• १५ वैशाख २०८१, शनिबार

तीन स्रष्टालाई वासुशशि सम्मान

blog

काठमाडौँ, चैत १६ गते । वासुशशि स्मृति परिषद्ले तीन सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वरिष्ठ कवि एवं नाटककार वासुशशिको ८७औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले साहित्यकार हिरण्य भोजपुरेलाई ‘वासुशशि साहित्य सम्मान’ प्रदान गर्नुभयो । यसैगरी कवि श्यामललाई २५ हजार नगदसहितको ‘वासुशशि साहित्य पुरस्कार’ र ‘वासुशशिका नाटकमा नाट्यतत्व’ शीर्षकमा विद्यावारिधि गर्नुभएका अनुसन्धानकर्ता डा. गोपीकृष्ण खतिवडालाई २१ हजार नगदसहित ‘वासुशशि शोध पुरस्कार’ प्रदान गरिएको हो । वरिष्ठ कवि दिवसले समाजसेवी तथा साहित्यकार रमेश रेग्मीको कथासङ्ग्रह ‘मेरो छोरा फर्किनै पर्छ’को लोकार्पण गर्नुभएको थियो । दिवसले वासुशशि एक असल स्रष्टा भएको र असल स्रष्टाको नामसँग जोडिएको सम्मान तथा पुरस्कार प्राप्त गर्ने स्रष्टालाई लेखनमा ऊर्जा प्राप्त हुने बताउनुभयो । परिषद्का अध्यक्ष गणेश रसिक र सम्मानित स्रष्टा हिरण्य भोजपुरे, श्यामल र डा. खतिवडाले आआफ्ना मन्तव्य राख्नुभएको थियो ।