कपिल ज्ञवाली
सिद्धार्थनगर, चैत १५ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा भोलि बिहीबारदेखि दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुदैछ । नेपाल पत्रकार महासंघले आफ्नो ६८ औँ स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते दुई दिने मिडिया सम्मेलन गर्न लागेको हो ।
बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विपुल पोखरेलले सम्मेलनमा सदस्यता शुद्धीकरण, मुलुकमा देखिएको आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनका विषयमा बृहत बहस र छलफल गरिने जानकारी दिनुभयो ।
सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र रिसर्चरहरू समेत सहभागी हुने बताइएको छ । सम्मेलनमा देशभरीबाट २५० जना पत्रकार सहभागी हुनेछन् । सम्मेलनको सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले उदघाटन गर्ने कार्यक्रम तय भएको महासंघले जनाएको छ ।
१६ गते महासंघले स्थापना दिवसमा उपत्यका बाहिर पश्चिम नवलपरासीमा प्रभातफेरी गर्ने कार्यक्रम छ । परासीमै महासंघको आठौं बैठक र साँझ लुम्बिनीमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम समेत राखिएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिनुभयो । सम्मेलनको तयारीका सबै काम सकिएको र लुम्बिनीको सन्देश देशभरका पत्रकारलाई दिनेगरी तयारी गरिएको आयोजकको भनाइ छ ।