• २० वैशाख २०८१, बिहिबार

चैते धानप्रति आकर्षण बढे पनि समयमा आउँदैन अनुदान

blog

विष्णुपुर गाउँपालिका – ७ स्थित आफ्नो खेतमा चैते धानको व्याड रोप्दै महिला । तस्बिरः ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी), चैत १५ गते । सप्तरीमा चैते धान लगाउने किसान र जग्गाको क्षेत्रफलमा वृद्धि भए पनि सरकारले प्रदान गरिने अनुदानको रकम भने समयमा किसानसम्म नपुगेको किसानको गुनासो छ । 

सप्तरीमा हाल दुई सय २० हेक्टरमा चैते धानको खेती हुँदैआएको छ । यो धान ४.७७ मेट्रिक टन प्रतिहेक्टर उत्पादन हुन्छ । गत वर्ष योभन्दा थोरै क्षेत्रफलमा एक हजार ५० मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । 

सरकारले चैते धान खेती, बेमौसमी तरकारीलगायतका अन्य खेतीमा विभिन्न प्रकारका अनुदानहरू दिँदैआएको सुनेर पोहोर–परार पाँच कट्ठा मात्रै चैते धान रोप्ने गरेको थियो । “सरकारको अनुदान आउँछ भनेर सुनेको थिएँ, त्यही सुनेर गाउँपालिकामा कति दिन धाएँ, सरकारले बीउ नपठाएपछि फर्केरआएको विष्णुपुर गाउँपालिकाका कृषक रामशुभक ठाकुरले बताउनुभयो । 

कृषिमा बढ्दो प्रविधि आधुनिकीकरण र सरकारको अनुदान तथा सिँचाइ सुविधा बढेपछि कृषि शिक्षासँगै चैते धान उत्पादनतिर किसानको आकर्षण बढेको कृषिविज्ञ भगवान् ठाकुरले बताउनुभयो । 

चैते धान उत्पादनमा प्रदेश तथा स्थानीय सरकारबाट केही लगानी नरहे पनि सङ्घीय सरकारबाट थोरै मात्रामा अनुदान आएको बताइएको छ । बीउ वितरणको अनुदान समयभन्दा धेरै ढिलो आएकाले हामी जिल्लाको छिन्नमस्ता बोदेबर्साईन र रुपनीमा केही  कृषकलाई बीउ वितरण गरे पनि अन्य रकम भने मौज्दात रहेको र त्यसलाई चैते धानको सिँचाइमा सदुपयोग गर्ने कृषि ज्ञानकेन्द्र सप्तरीका कार्यालय प्रमुख राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

सप्तरीको दक्षिणी भेगका किसानहरू चैते धानको खेतीतर्फ आकर्षित हुँदैगएका छन् । मङ्सिरमा सिजनल धान काटेसँगै उहाँहरू माघ लाग्नेवित्तिकै चैते धानको बीउ छर्ने र खेत तयार गर्ने काम सुरु गरिहाल्छन् । फागु पूर्णिमा सकेलगत्तै ब्याड तयार भइसकेको चैते धान रोप्ने चटारो देखिएको छ ।

जिल्लाको दक्षिणी भेग तिलाठी कोइलाडी, छिन्नमस्ता, विष्णुपुर, डाक्नेश्वरी, बोदेबर्साईन भेगका किसानहरू बढी मात्रामा चैते धानको खेती हुनेगरेको छ । चैते धान उत्पादनको एरिया बढेसँगै जिल्लाको रुपनी, अग्निसाइर कृष्णासवरन, शम्भुनाथलगायतको पालिकाका किसानले चैते धान लगाउन थालेको रुपनी गाउँपालिकाका कृषक बलराम यादवले बताउनुभयो । 

मौसमी धानले वर्षभरि खान पुग्छ भने किसानलाई पैसाको चटारो भएको बेला चैते धान उत्पादन भएपछि त्यही बेचेर असारे खेतीमा लगानी गर्न सहज हुँदैआएको स्थानीय दुर्गादेवी मण्डलले बताउनुभयो । कुनै रोग किराको प्रकोप भएन र समयमा सिँचाइ भयो भन्ने यो वर्ष उत्पादन बढ्ने अनुमान ज्ञान केन्द्रले गरेको छ । मौसमी धानको तुलनामा दोब्बर परिमाणमा उत्पादन हुने चैते धानलाई नगदे वालीको रूपमा लिइने गरेको कृषि ज्ञान केन्द्र सप्तरीका कार्यालय प्रमुख राजेन्द्रप्रसाद यादवले बताउनुभयो ।