• १५ चैत २०८०, बिहिबार

मापदण्ड विपरीत सञ्चालित कोहलपुरको बधशाला बन्द

blog

बधशालाको अनुगमन गर्न गएको टोलीले कागज पत्र हेर्दै । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, चैत १६ गते । 
कोहलपुर नगरपालिका –४ बेलनपुरस्थित वधशालालाई तत्कालका लागि बन्द गरिएको छ । कोहलपुर नगरपालिकाको आन्तरिक प्रहरी प्रमुख वीरबहादुर थापाले सो वधशाला मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएपछि पशुबद्ध गर्न रोक लगाएर बन्द गरिएको जानकारी दिनुभयो ।

प्रहरी प्रमुख थापाले कोहलपुर नगरपालिकाको अगुवाइमा भएको अनुगमनमा स्थानीय नसिव इद्रिसीले अनुमति नलिएरै राँगा भैँसी काट्ने गरेको र अर्का एक जनाले अनुमति लिए पनि मापदण्डको पालना नगरेको पाइएपछि वधशाला तत्कालका लागि बन्द गरिएको बताउनुभयो ।

कोहलपुर नगरपालिका–४ का वडा अध्यक्ष मुबारक अलि गुल्जार, नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख वीरबहादुर विक, पशु शाखा प्रमुख गोविन्द रोकाय, इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक महेश आचार्य, कुखुरा विकास फर्म खजुराका प्रमुख डा. शङ्कर न्यौपानेलगायतको टोलीले वधशालाको अनुगमन गरेको हो ।

स्थानीयवासीले पनि सो वधशालाबारे स्थानीय सरकारलाई गुनासो गर्दै आएका थिए । राँगाभैँसी काट्ने ठाउँको उचित सरसफाइ नगरेको, त्यहाँबाट निस्कने फोहोर व्यवस्थापन नगरेको, कतिपय फोहोर नालामा मिसाउने गरेको लगायतको गुनासो स्थानीयको छ ।

अनुगमन समितिका सदस्य डा. शङ्कर न्यौपानेले पशु स्वास्थ्य तथा पशु ऐन २०५५, वातावरण संरक्षण ऐन ०७६, पशु वधशाला र मासु जाँच ऐन २०५५ को मापदण्डमा रहेर मात्रै पशु वधशाला सञ्चालन गर्न दिने निर्णय भएको बताउनुभयो ।