• १४ वैशाख २०८१, शुक्रबार

बागमती प्रदेश सरकार विस्तारमा ढिलाइ

blog

राममणि दाहाल

हेटौँडा, चैत १७ गते । केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै बागमती प्रदेशमा भएको सत्ता समीकरणपछि सरकार विस्तारमा ढिलाइ भएको छ। फेरिएको गठबन्धनमा रहेका दलबीच भागबन्डा नमिल्दा सरकार विस्तारमा केही दिन ढिलाइ हुने भएको छ। 

सरकार विस्तारमा ढिलाइका कारण प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आठवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। एक महिनाभन्दा लामो समयदेखि चारवटा मन्त्रालयको जिम्मेवारीमा रहनुभएका मुख्यमन्त्री जम्कट्टेलमाथि गत शुक्रबार थप चारवटा मन्त्रालयको बोझ थपिएपछि आठवटा मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ।

प्रदेशमा सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले सरकार विस्तारमा भएको ढिलाइबारे एक–अर्काका कारण भन्दै आरोप लगाउँदै आएका छन्। माओवादी केन्द्रका नेता एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले कांग्रेसले मन्त्री बनाउनेको नाम दिन ढिलाइ गरेका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको बताउनुभयो।

मन्त्री दुलालले भन्नुभयो, “कांग्रेसले मन्त्रिमण्डलमा सहभागी हुनेको नाम दिन ढिलाइ गरेको छ, आन्तरिक समस्या वा कसलाई पठाउने भन्नेबारे सहमति नभएकाले हुन सक्छ। केन्द्रमा भागबन्डामा सहमति भएपछि यहाँ पनि मन्त्रिमण्डल विस्तारमा सहज होला जस्तो छ।” गत पुस २५ गते नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित प्रदेशमा रहेका पाँच दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिँदै राप्रपा सरकारबाट बाहिरिएको थियो। 

गत फागुन १३ गते राप्रपाले सरकार छाडेपछि राप्रपाले पाएको तीनवटा मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले नै सम्हाल्दै आउनुभएको छ। यस्तै गत शुक्रबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि एमालेले सत्ता भागबन्डामा पाएको मन्त्रालयको जिम्मेवारीसमेत पछिल्लो समय मुख्यमन्त्री जम्कट्टेल अरूलाई दिनुभएको छैन। 

एमाले र राप्रपा सत्ताबाट बाहिरिएसँगै सत्तामा सहभागी हुन लागेको कांग्रेसमा मन्त्री हुनेको सङ्ख्या बढेपछि कांग्रेसलाई व्यवस्थापनमा समस्या भएको देखिएको छ। कांग्रेसभित्रको समूह र गुट मिलाउन समस्या भएपछि कांग्रेसले प्रदेश सभा सदस्यको सङ्ख्याका आधारमा मन्त्री पाउनुपर्ने भन्दै धेरै मन्त्रालयको दाबी गर्दै आएको छ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले कांग्रेसले मन्त्री भागबन्डा गर्दा छवटा पाउनुपर्ने दाबी गरेको जानकारी दिनुभयो। माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित चार, कांग्रेसले छवटा माग गरेको, नेकपा (एकीकृत समाजवादी)ले दुईवटा र हाम्रो नेपाली पार्टीले एउटा माग गरेअनुसार भागबन्डा गर्दा अहिले रहेको मन्त्रालय पुग्ने देखिँदैन। 

प्रदेशमा रहेको ११ वटा मन्त्रालयलाई भागबन्डाका लागि मन्त्रालय फुटाएर विवादमा आउने पक्षमा मुख्यमन्त्री जम्कट्टेल नदेखिएपछि सरकार विस्तारमा सकस भएको हो।

भागबन्डा मिलाउन कार्यदल 

मन्त्रालय भागबन्डामा सकस भएपछि सहमति निर्माण गर्न कार्यदल गठन गरिएको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सरकार विस्तारलगायतका विषयमा सहमति निर्माण गर्न कार्यदल गठन गरिएको जानकारी दिनुभयो। 

उपनेता चित्रकारका अनुसार कार्यदलमा उहाँसँगै कांग्रेसका तीन जना, माओवादी केन्द्रका दुई जना, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका एक–एक जना रहेका छन्। उपनेता चित्रकारले भन्नुभयो, “कांग्रेसका कारण सरकार विस्तारमा ढिलाइ भएको होइन, छवटा मन्त्रालय माग गरेका छौँ। माओवादी केन्द्रसमेत सुरुमा सहमत थियो। सहमति जुट्नेबित्तिकै सरकारले पूर्णता पाउनेछ।”

मन्त्रिमण्डल विस्तारमा सहमति जुट्न नसकेपछि काठमाडौँमा मुख्यमन्त्री जम्कट्टेल, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामासहितका नेता बसेर सरकार विस्तारलगायतका विषयमा सहमति निर्माण गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो।

कांग्रेसले केन्द्रमा सत्ता गठबन्धनमा हुने सहमतिलाई कुर्दासमेत सरकार निर्माणमा ढिलाइ भएको हो। सातै प्रदेशको एकमुष्ट भागबन्डा हुने र केन्द्रमा समेत मन्त्रिमण्डल विस्तारमा हुने सहमतिलाई प्रदेशमा कांग्रेसले कुरेर बसेको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामा केन्द्रमा सातै प्रदेशको भागबन्डाबारे छलफल भएर सहमति भएपछि प्रदेशमा सरकारको काम हुने बताउनुभयो। 

एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले गत शुक्रबार प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिनुभएको थियो। मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ।