै तीनकुनेमा तैनाथ भइहाल्थ्यो र आफ्नो ड्युटी पूरा गरेर दिउँसो कोठमा फर्कन्थ्यो । उसका सङ्गी साथीहरूमा उसको नयाँ नयाँ बिहेको कुरा प्रायः हुने गर्दथ्यो । ऊ केही दिनदेखि होमसिक्नेसबाट ग्रस्त थियो । घर र खासगरी श्रीमतीको यादले सताइरहन्थ्यो । स्वाभाविकै थियो । भर्खर भर्खरको बिहे, यौवनको नसा र श्रीमतीसँगको बिछोड, यी कुराहरू पर्याप्त थिए उसलाई सताउनका निम्ति । उसलाई यसरी टोलाएको देखेर उसका साथीहरूले उसको मजाक पनि उडाउँथे, ‘के हो, श्याम ? हिजोआज तिमी कुन सोचमा डुबिरहन्छौ, थाहा नै हुँदैन ? अस्ती त इन्स्पेक्टर सा’बले कति बेरसम्म बोलाउँदा पनि तिमीले सुनेनौ । उहाँ एक छिन तिमीनिरै उभिएर तिमीलाई हेरिराख्नुभयो र एक छिनपछि तिमीतिर हाँस्दै हेर्नुभयो र चुपचाप आफ्नो कोठामा गइहाल्नुभयो । हामीले सुनेका थियौँ, उनको मुखबाट निस्केको आवाज– ‘नयाँ नयाँ बिहे गरेर आएको छ, जवान छ, जवानी छ, श्रीमती छैनन्, टोलाएर हेरिरहन्छ– केही छैन, केही दिन हो– पछि सबै ठीक भइहाल्छ ।’
–‘हो !’ श्यामले भनेको थियो, ‘सरले त्यसो भनेर जानु भयो ।’
–‘अनि के त ? अब आफ्नो काममा ध्यान देऊ । यसो गर न यार, भाउजूलाई यहीँ बोलाएर ल्याऊ ।’ श्यामको एक साथीले भन्यो ।
–‘भन्नेबित्तिकै कहाँ आउँछिन् तिनी । आमाबुवाले आउनै दिनुहुन्न । त्यसमा पनि अहिले उनी आफ्नो माइतमा छिन् ।’ श्यामले भन्यो ।
–‘अनि के गर्छौ त, यसरी नै टोलाएर हेरिरहन्छौ, यसरी नै यौवनलाई खेर फालिरहन्छौ ?’ श्यामको एक अर्को साथीले भन्यो ।
–‘अब हेर्दै जाऔँ, के हुन्छ ? कसरी हुन्छ ?’ श्यामले यति भनेर आफ्नो हाकिमको कोठातिर लाग्यो ।
उसको त्यो साथी उहीसँग बस्थ्यो । उसको पनि बिहानकै ड्यटी थियो । उसको तीनकुनेमा ड्युटी थियो भने उसको साथीको कोटेश्वर चोकमा ड्युटी थियो । दुवै जना प्रायः साथै कोठाबाट एक समयमै निस्कन्थे । ऊ तीनकुने चोकमा आफ्नो ड्युटी गर्न थाल्थ्यो र उसको साथीचाहिँ कोटेश्वर चोकतिर हिँड्थ्यो । श्यामको साथीले श्यामको दैनिन्दनीमा केही परिवर्तन आएको देख्यो । श्याम बिहान पाँच बजे नै कोठाबाट निस्कन थाल्यो, जबकि उसको ड्युटी छ बजेदेखि थियो र उनीहरूको डेरा दस मिनेट पैदल यात्राको दूरीमा थियो । ‘यो लगभग एक घण्टाअगाडि किन जान्छ र यो एक घण्टा अगाडि कोठाबाट निस्केर तीनकुने चोकमा के गर्छ’ भन्ने प्रश्न श्यामको साथीमा मनमा उब्ज्यो र उसले आफ्नो यो प्रश्नको जवाफ पाउनका लागि श्यामको दैन्दिनीमा ध्यान दिन थाल्यो । वस्तुतः श्यामको साथीले श्यामलाई पछ्याउन थाल्यो ।
