• ११ असोज २०८१, शुक्रबार

मेयर्स कप : एपीएफलाई ह्याट्रिक उपाधि

blog

सतकीय साझेदारी गर्न सफल सीता रानामगर र इन्दु बर्मा । तस्बिर : क्यान

काठमाडौं, चैत १६ गते । ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको फाइनल खेलमा एपीएफले कोशी प्रदेशलाई ५४ रनले हरायो ।

एपीएफले लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गरेको हो । जितको लागि एक सय ५५ रनको विशाल लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय रनमात्र बनाउन सक्यो ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले ३५ रन बनाउनुभयो । लकिता राजवंशीले अविजित २१ र अप्सरी बेगमले १० रन जोड्नुभयो । बलिङमा एपीएफकी बिनु बुढाले दुई विकेट लिनुभयो । सोनु खड्का, रेखा रावल र नेरी थापाले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा एक विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो । एपीएफका लागि ओपनर तथा कप्तान सीता रानामगरले सर्वाधिक ७९ रन बनाउनुभयो ।

उहाँले ६८ नौ चौका र दुई छक्काको सहयोगमा अर्धशतकीय रन जोड्नु भएको हो । इन्दु बर्माले पनि ५१ रनको अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ४१ बलमा उक्त रन जोड्नु भएको हो । सीता र इन्दुले दोस्रो विकेटका लागिथ एक सय ३६ रनको साझेदारी गर्नुभएको थियो । 

बलिङमा कोशीका अलिसा खडियाले एक विकेट झार्नुभयो । एपीएफले अपराजित रहँदै उपाधि उचालेको हो । समूह चरणको खेलमा पनि एपीएफले कोशीलाई सात विकेटले हराएको थियो । 

प्रतियोगितामा एपीएफकी सीताराना मगर सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । कोशीकी कप्तान रुविना क्षेत्री उत्कृष्ट ब्याटर र निशा शाह उत्कृष्ट बलर घोषित हुनुभयो ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कोसी प्रदेश, एपीएफ क्लब, मधेश प्रदेश र आयोजक ललितपुर मेयर–११ गरी पाँच टोलीको सहभागिता रहेको थियो ।