• १३ मंसिर २०८१, बिहिबार

ऐतिहासिक पुरातात्त्विक क्षेत्र पण्डितपुरको संरक्षण हुन सकेन

blog

नवलपरासीको पंडिपुरमा पुरातत्व विभागद्वारा ८ वर्ष पहिला गरेको उत्खननमा फेला परेका प्राचिन बस्तुहरु । तस्बिर : गोपी ज्ञवाली ।

गोपी ज्ञवाली ।
नवलपरासी, चैत १५ गते ।
 गौतम बुद्धको मावलीस्थल कोलिय राज्यको राजधानी रहेको पश्चिम नवलपरासीको पण्डितपुर क्षेत्रको संरक्षण हुन नसक्दा ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वको क्षेत्र अतिक्रमण हुने क्रम बढ्दै गएको छ ।

नवलपरासी रामग्राम नगरपालिका–१४ स्थित प्राचीन कोलिय राज्यको राजधानी (हालको पण्डितपुर) क्षेत्रमा पुरातात्त्विक एवम् ऐतिहासिक महत्त्वका बस्तुहरू प्राप्त भएका पुरातात्त्विक स्थानहरूको अतिक्रमण गर्दै कङ्क्रिटका भवन बनाउने क्रम बढ्दै गएको भए पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको नवलपरासी नागरिक समाजका अध्यक्ष शम्भु उपाध्यायको भनाइ छ ।

वि.सं. २०५९ देखि अध्ययन सुरु गरिएको पण्डितपुर उत्खननको काम २०७१ सम्म आउँदा विभिन्न चरणमा गरिएको उत्खननले पण्डितपुर प्राचीन कोलिय राज्यको राजधानी भएको प्रमाणित भई सकेको पण्डितपुर उत्खननमा नेतृत्व गर्नु भएका पुरातत्त्व विभागका अधिकृत भाष्कर ज्ञवालीले बताउनु भएको छ ।

उत्खननले पण्डितपुर क्षेत्र ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वको रहेको प्रमाणित गरे पनि सम्बन्धित निकायले पुरातात्त्विक महत्त्वको क्षेत्रको भित्र पर्ने जग्गामा स्थानीयले भटाभट पक्की घर बनाउने क्रम नरोकिए पछि ऐतिहासिक महत्त्वको क्षेत्र अतिक्रमित हुँदै गएको छ ।

पुरातात्त्विक एवम् ऐतिहासिक महत्त्वको क्षेत्रमा भई रहेको अतिक्रमण रोकनका लागि पुरातात्त्विक उत्खनन गरिएको क्षेत्रको वरिपरिको करिब ४० बिगाहा क्षेत्रफलको जमिन पुरातत्त्व विभागले अधिग्रहण गर्नु पर्ने आवश्यकता रहेको पुरातत्त्व विभागका प्रवक्ता राम बहादुर कुँवरले बताउनु भएको छ ।

पुरातात्त्विक महत्त्वको बारेमा पहिलो पटक २०५९ मा उत्खनन गरिएपछि यो क्षेत्रमा प्राचीन कालिन महत्त्वका बस्तु रहेको पाइएको भए पनि सम्बन्धित निकायले ध्यान नदिँदा ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वको क्षेत्र अतिक्रमित बन्दै गएको र पुरातात्त्विक महत्त्वका बस्तु एवम् संरचनाहरू लोपहुने खतरा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुहुन्छ पण्डितपुरका स्थानीयवासी नारद प्रसाद यादव  ।

यी पुरातात्त्विक महत्त्वको क्षेत्रका कतिपय स्थानहरूमा स्थानीयवासीहरुको बस्ती, खेती गर्ने जमिन रहेको हुँदा स्थानीयहरूले पुरातात्त्विक महत्त्वको स्थानहरूमा समेत घर, सार्वजनिक भवन, माछा पालनका लागि पोखरी, इनार लगायतका भौतिक निर्माण कार्य गरिरहेका छन् । गाउँलेहरूले सो स्थानमा पोखरी, इनार, घर बनाउन जग खन्दा समेत अनेक पटक पुरातात्त्विक महत्त्वका प्रागैतिहासिक कालका माटाका भाडा, चुरा लगायत अनेक बस्तुहरू भेटिएको स्थानीयवासी यादवको भनाइ रहेको छ ।