• १६ चैत २०८०, शुक्रबार

चमार समुदाय समस्यामा

blog

जीवछ यादव 

लहान, चैत १७ गते । जुत्ताचप्पल मर्मत गरेर गुजारा गर्ने लहानका चमार समुदाय चार लेन सडक विस्तार भएपछि आफ्नो पेसाबाट विस्थापित भए।   लहानको मुख्य चोकको उत्तरतर्फ राष्ट्रिय सडकको किनारामा जुत्ताचप्पल सिलाएर गुजारा गरिरहेका चमार राजमार्ग चार लेन भएपछि गुजारा कसरी गर्ने भनेर पिरोलिएका छन्। 

लहान–२ का महेन्द्र राम (चमार)का अनुसार ३० वर्षदेखि यही सडकको किनारामा जुत्ताचप्पल मर्मत गरेर गुजारा गर्दै आइरहेका थिए। दैनिक पाँचदेखि सात सय रुपियाँसम्म कमाएर घरपरिवार चलाएको उनीहरूको भनाइ छ। महेन्द्र राम भन्नुहुन्छ, “आफ्नै जातीय पुख्र्याैली सीपमा गर्व गरेर गुजारा गर्न समस्या भएन तर केही दिन यता सडक किनाराबाट हट्ने सूचना आइरहेको छ। कहाँ गएर पसल थाप्ने समस्याले घरपरिवारमा समेत चिन्ता छाएको छ।” 

राजमार्गमा कोठा भाडा पाइँदैन पाए पनि दुई/चार लाख पहिले नै जम्मा गर्नुपर्छ। महिनाको ३० हजारसम्म कोठा भाडा तिर्नुपर्छ। कसरी भाडामा लिन सक्छाैँ। 

कहीँकतै ओत लाग्ने ठाउँ नपाएर समस्या भएको स्थानीय नथुनी महराको भनाइ छ। दलित अभियानकर्मी नेनीलाल राम भन्नुहुन्छ, “भौतिक विकास मात्रै विकास होइन, विपन्न दलितले कसरी आत्मनिर्भर हुने यसतर्फ स्थानीय प्रदेश र सङ्घ सरकारको ध्यान केन्द्रित नहुँदा पुख्र्यौली पेसाबाट समेत दलित विमुख भइरहेका छन्।” स्थानीय तहले पनि पहल नगर्दा दलित समुदायको पीडा बढ्दै गइरहेको मानव अधिकारकर्मी राजकुमार राउतले बताउनुभयो।