• ८ वैशाख २०८१, शनिबार

लापरबाहीले सवारी चलाउने प्रहरी जवान निलम्बनमा

blog

जिल्ला प्रहरी कार्यालय मकवानपुर । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, चैत १६ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लापरबाहीपूर्वक सवारी साधन चलाएको आरोपमा एक प्रहरी जवानलाई निलम्बन गरेको छ । भीमफेदी कारागारका थुनुवा बोकेको गाडीका चालक प्रहरी जवान बिबेक नेपालीलाई निलम्बन गरिएको हो ।

बुधबार साँझ प्रहरी जवान नेपालीले चलाएको बागमती प्रदेश ०३–००१ झ ०१२३ न.को मोबाइल गाडीले हेटौँडा उपमहानगरपालिका १० स्थित बुद्धचोकमा ना.४९प ११९ र बागमती प्रदेश ०३–००५प ३०७६ न.को मोटरसाइकललाई ठक्कर दिँदा दुवै मोटरसाइकलका चालक घाइते भएका थिए । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले थुनुवा बोकेको गाडीको ठक्करबाट मोटरसाइकल चालक घाइते भएको घट्ना सम्बन्धमा अनुसन्धान गर्दा चालक प्रहरी जवान नेपालीले लापरबाही तरिकाले सवारी चलाएको देखिएको छ । 

लापरबाहीपूर्ण तरिकाले सवारी चलाएको देखिएकाले आबश्यक कारबाहीका लागि बिहीबारबाट लागू हुनेगरी प्रहरी जवान नेपालीलाई निलम्बन गरिएको कार्कीले बताउनुभयो । प्रहरी जवान नेपाली वडा प्रहरी कार्यालय, बगर, कास्कीमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय  मकवानपुरमा चालकको रुपमा कार्यरत रहेका थिए ।

प्रहरीको गाडीको ठक्करबाट मोटरसाइकल दुर्घटना भएपछि सवारी चालकलाई कारबाहीको माग गर्दै स्थानीयले बुधबार राति दुई घण्टाभन्दा बढी समेय नाराबाजी गरेका थिए । 

प्रहरीको गाडीको ठक्करबाट ना.४९ प ११९ ना.४९ प ११९ न.को मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भई मोटरसाइकल चालक हेटौँडा ४ गर्दोहीका ४० वर्षीय सुरेसराज बज्राचार्य र बागमती प्रदेश ०३–००५ प ३०७६ को मोटरसाइकलका चालक हेटौँडा ५ स्थित पिप्लेका ४१ वर्षीय मधु अर्याल घाइते हुनुभएको थियो । बज्राचार्यको हेटाँैडा अस्पतालमा र अर्यालको अर्थोपेडिक अस्पताल, हेटौँडामा उपचार भएको छ ।