• १२ मंसिर २०८१, बुधबार

कांग्रेसलाई परिवर्तन गरी देश विकास गर्छौँ : महामन्त्री थापा

blog

दमौलीमा आयोजित सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापा । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत २० गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले छिटोभन्दा छिटो नयाँ भरपर्दो ऊर्जावान् व्यक्तिहरूले कांग्रेसलाई परिवर्तन गरी देशको विकास गर्ने बताउनुभएको छ । कांग्रेस तनहुँले सोमबार दमौलीमा गरिएको उपनिर्वाचनको मनोनयन दर्ता तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

पार्टी अहिले कमजोर भएकाले बलियो बनाउन पार्टीभित्र नै सङ्घर्ष भइरहेको उहाँले बताउनुभयो । ‘‘पाटीभित्र सङ्घर्ष गरेर, लडेर खारिएका नेताहरू कांग्रेसलाई बदल्छौँ र बदलिएको कांग्रेसबाट नेपाललाई बदल्ने सङ्कल्प लिएका छौँ’’ उहाँले भन्नुभयो । 

तनहुँ क्षेत्र १ का उम्मेदवार गोविन्द भट्टराई खारिएको नेता भएकाले मत दिएर जिताएर परिवर्तनका लागि साथ दिन कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘‘हामी भागेका छैनौँ, यहीभित्र लड्ने र बदल्ने संसदभित्र गोविन्द भट्टराईजस्तो व्यक्ति आवश्यक परेको छ, जिताएर पठाउनुहोस्’’ थापाले भन्नुभयो । 

घरभित्रका सबै नेतालाई एकै ठाउँमा राखेर कांग्रेसलाई अघि लिएर जाने थापाले बताउनुभयो । तनहुँले निर्वाचित भएको मतदानलाई सम्मान गरेर रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएको र फेरि पनि मतको सम्मान पाउन तनहुँका जनताले उम्मेदवार भट्टराईलाई विजयी गराउनु पर्ने थापाको भनाइ छ ।

सबैलाई एकै ठाउँमा जोड्न कांग्रेसले चाहेको महामन्त्री थापाले बताउनभयो । एकजुट भएर निर्वाचनमा लाग्न कार्यकर्तालाई अनुरोध गर्दै महामन्त्री थापाले भन्नुभयो, “लामो समयदेखि काम गरेर विविध कारणले गर्दा पार्टी छाडेकालाई समेटेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

सबै मिलेर कांग्रेस बलियो बनाउन कांग्रेसले कारबाही गरेकाहरू गोविन्दराज जोशी लगायत नेताहरूको पनि कारबाही फुकुवा गरेको उहाँले बताउनुभयो । घुम्दै आएका टुरिस्ट उम्मेदवार विजयी हुन नसक्ने उहाँले दाबी गर्नुभयो । यहाँको कांग्रेस चोकमा राखेको मादलजस्तो जसले आयो उसले बजाउने हैन, पार्टीभित्र दुःख, सङ्घर्ष गरेका व्यक्तिलाई न्याय गर्नुपर्छ, थापाले भन्नुभयो । 

देशको राष्ट्रिय अस्मिता, स्वतन्त्रता र लोकतन्त्रको आत्मा बचाएर राख्ने काम कांग्रेसले गरेको र अब कांग्रेस बदलेर अविकसितबाट विकसित मुलुक बनाउने अभियानमा लागेको महामन्त्री थापाले बताउनुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू शङ्कर भण्डारी, ध्रुव वाग्ले, जिल्ला सभापति जीतप्रकाश आले, सचिव लक्ष्मीभक्त खनाललगायतले गठबन्धनको उम्मेदवार भट्टराईलाई जिताउन सबै एकजुट भएर जनताको घरदैलोमा पुगेर मत माग्न जरुरी रहेको उहाँले बताउनुभयो ।