• १३ मंसिर २०८१, बिहिबार

चलचित्र समाज रूपान्तरणको माध्यम : सञ्चार मन्त्री शर्मा

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा । तस्बिर : मन्त्री शर्माको निजी सचिवालय

गोरखापत्र अनलाइन

भैरहवा, चैत १७ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताउनुभएको छ । उहाँले समाज रूपान्तरणको माध्यमको रूपमा लिनुपर्नेमा चलचित्र क्षेत्रलाई आवश्यकताभन्दा विलासिताको रूपमा हेर्ने दृष्टिकोणका कारण यसको विकास हुन नसकेको बताउनुभयो ।

भैरहवामा आजदेखि सुरु भएको जीवनीमा आधारित चलचित्र निर्माणसम्बन्धी कार्यशाला उद्घाटन गर्दै उहाँले चलचित्रलाई देश निर्माण र समाज रूपान्तरणको आधारको रूपमा लिनुपर्ने बताउनुभयो । अरू माध्यमबाट दिन नसकिने शिक्षा र सन्देश  चलचित्रबाट सजिलै दिन सकिने भएकाले पनि यसलाई समाज रूपान्तरणको माध्यमको रूपमा लिनुपर्नेमा मन्त्री शर्माको जोड थियो ।

इतिहास तथा कुनै कालखण्डसँग जोडिएका मुख्य व्यक्तित्वसँग नजिक रहेर चलचित्र लेखन, निर्माण र प्रदर्शनका लागि दक्ष स्रोत व्यक्ति र प्रशिक्षकद्वारा प्रशिक्षित गर्न आयोजना गरिएको यो प्रशिक्षण नितान्त नौलो र महत्त्वपूर्ण कार्यक्रम भएको उल्लेख गर्दै उहाँले यति महत्त्वपूर्ण कार्यक्रम विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरी पृथक् विधाका चलचित्रकर्मी उत्पादन गर्ने कार्यक्रम आयोजना गरेकोमा पनि आयोजकलाई धन्यवाद दिनुभयो ।

गौतम बुद्धको जन्मस्थल, ऐतिहासिक घटनाक्रमको थालनी भएको क्षेत्र मात्र नभई मगर, थारु, अवधि भाषी समुदायको संगमस्थलको रूपमा रहेको लुम्बिनी नेपालको महत्त्वपूर्ण पर्यटकीयस्थल भएको औँल्याउँदै मन्त्री शर्माले यो प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र साहसिक चारै प्रकारका पर्यटन प्रवर्द्धनका लागि उपयोगी क्षेत्र भएकाले चलचित्र उद्योगलाई पर्यटन उद्योगसँग जोड्न र लुम्बिनी प्रदेशलाई चलचित्र छायाङ्कन स्थलको रूपमा प्रयोगमा ल्याउन पनि चलचित्र क्षेत्रसँग आग्रह गर्नुभयो ।

नेपाली समाजका बहुुआयामिक विशेषताहरू रहेको औँल्याउँदै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा हरेक समुदायभित्र आ–आफ्नै मौलिकताका नायकहरू रहेकाले उनीहरूको जीवनीमा आधारित बायोपिक चलचित्र निर्माणलाई व्यावसायिक रूप दिनुपर्ने बताउनुभयो ।  त्यसबाहेक राजनीतिज्ञ, योद्धा, आविष्कारक, कलाकार, साहित्यकार, समाजसेवी तथा अन्य व्यक्तित्वहरूको कथा खोजी गरी चलचित्र निर्माण गर्नु र त्यसलाई विश्व बजारमा पुर्‍याउनु निकै महत्त्वपूर्ण काम हुने मन्त्री शर्माको भनाइ थियो ।


उहाँले बायोपिक चलचित्र निर्माणले देश र जनताका प्रिय पात्रहरूको जीवनी र सङ्घर्षको खोजी गरी चलचित्रको माध्यमबाट विश्व सामु चिनाउने, बायोयिक चलचित्रमा व्यावसायिकताको खोजी गर्ने, ऐतिहासिक व्यक्तित्वलाई अमरत्व प्रदान गर्ने, विदेशी लगानीकर्ताका लागि पनि लगानी गर्ने वातावरण सिर्जना हुने र चलचित्रको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।