एक बिहानको दृश्य यस्तो देखियो ।
श्याम बिहानै बिहान तीनकुने चोकमा पुग्छ । त्यहाँ रहेको महिला ट्राफिक प्रहरीको डमीलाई एक ठाउँबाट उठाएर बीच बाटोमा राख्छ । त्यो महिला ट्राफिक प्रहरी डमीको जिउमा जमेर बसेको धुलो सफा गर्न थाल्छ । धूलो सफा गर्ने क्रममा उसको हातका औँलाहरू कहिले त्यो महिला ट्राफिक प्रहरी डमीको कपाल, कहिले आँखा, कहिले गाला, कहिले ओठ, कहिले पुष्ट छाती, कहिले कटिप्रदेश अर्थात् विभिन्न अङ्गहरूलाई सुम्सुमाउन थाल्छ । उसको धुलो साफ गर्ने तौरतरिका सामान्य देखिँदैन, त्यसमा यौवनको उन्माद भरिएको देखिन्छ । एक छिनपछि श्यामले त्यो महिला ट्राफिक प्रहरी डमीका अङ्ग प्रत्यङ्गहरूलाई सडकमा हिँडिराखेका बटुवाहरूका आँखा छलेर चुम्न थाल्छ । लगभग आधी घण्टाको यस मादकताले भरिएको क्रियाकलापबाट ऊ तृप्त भएझैँ देखिन्छ र त्यसपछि ऊ आफ्नो ड्युटी गर्न थाल्छ । भनाइको अर्थ के हो भने त्यसपछि ऊ सडकमा गुड्ने सवारीसाधनहरूलाई आवश्यक परेको बेला रोक्न र त्यसपछि छोड्न थाल्छ । श्यामको यो हर्कतबाट उसको साथी जिल्ल पर्छ तर केही केही बोल्दैन, चुपचाप कोटेश्वरतिर हिँड्छ ।
एक सप्ताह, यस्तै खालको दैन्दिनी हेरिसकेपछि, एक साँझ खाना खाइसकेपछि श्यामको साथीले श्यामलाई सोध्यो, ‘के छ यार, तिम्रो हाल खबर ?’ अचेल त बडो मस्ति गर्दैछौ नि !’
‘तिमीले भनेको कुरो मैले बुझिनँ नि साथी ।’ श्यामले भन्यो ।
–‘हैन, तिमी बिहानै बिहान, मतलब एक घण्टा अगाडि नै किन कोठाबाट निस्किहाल्छौ ?’
–‘ड्युटीमा जान्छ यार । छ बजेदेखि ड्युटी हो नि त !’ श्यामले भन्यो ।
–‘त्यो त मलाई पनि थाहा छ । मेरो ड्युटी पनि त छ बजेदेखि नै हो नि, होइन ?’ श्यामको साथीले प्रश्न भरिएको आँखाले श्यामको आँखामा हेर्दै भन्यो, ‘मेरो भन्नुको अर्थ अर्कै हो मित्र । तिमीले ढाँट्नु आवश्यक छैन, मैले सबै कुरो थाहा पाइसकेको छु ।’
–‘के सबै कुरो थाहा पाएका छौ ?’ श्यामले चाहँदा नचाहँदै ढाँट्दै सोध्यो ।
उसको साथीले लय हालेर भन्यो, ‘बिहानै बिहान, एक पुरुष ट्राफिक, आफ्नो ड्युटीको समयभन्दा लगभग एक घण्टा अगाडि कोठाबाट निस्कन्छ, बिरालोका चालमा, आफूले ड्युटी गर्न पाएको चोकमा पुग्छ, त्यो बेलासम्म सवारीसाधनको चाप बढेको हुँदैन, सवारीसाधनहरू पातलो रूपमा हिँडिराखेका हुन्छन् । त्यो पुरुष ट्राफिक प्रहरीले त्यहाँ रहेको महिला ट्राफिक प्रहरीको डमीका अङ्ग प्रत्यङ्गलाई कुनै प्रेमीले आफ्नो प्रेमिकालाई सुम्सुमाएझैँ सुम्सुमाउँछ, यौवनको पौखरीमा डुबकी मार्छ र लगभग आधी घण्टा पौँडी खेलिसकेपछि तृप्त भएर बाहिर निस्कन्छ ।’ यति शब्द सुन्नासाथ श्याम आश्चर्यचकित हुन पुग्यो, आफ्नो साथीको आँखामा हे¥यो तर अरू केही बोल्न सकेन, यो वाक्यबाहेक– ‘यार, यो कुरो अरू कसैलाई नभन्नु ।’
