• १३ मंसिर २०८१, बिहिबार

किसानको जीवनस्तर सुधार गर्न विश्वविद्यालय चुक्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

blog

कृषि तथा वन विज्ञान विश्वविद्यालय तेश्रो दीक्षान्त समारोह लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त

काठमाडौं, चैत १६ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानको जीवनस्तर सुधार गर्नुपर्ने अहिलेको आवश्यकतालाई विश्वविद्यालयले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ। बिहीबार चितवनमा आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो। 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘अहिलेको समय उद्यमशीलताको भएको हुँदा अनुसन्धानबाट नवीनतम प्रविधिको विकास गरेर उत्पादन र उत्पादकत्व वृद्धि गरी किसानको जीवनस्तर सुधार गर्नुपर्ने टट्कारो आवश्यकतालाई विश्वविद्यालयले विशेष ध्यान दिनुपर्ने भएको छ र त्यसमा विश्वविद्यालय कुनै पनि हालतमा चुक्नु हुँदैन।’’ 

प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयले भैँसीको प्रजनन प्रविधि, गहुँको गर्मी सहन गर्ने जातको विकास र भाले माछा उत्पादन प्रविधिको विकासले आफूलाई उत्साहित बनाएको बताउनुभयो। उहाँले भविष्यमा यस्ता उपयोगी प्रविधि विकासमा विश्वविद्यालय लागि रहने विश्वास व्यक्त गर्नुभयो। 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘विश्वविद्यालयका वैज्ञानिकले भैँसीको बेमौसमी प्रजननको प्रविधि, गहुँको गर्मी सहन गर्न सक्ने जातको विकास, टिलापिया भाले माछा उत्पादन प्रविधि लगायतका प्रविधि विकास गरिसकेको कुराले मलाई उत्साहित बनाएको छ। भविष्यमा यस्ता अन्य उपयोगी प्रविधि विकासमा विश्वविद्यालय लागि नै रहनेछ भन्ने मैले विश्वास लिएको छु।’’ 

विश्वविद्यालयले देशका सात वटै प्रदेशमा आङ्गिक क्याम्पस स्थापना गरेर आफ्नो कार्यक्षेत्र विस्तार गरिसकेको छ। विश्वविद्यालयलाई प्रत्यक्ष किसानसम्म पुर्‍याउने कार्यमा अधिकतम सफलता मिल्ने विश्वाससमेत प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभएको छ। 

त्रिभुवन विश्वविद्यालयबीचको जग्गा सम्बन्धी विवाद  टुङ्गोमा पुगेको स्थिति रहेकोले नेपाल सरकारबाट आवश्यक पर्ने थप सहयोग विश्वविद्यालयलाई गर्नेसमेत प्रधानमन्त्रीले बताउनुभएको छ। 


कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् कुलपति श्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गर्नुभएको सम्बोधनको पूर्णपाठ:

