• १३ वैशाख २०८१, बिहिबार

कुलो नबन्दा मार्सी रोपाइँ अन्योलमा

blog

जुम्ला समाचारदाता

जुम्ला, चैत १७ गते । असोज महिनामा आएको बाढीपहिरोले क्षतिग्रस्त भएको कुलो निर्माण हुन नसक्दा यस पटक धेरैजसो किसानलाई मार्सीको बिउ राख्न कठिन भएको छ। कुलो नहुँदा हिमा गाउँपालिका–१, देवारगाउँ र बड्की गाउँका धेरै किसानले यस पटक बिउ राख्न सकेनन्। 

सूचनाको माध्यम नभएको त्यो समयमा ‘चैत १२ गते घर नपुग्ने जुम्लाको व्यक्ति जिउँदो रहेन’ भन्ने उखान अहिले पनि छ तर किसानको कुलो नबन्दा यस पटक देवारगाउँवासीमा निराशा छाएको छ। जुम्लामा चैत १२ गते मार्सी धानको बिउ राख्ने र चैत १६ गते उतार्ने चलन छ। 

किसानले भने कुलो बन्ने आशामा भने बिउ राखेका छन्। कर्णाली सरकारले चैत १२ मा जुम्लामा सार्वजनिक बिदा दिए पनि बाढीले बगाएको कुलो बनाउनेतर्फ कुनै कदम चालेन। बाढीपहिरोले हिमा गाउँपालिका–१ स्थित देवारगाउँ जिउला, कुच्चेकुना, पागरपालीसहित विभिन्न ज्युलोमा क्षति पु-याएको थियो। यसका साथै सिँजा र कनकासुन्दरीका ठूला कुलाहरू पनि गत असोजको बाढीले भत्काएको छ। हिमा गाउँपालिका–१ का किसान अमरबहादुर शाहीले किसानको जनजीवनमा जोडिएको खेतमा सिँचाइ नहुँदा रोपाइँ नहुने, भोकमरीको डरसँगै आगामी वर्ष बिउ पाउन मुस्किल हुने चिन्ता बढेको बताउनुभयो। 

यता हिमा गाउँपालिका, बड्कीगाउँका किसान वीरबहादुर शाहीले कुच्चेकुना जिउला पूरै बगाएको र पागरपालिको भत्किएकाले रोपाइँ हुन नसक्ने बताउनुभयो। उहाँका अनुसार बिउ पनि कम राखिएको छ। 

हिमा गाउँपालिकाको देवारगाउँ जिउलाको कुलो भत्किएको, कुच्चेकुना–पागरपाली जिउलाको चार किमि कुलोमध्ये करिब एक किलोमिटर निसाना नै नरहेर भत्किएको गाउँपालिकाले जनाएको छ। हिमा गाउँपालिका–१ का वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार गाउँमा भएका किसानलाई बिउ राख्न भनिएको तर कुलो नबनेका कारण कसरी रोपाइँ गर्ने भन्ने चिन्ता बढेको बताउनुभयो।