• १६ चैत २०८०, शुक्रबार

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आकर्षण

वैदेशिक रोजगारीमा जानेको उत्साहजनक सहभागिता

blog

काठमाडौँ, चैत १६ गते ।  वैदेशिक रोजगारीमा जाने तयारी रहेका र विदेशमा स्वरोजगारमा रहेका श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेको सङ्ख्यामा उच्च वृद्धि भएको छ । सामाजिक सुरक्षा कोषले औपचारिक रूपमा सुरु गरेको एक सातामै १५ हजार ६८५ जना श्रमिक आबद्ध भएका हुन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कोषले गत बुधबार मात्रै औपचारिक कार्यक्रममार्फत वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, विदेशमा रोजगार र स्वरोजगार रहेका श्रमिकलाई कोषको योजनामा जोड्न थालेको थियो । 

श्रम मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष एकनारायण अर्यालले यो योजनामा आबद्ध हुने युवाको उत्साह र आकर्षण अत्यधिक रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा जाने श्रमिक कोषमा आबद्ध हुन देखाएको उत्साहले स्वदेशमै अनौपचारिक क्षेत्रमा काम गर्ने र विभिन्न क्षेत्रमा स्वरोजगार रहेका व्यक्तिमा उत्साह थपिएको बताउनुभयो ।  

कोषमा आबद्ध हुनेमा अधिकांश वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका बढी छन् । कोषका सहप्रवक्ता रोहित रेग्मीले श्रम स्वीकृति लिने क्रममा नै सामाजिक सुरक्षा कोषमा जोडिन अनिवार्य गरेका कारण पनि यसप्रति आकर्षण बढेको बताउनुभयो । 

श्रम स्वीकृति लिनुपूर्व नै कोषमा अनिवार्य आबद्ध हुनुपर्ने बाध्यात्मक व्यवस्थाले विदेश जाने सोच बनाएका सबै कोषमा आबद्ध भएको र यसलाई निरन्तरतामा भने उहाँले धेरै चुनौती देख्नुभएको छ । सहप्रवक्ता रेग्मीले यसमा त विदेशमा काम गरेका र स्वरोजगार भएकालाई बढी आकर्षण गर्न सक्नुपर्छ र हाम्रो जोड पनि यसैमा छ भन्नुभयो । 

श्रम स्वीकृति लिँदा नै सामाजिक सुरक्षा नम्बर

कार्यविधि कार्यान्वयनमा आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकले सरकारबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिँदा नै कोषमा सूचीकृत हुनपर्ने व्यवस्था छ । श्रम स्वीकृति लिँदा सामाजिक सुरक्षा नम्बर पनि आवश्यक पर्ने गरी मन्त्रालय र विभागसँग समन्वय गर्ने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिनुभयो । 

जम्मा गर्नुपर्ने रकम र पाइने सेवासुविधा

कोषमा आबद्ध भएपछि वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेकाले नेपाल सरकारले औद्योगिक क्षेत्रका श्रमिकका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१ दशमलव ३३ प्रतिशत अर्थात् न्यूनतम दुई हजार दुई रुपियाँ र बढीमा यसको तीन गुणा बढीसम्म रकम जम्मा गर्न सक्नेछन् । 

जम्मा गरेको रकममध्ये ७ दशमलव ४८ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा र वृद्ध अवस्था सुरक्षा योजनामा १३ दशमलव ८५ प्रतिशत जाने कोषले जनाएको छ । कोषमा योगदान गर्नुपर्ने छ महिनाभन्दा बढी अवधिको रकम अग्रिम रूपमा जम्मा गर्नेलाई १० प्रतिशतसम्म छुट दिने कोषले जनाएको छ । यस्तै विदेशमा आफूले कमाएको रकममा आफ्नो खर्च कटाई ७० प्रतिशतसम्म बैङ्किङ माध्यमबाट पठाएको प्रमाण पेस गरेमा भने वृद्ध अवस्था सुरक्षा योजनाबाहेकका योजनामा जम्मा गर्नुपर्ने रकममा २० प्रतिशतसम्म छुट पाइनेछ । 

कोषमा आबद्ध भएर रकम योगदान गर्न थालेपछि वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका नेपाली नागरिकले तीन किसिमका सेवा प्राप्त गर्नेछन् । कोषका अनुसार दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी तीन किसिमको सामाजिक सुरक्षा योजना सञ्चालन हुनेछन् । 

अशक्तताबापतको सुविधा

वैदेशिक रोजगारीमा रहेका श्रमिक वा विदेशमा स्वरोजगारमा रहेकाहरूले कोषमा आबद्ध भएपछि दुर्घटना भएमा दुर्घटनाबापतको सुविधा र दुर्घटनाबाट अशक्तता भएमा अशक्तताबापतको सुविधा यस योजनाअन्तर्गत पाउनेछन् । दुर्घटनामा परेर अस्पताल भर्ना भई उपचार गराउँदाको अवस्थामा एक लाख रुपियाँसम्मको उपचार खर्च योगदानकर्तालाई कोषले दिनेछ । 

अस्थायी पूर्ण असक्षमता भएर काममा फर्कन सक्ने अवस्था नभएसम्म न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रूपमा पाइन्छ भने दुर्घटनामा परेर कामै गर्न नसक्ने गरी असक्षम भएमा न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक असक्षमताको प्रतिशतको आधारमा जीवनभर पाइन्छ भने पूर्ण रूपमा असक्षम भएमा न्यूनतम पारिश्रमिकको ६० प्रतिशत रकम बराबरले हुन आउने रकम योगदानकर्ताले जीवनभर पेन्सनका रूपमा प्राप्त गर्नेछन् । 

आश्रित परिवार सुरक्षा योजना 

यस योजनाअन्तर्गत पति वा पत्नीले पेन्सन, छोराछोरीले शैक्षिक वृत्ति, अन्तिम संस्कार खर्च उपलब्ध हुन्छ । जुनसुकै कारणबाट योगदानकर्ताको मृत्यु भए पनि उसको पति वा पत्नीले उसको न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले जीवनभर पेन्सन पाउनेछन् भने १८ वर्षको उमेर पूरा नभएका छोराछोरीले उमेर पूरा नभएसम्म शैक्षिक वृत्तिबापत न्यूनतम तलबको ४० प्रतिशत रकम मासिक रूपमा पाउनेछन् । 

योगदानकर्ताको पति वा पत्नी नभएको तर आश्रित बुवाआमा भएमा बुवाआमालाई नै न्यूनतम पारिश्रमिकको ४० प्रतिशत रकम पेन्सनका रूपमा जीवनभर पाउने व्यवस्था कार्यविधिले गरेको छ ।  

कोषका अनुसार हाल कोषको योजनामा १७ हजार ७६५ रोजगारदाता र चार लाख ४६ हजार ९५० योगदानकर्ता आबद्ध भइसकेका छन् । कोषमा हालसम्म ३३ अर्ब ५५ करोड रुपियाँ योगदान रकम सङ्कलन भइसकेको छ ।