• ६ वैशाख २०८१, बिहिबार

जनगणनाको पूर्ण विवरणको तालिका आउन एक वर्ष लाग्ने

blog

काठमाडौँ, चैत १७ गते ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले एक वर्षभित्र जनगणनाको पूर्ण विवरणको अन्तरविषयक तालिका (क्रस टेबुलेसन) सार्वजनिक गर्ने भएको छ। 

गत साता सार्वजनिक पूर्ण विवरणमा जनगणनाका क्रममा सोधिएका प्रश्नावलीको सिधा उत्तर मात्र सार्वजनिक भएको थियो। अब क्रस टेबुलेसनको नतिजा सार्वजनिक गर्दा भने दुई वा दुईभन्दा बढी प्रश्नको समेत उत्तर निकाली त्यसलाई तथ्याङ्कमार्फत सार्वजनिक गरिनेछ। 

कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले सरकारी र गैरसरकारी संस्थाको मागअनुसार उक्त क्रस टेबुलेसन सार्वजनिक गर्दै जाने बताउनुभयो। उहाँका अनुसार क्रस टेबुलेसनमा नेपालमा शिक्षित व्यक्ति संलग्न भएको रोजगारीको क्षेत्र, कुल ज्येष्ठ नागरिकमध्ये उत्पादन क्षेत्रमा आबद्ध भएकाको सङ्ख्या, अपाङ्गता भएका व्यक्ति संलग्न पेसा र व्यवसायको अवस्था, कृषि र गैरकृषि क्षेत्रमा लागेका व्यक्तिको सङ्ख्यालगायतका संयुक्त प्रश्नको उत्तरलाई टेबुलमार्फत तथ्याङ्कमा सार्वजनिक गरिनेछ। 

दुई वा दुईभन्दा बढी प्रश्नको विश्लेषणात्मक विवरण तथ्याङ्क कार्यालयले सार्वजनिक गर्दै जाने लामिछानेले बताउनुभयो।