• ८ वैशाख २०८१, शनिबार

ठगीका उजुरी दोब्बर

चिनेजानेकै व्यक्तिबाट ठगिन्छन् वैदेशिक रोजगारीमा जाने युवा

blog

काठमाडौँ, चैत १७ गते । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार कम्पनी अनि विदेश पढ्न पठाउन भन्दै खोलिएको एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । यसरी ठगीमा पर्ने कति छन् भन्ने आधिकारिक तथ्याङ्क कसैसँग छैन । 

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षको आठ महिनाको तुलनामा चालु आर्थिक वर्ष वैदेशिक रोजगारीका नाममा हुने ठगी दोब्बरले बढेको छ । वैदेशिक रोजगार विभागमा आव २०७९/८० को फागुन महिनासम्म ५५ करोड ९५ लाख रुपियाँ बराबर व्यक्तिगत ठगी भएको उजुरी परेको छ । जब कि गत आर्थिक वर्षको सो अवधिमा २३ करोड २२ लाख रुपियाँ थियो ।

पछिल्लो समय नेपालबाट दैनिक औसतमा दुई हजार दुई सय युवा रोजगारीको खोजीमा विदेश जाने गरेका छन् । वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या वृद्धिसँगै ठगीका घटना पनि बढेको उजुरीमा परेको रकमले देखाएको छ ।

विभागका निर्देशक कृष्ण भुसालले पछिल्लो वर्ष वैदेशिक रोजगारीमा जाने बढेसँगै ठगीमा पर्नेको सङ्ख्या पनि बढेको जानकारी दिनुभयो । विभागका अनुसार वैदेशिक रोजगारीका नाममा हुने ठगीमध्ये वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको तुलनामा व्यक्तिगत र शैक्षिक कन्सल्टेन्सीबाट हुने ठगी बढेको छ ।

सरकारले वैदेशिक रोजगारीका लागि निःशुल्क भिसा र टिकट व्यवस्था लागू गरेको छ । यसअनुसार विदेश जाने युवासँग अधिकतम १० हजार रुपियाँ मात्र सेवा शुल्क लिन पाउने व्यवस्था छ । 

यो नियमका कारण कतिपय वैदेशिक रोजगार व्यवसायी कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्दै आएका छन् । यसले संस्थागतभन्दा व्यक्तिगत ठगीका उजुरी बढेको देखिएको छ ।

वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगारीको प्रक्रियामा एजेन्ट राख्न पाइँदैन तर म्यानपावर व्यवसायीले जिल्लाजिल्लामा एजेन्ट राखेर ठगी गर्ने काम गर्दै आएका छन् । 

विभागका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ६८६ व्यक्तिगत उजुरी परेको छ । यी उजुरीमध्ये १०१ उजुरी मिलापत्र भएर पीडितले ७५ करोड फिर्ता पाएका छन् । यस्तै ६३ वटा मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता भएका छन् । विभागको अनुसन्धान तथा मुद्दा शाखाका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा ५६ करोड रुपियाँको ठगी उजुरीमध्ये १२ करोड रुपियाँ बराबरको बिगो दाबीसहित अदातलमा मुद्दा दायर गरिएको छ ।

निःशुल्क भिसा र टिकटको व्यवस्थाअनुसार कुनै पनि म्यानपावर कम्पनीले १० हजार रुपियाँभन्दा बढी रकम लिएको रसिद वा भरपाई दिँदैनन् । जब कि कुनै पनि मुलुकमा जान एक लाख रुपियाँभन्दा धेरै पैसा बुझाउनुपर्छ । दस हजार रुपियाँबाहेकको पैसा युवाले एजेन्टलाई दिने गरेका छन् ।