सर्वप्रथम, कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट आज दिक्षित हुनु भएका सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई दिँदै उज्ववल भविष्यका लागि शुभकामना व्यक्त गर्दछु ।आजको यो विशेष दिनमा तपाईहरुहरुको उच्च शिक्षा अध्ययनको सपना पुरा भएको छ भने अब तपाईहरुले देशको समग्र कृषि, बन लगायत त्यस सँग आबद्ध क्षेत्र विकासका लागि योगदान दिनुहुनेछ र आफुले सिकेका ज्ञान, सीप कृषक समुदायहरुसँग बाँड्नु हुनेछ भन्ने मैंले विश्वास लिएको छु ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना हुनु अघि देखी नै विश्वविद्यालयसँग मेरो आत्मियता जोडिएको छ । विश्वविद्यालयको कुलपतिको रुपमा पहिलो पटक दीक्षान्त समारोहमा सहभागि हुँदै गर्दा कृषिसँग जोडिएर छुट्टै विश्वविद्यालय स्थापना हुनु आँफैंमा गौरवको विषय भएको मैंले महशुस गरिरहेको छु । विश्वविद्यालय स्थापनाका विभिन्न चरणहरुमा महत्वपूर्ण भुमिका निभाएको हुँदा विश्वविद्यालय स्थापना भैसकेपछि पनि विकास र विस्तारलाई प्राथमिकता दिएको छु । वि.सं. २०६७ सालमा स्थापना भएको विश्वविद्यालयले कृषि, पशु चिकित्सा, पशु विज्ञान तथा मत्स्य विज्ञान र वन संकाय मार्फत दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिईराखेको छ । यी तिन वटै क्षेत्र समावेश भई कृषिको समष्ठिगत क्षेत्रलाई समेटिएकाले विश्वविद्यालयको आफ्नो छुट्टै दायरा निर्माण हुनुका साथै कृषि शिक्षाको विकास र विस्तारमा अध्ययन, अनुसन्धान र प्रसारलाई आत्मसात् गरेको पाउँदा मलाई खुशी लागेको छ । साथै विश्वविद्यालयले राष्ट्रिय एवम् अन्तर्राष्‍ट्रिय रुपमा विभिन्न सरकारी, गैह्रसरकारी, शैक्षिक एवम् अनुसन्धान निकायका साथै कृषि उद्यमीहरु एवं दातृ निकायहरुसँगका सम्बन्ध सुमधुर बनाउँदै समग्र कृषि एवं वन शिक्षाको उन्न्यनमा लागि रहेको कुराले म विशेष रुपमा हर्षित भएको छु ।

हालै मात्र विश्वविद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि USAID परियोजनाको सुरुवात् भएको विषय हामी सबैका लागि विशेष महत्वपूर्ण छ र म यस परियोजनाको सफलताको शुभकामना व्यक्त गर्दछु । अहिलेको समय उद्यमशिलताको भएको हुँदा अनुसन्धानहरुबाट नविनतम् प्रविधीको विकास गरेर उत्पादन र उत्पादकत्व वृद्धि गरी किसानको जीवनस्तर सुधार गर्नुपर्ने अहिलेको टट्कारो आवश्यकतालाई विश्वविद्यालयले विशेष ध्यान दिनु पर्ने भएको छ र त्यसमा विश्वविद्यालय कुनै पनि हालतमा चुक्नु हुँदैन । विश्वविद्यालयका वैज्ञानिकहरुले भैंसीको वेमौसमी प्रजननको प्रविधि, गहुँको गर्मी सहन गर्न सक्ने जातको विकास, टिलापिया भाले माछा उत्पादन प्रविधि लगायतका प्रविधि विकास गरिसकेको कुराले मलाई उत्साहित बनाएको छ ।भविष्यमा यस्ता अन्य उपयोगी प्रविधि विकासमा विश्वविद्यालय लागि नै रहनेछ भन्ने मैले विश्‍वास लिएको छु । यस विश्वविद्यालयले देशका ७ वटै प्रदेशहरुमा आंगिक क्याम्पस स्थापना गरि आफ्नो कार्यक्षेत्र विस्तार गरिसकेको छ । त्यसै गरी कृषि विज्ञान केन्द्र केही स्थानमा स्थापना भईसकेका छन् भने केही प्रदेशमा विस्तार हुने क्रममा रहेको हुँदा विश्वविद्यालयलाई प्रत्यक्ष किसानसम्म पु-याउने कार्यमा अधिकतम सफलता मिल्नेमा म विश्वस्त रहेको छु ।

यस समारोहमा म यस विश्वविद्यालयलाई एउटा उत्साहजनक गतिमा लैजान मैले बुझेका निम्न बुँदाहरुलाई स्पष्ट पार्न चाहन्छु ।

यस विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय बिचमा रहेको जग्गा सम्बन्धी विवाद करिव टुङ्गोमा पुगेको स्थिति रहेकोले नेपाल सरकारबाट आवश्यक पर्ने थप सहयोग विश्वविद्यालयलाई पु-याउने छ ।

समायोजनमा आउनु भएका शिक्षक तथा कर्मचारीको दायीत्वका सम्बन्धमा बहुपक्षिय छलफल गरि समाधान गर्नु पर्ने हुन्छ ।