–‘हुन्छ, हुन्छ, भन्दिनँ तर यो के हो चाला यार ? कसले यस्तो गर्छ ?’ उसको साथीले भन्यो ।
‘म गर्छु ! श्यामले भन्यो । श्याम भन्दै गयो । अब उसँग लज्जा भन्ने शब्द नै रहेन । एउटा कुरा भन्छु साथी, त्यस्तो गर्दाखेरि मलाई यौन तृप्ति भएको महसुस हुन्छ ।’
–‘के भन्छ यो ?’ श्यामको साथीले हाँस्दै भन्यो ।
–हो त नि ! श्याम भन्दै गयो, ‘एक दिनको कुरो सुन । म बिहानै बिहान सधैँझैँ आफ्नो ड्युटीमा त्यहाँ पुगेँ, सधैँझैँ म त्यो महिला ट्राफिक प्रहरीको जिउसँग खेल्न थालेँ, आफ्ना औँलाहरूलाई उसको शरीरका प्रत्येक अङ्गहरूमा घुमाउन फेर्न थालेँ । मैले उसले मसँग गरेको संवाद सुनाउँछु । संवाद यसरी भा’थियो’–
‘यहाँ मेरो गालामा यसरी नछोऊ न ।’
‘किन ?’
–‘कस्तो कस्तो हुन्छ ।’
–‘मेरो ओठमा किन छोएको । नछोऊ न ।’
–‘किन ? यहाँ छुँदा पनि केही हुन्छ ?’
–‘हुँदैन त ? कस्तो कस्तो भाव जन्मिन्छ ।’ मन उन्मादले भर्न पुग्छ ।
–‘यो त नारीको निकै संवेदनशील अङ्ग पो हो । यहाँ त छुनै हुन्न । किन छोएको ? यो त उत्तुँग उरोज हो, यहीँदिख सहवास यात्रा प्रारम्भ हुन्छ । यहाँ नछोऊ ।’
–‘यो कटिप्रदेश हो, यहाँ बिनाइजाजत कोही पनि प्रवेश गर्न पाउँदैन । यहाँ त बिल्कुलै नछोऊ । हात हटाऊ, औँला यसरी नचलाऊ ।’
–‘किन नि ?’
–‘जिउ सिरिङ हुन्छ । तन र मन झङ्कृत हुन्छ । जिउमा आगो लाग्छ । तर त्यो आगोले पोल्दैन, एक अर्कै किसिमको सुख दिन्छ, आनन्द दिन्छ ।’
–‘हो ?’
–‘हो । मलाई नछोऊ, यसरी नछोऊ, म तिमीजस्तो कुनै पुरुष होइन कि कुनै एउटा अङ्ग होस् जहाँ छुँदा जिउ सिरिङ हुन्छ, मन तरङ्गित हुन्छ, यौवन बरबराउन थाल्छ । म त ईश्वरको सबैभन्दा सुन्दर सृष्टि हुँ, रचना हुँ, म नारी हुँ, मेरो जिउका प्रत्येक अङ्ग प्रत्यङ्गमा छुँदा जिउ सिरिङ हुन्छ... मन उद्वेलित हुन्छ, मन र तन यौवनको पोखरीमा पौडी खेल्न थाल्छ ।’
‘त्यसपछि मैले पनि थाहा पाएँ... जीवित वा डमी जे भए पनि यौवनको मादकता छाएपछि यस्तै खाले अनुभूति हुँदो रहेछ, यस्तै खाले आनन्द प्राप्त हुँदो रहेछ ।’ श्यामको कुरो सुन्नासाथ उसको साथीले यति मात्र भन्यो, ‘यो अरू केही होइन, यौवनको उन्माद हो, यौवनको नशा हो । यो नै योवन हो । अरू केही होइन ।’
दुवै एकअर्कातिर हेर्न थाले । दुवै जनाको होठमा मृदु मुस्कान थियो, आँखामा यौवनको उन्माद झल्किरहेको थियो ।