वसन्त पराजुली
भरतपुर चैत २० गते । चितवन क्षेत्र २ मा वैशाख १० गते हुन लागेको सङ्घीय उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ र नेकपा एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
कांग्रेसका उम्मेदवार श्रेष्ठको कांग्रेस चितवनका सभापति राजेश्वर खनालको प्रस्ताव र नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष रामचन्द्र अधिकारीको समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएको हो । श्रेष्ठलाई माओवादीलगायतका सत्ता गठबन्धनको समर्थन छ ।
नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ
यस्तै, न्यौपानेको उम्मेदवारी दर्तामा प्रस्तावक एमाले नेता विजय सुवेदी र समर्थक एमाले नेता कृष्णभक्त पोख्रेल हुनुहुन्छ । यसअघि पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सोमवार उम्मेदवारी दर्ता गराइ सक्नुभएको छ । प्रस्तावक सीता ज्ञवाली र समर्थक विक्रम श्रेष्ठ रहेर लामिछानेले उम्मेदवारी दर्ता गराउनुभयो ।
अहिले बेलुका ५ बजेसम्म दर्ता हुने उम्मेदवारीमा अहिलेसम्म ६ जना स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी दर्ता भएको छ । यसरी उम्मेदवारी दर्ता गराउनेमा राष्ट्रिय जनमोर्चाका जनार्दन शर्मा, नेपाल मजदुर किसान पार्टीका ज्ञानेन्द्र प्रजा, नेपाल मङ्गोल अर्गनाइजेशन पार्टीका टेकबहादुर तामाङ, राष्ट्रिय नागरिक पार्टीका योगलाल श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट महानन्द जैसी र स्वतन्त्रमा भाश्करचन्द्र न्यौपाने, ताराप्रसाद पौडेल, सुदर्शन कँडेल, सुभाष परियार, भोजराज बगालेले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यसअघिको निर्वाचनमा लामिछानेले भारी मतान्तरले निर्वाचित सङ्घीय सांसद हुँदा नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले खारेज गरेसँगै संसद् पद पनि खारेज भएपछि यो क्षेत्रमा पुनः निर्वाचन हुन लागेको हो ।
गत चुनावमा लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धीभन्दा ३४ हजार १६२ मतान्तरले उहाँ अगाडि हुनुहुन्थ्यो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा (एमाले) का कृष्णभक्त पोख्रेलले १४ हजार ६४९ मत पाउनुभयो ।
अहिले चितवन २ मा एक लाख २४ हजार ६९५ मतदाता रहेका छन् । चार सय ८० नयाँ मतदाता थपिएका हुन् । गएको निर्वाचनमा एक लाख २४ हजार दुई सय १५ मतदाता थिए । निर्वाचनका लागि ४३ मतदानस्थल र एक सय ३८ मतदान केन्द्र तोकिएको थियो ।