• १६ चैत २०८०, शुक्रबार

हत्याको आरोपमा आठ पक्राउ

blog

होमराज रानाभाट

कावासोती, चैत १५ गते । सात दिनअघि एक महिलालाई कुटपिट गरी हत्या गरेको आरोपमा  देवचुली नगरपालिकाकी महिला वडा सदस्यसहित आठ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

अघिल्लो बुधबार राति बुगिंटार गाउँपालिका २ घर भई हाल देवचुली नगरपालिका १ केउरेनीमा बसोबास गर्दैआएकी ३३ वर्षीया तोलमाया बाचे मगरलाई छिमेकीले झगडा गरेको निहुँमा कुटपिट गरेका थिए । कुटपिट गरेको भोलिपल्ट गत बिहीबार राति उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

तोलमया र छिमेकी धनबहादुर नेपाली बुधबार राति तोलमायाकै घरमा सुतेको अवस्थामा छिमेकीले फेला पारेका थिए । धनबहादुरकी श्रीमतीले तोलमाया र आफ्ना श्रीमान् एउटै ओछ्यानमा सुतेको देखेको बताएपछि गाउँलेले तोलमायालाई कुटपिट गरेको स्थानीयको भनाइ छ ।

मृतकका छोराले गाउँलेले कुटपिट गरेर आफ्नी आमालाई मारेको बयान दिएपछि घटना गम्भीर बनेको भन्दै प्रहरीले अनुसन्धान थालेको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो । जिल्ला प्रहरी उपरीक्षक सतवारीका अनुसार मृतकका श्रीमान् नरबहादुर बाचे मगरले गाउँले मिलेर आफ्नी श्रीमतीको हत्या गरेको भन्दै किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले आठ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा धनबहादुर पनि रहेका छन् ।

लोग्ने घरमा नभएको अवस्थामा धनबहादुर र तोलमाया नजिकिएको छिमेकीले बताएका छन् । वडा सदस्य सुकमाया सार्की समेतको प्रत्यक्ष संलग्नतामा गत बुधबार राति नै कुटपिट गरेको खुलेको प्रहरीको भनाइ छ । धनबहादुर र तोलमायालाई छिमेकीले पटक–पटक एकैसाथ भेटेपछि यसअघि पनि गाउँमा छलफल भएको स्थानीयको भनाइ छ । 

प्रहरीले आज पक्राउ गरेकालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा वडा सदस्य सुकमाया सार्की, उमा नेपाली, सुजन नेपाली, देवबहादुर बसेल सार्की, दीपककुमार नेपाली, सुशील नेपाली, सोममाया बसेल नेपाली छन् ।