• १५ वैशाख २०८१, शनिबार

हवाई क्षेत्रका समस्या समाधान गर्न सांसद पौडेलको माग

blog

नेपाली कांग्रेसका सांसद प्रदिप पौडेल

काठमाडौं, चैत १९ गते। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरूमा गम्भीर समस्या देखा परेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गर्नुभएको हो। 

कुनै जहाजको पाङ्ग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रु अलपत्र बन्ने स्थिति पछिल्लो समय देखा परेको भन्दै उहाँले यो समस्यालाई गम्भीरपूर्वक लिन पनि सरकारलाई सचेत गराउनुभयो। 

उहाँले व्यवस्थापकीय पक्षमा चुक्दा नेपालको हवाई क्षेत्रमा बढी दुर्घटना हुने गरेको उल्लेख गर्दै त्यसलाई किन गम्भीरतापूर्वक नलिएको भन्दै सरकारलाई प्रश्नसमेत गर्नुभयो। उहाँले हवाई सुरक्षाको विषयलाई हरेक मुलुकले उच्च प्राथमिकता राख्ने गरे पनि नेपाल सरकार र सम्बन्धित निकाय त्यस मामिलामा बेखवर जस्तै बन्नु दुःखद रहेको बताउनुभयो। 

सांसद पौडेलले भन्नुभयो, ‘‘पछिल्लो समय हवाई क्षेत्रमा अत्यन्तै गम्भीर त्रुटिहरू देखिएका छन्। कुनै जहाजको पाङ्ग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरू अलपत्र बन्ने स्थिति बनेको छ। हिजो मात्रै नेपाल वायु सेवा निगमको विमान दुबईबाट काठमाडौं उड्नै लाग्दा पाइलटलाई पखाला चलेपछि ५४३ यात्रु अलपत्र परे। पछिल्लो रिर्पोटले प्रष्ट भन्छ: नेपालमा हवाई दुर्घटनाका पछाडि इन्जिनले काम नगरेको जस्ता यान्त्रिक कारण भन्दा व्यवस्थापकीय पक्षमा चुक्दा बढी दुर्घटना हुन्छन्।’’ 

सांसद पौडेलले मुलुकको हवाई क्षेत्रको गरिमा थप गुम्न नदिने गरी उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।