• १० पुस २०८१, बुधबार

नगरपालिकामा तालाबन्दी

blog

सर्लाही समाचारदाता

सर्लाही, चैत १७ गते  । आन्दोलन गरिरहेको सर्वदलीय सङ्घर्ष समितिले लाठी जुलुस प्रदर्शनपछि सर्लाहीको हरिपूर्वा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। 

हातहातमा लाठी लिई प्रदर्शन गरिरहेका व्यक्तिहरूले नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। सर्वदलीय सङ्घर्ष समितिका अध्यक्ष बिकाउ यादवले सङ्घर्ष समितिले अघि सारेको नौ बुँदे मागलाई बेवास्ता गरेपछि हरिपूर्वा नगरमा लाठी जुलुस र कार्यालयमा तालाबन्दी गरिएको बताउनुभयो। 

उहाँले नगरपालिकाले प्रशासकीय भवन आफ्नै जग्गामा निर्माण गर्नुपर्ने, प्रहरी चौकीको नाममा खरिद गरिएको जमिनमै प्रहरी चौकी भवन निर्माण गरिनुपर्ने, नगरपालिकाले ऐतिहासिक नारायणदास मठको जमिन फिर्ता गर्नुपर्ने माग रहेको बताउनुभयो। पूर्व–पश्चिम राजमार्गस्थित बाँके चोकदेखि सङ्ग्रामपुर सडकखण्डको अधुरो कालोपत्रेलाई यथाशीघ्र पूरा गर्नुपर्ने मागसमेत गरिएको उहाँले बताउनुभयो।  

हरिपूर्वा नगरपालिकास्थित सर्वदलीय सङ्घर्ष समितिको आह्वानमा पुरुषले लाठी र महिलाले आफ्नो हातमा कुचो तथा झाडु बोकेर नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए। प्रदर्शनका क्रममा नगरभित्रका उद्योग, व्यवसाय, बजार तथा यातायात क्षेत्रमा प्रभाव परेको थियो। 

सङ्घर्ष समितिमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी), जसपा, लोसपा तथा जनमत पार्टीको सहभागिता छ। उनीहरूले नगर कार्यपालिकाले सङ्घर्ष समितिले उठान गरेका जायज माग पूरा नगरेसम्म नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा गरिएको तालाबन्दी नखुल्ने बताएका छन्।