थप आंगिक क्याम्पसहरुको संख्यामा बृद्घि भएसँगै दरबन्दी व्यवस्थापनमा चाप परेका मैले बुझेकोछु। यस सम्बन्धमा विगतमा गरिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण अध्ययनलाई आधार मानेर के कति दरबन्दी आवश्यक पर्ने त्यसको यकिन गरी पहल गर्न आवश्यक रहेकोछ ।

देशको कृषि उत्पादनमा देखिएका चुनौतीलाई विश्वविद्यालयले आवश्यक अध्ययन गरि यसका वैज्ञानिक, सामाजिक एवं आर्थिक पक्षहरुको विश्लेषण गरी मुलुकमा जनतालाई कृषि पेशा र व्यवसायमा सुदृढीकरण गर्ने जिम्मेवारी यस विश्‍वविद्यालयमा रहेको छ।जब सम्म कृषि, बन, पशुपालन, कृषक र समुदायलाई पर्यावरण प्रणाली (Eco-system) मा समाहित गर्न सकिदैन तवसम्म मुलुकमा यो क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न सक्दैन।

यस विश्‍वविद्यालयले कृषि र बन विज्ञान शिक्षामा शैद्धान्तिक भन्दा पनि अनुसन्धानबाट आएका व्यावहारिक ज्ञानको पठन-पाठनमा ध्यान दिँदै त्यसलाई विद्यार्थीबाट कृषि र बन सँग सम्बन्धित जन समुदायमा पुर्‍याउन सकेमा फलदायी हुनेछ ।

देशको लागि कृषि, बन तथा पशुपालन सम्बन्धी विज्ञको आवश्यकता दिन प्रतिदिन बढ्दो छ तर कृषि तथा वन विज्ञान विश्वविद्यालयमा यी विषयहरुमा अध्ययनका लागि भर्ना हुने विद्यार्थीको संख्या क्रमिक रुपमा घट्दै जानु गम्भिर चिन्ताको विषय बनेको छ । यो समस्या एक विश्वविद्यालयको मात्र नभई अन्य विश्‍वविद्यालयहरुमा समेत देखिएकोले यो विषयको मुल समस्या पहिचान गरी  समस्या निर्मुल गर्न नेपालको शिक्षा नीतिमा नै परिमार्जन गर्नुपर्ने हो कि भन्ने मेरो बुझाई रहेको छ । 

विद्यार्थीलाई स्वदेशमा नै उच्च शिक्षा अध्ययन, अनुसन्धान र उद्यमशिलता विकासमा प्रोत्साहन गर्न आजको विश्‍वव्यापिकरणको युगमा निकै चुनौतिपूर्ण रहेको छ । उच्‍च शिक्षाको क्षेत्रमा देखिएका विभिन्‍न समस्याहरु यथासमायमानै समाधान गर्न सकियो भने उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु विदेशिनु पर्ने बाध्यतालाई पक्कै कम गर्न सकिन्छ । यसका लागि विद्यार्थीहरुले अध्ययन गर्न चाहेको विषयहरुमा गुणस्तरीय शिक्षा प्रदान गरी नेपालको समग्र विकासका लागि आवश्यक जनशक्ति उत्पादनमा विश्‍वविद्यालय प्रयासरत रहनु पर्ने हुन्छ ।

संयुक्त राष्‍ट्र संघले मार्गदर्शन गरेको दिगो विकासको लक्ष्यलाई २०३० सम्म हाँसिल गर्नका लागि विश्‍वविद्यालयका लक्ष्य, कार्यक्रम र कार्ययोजनालाई तीनै लक्ष्यसँग आवद्ध गर्नु पर्ने हुन्छ । अन्तर्राष्‍ट्रियस्तरको उच्चशिक्षा एवं प्रतिष्पर्धि विद्यार्थी उत्पादन गर्न सक्दा दिगो विकासका लक्ष्य पुरा गर्न सकिने छ ।

अन्तमा, आज दिक्षित भएका विद्यार्थीहरुलाई पुन: एक पटक बधाई दिँदै विशिष्‍टिकृत यस विश्वविद्यालयको बृहत्तर विकास र श्रीवृद्धिका लागि यस विश्‍वविद्यालयको कुलपतिको हैसियतले म निरन्तर लाग्‍ने छु ।

धन्यवाद !