• १६ चैत २०८०, शुक्रबार

‘योजनाको प्राथमिकीकरण गरेर काम गर्नुपर्छ’

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, चैत १५ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले थोरै बजेट र टुक्रे योजना निरुत्साही गर्ने प्रयास गरेको बताउनुभएको छ। मङ्गलबार बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले साना र टुक्रे योजनामा बजेट विनियोजन गरेको भनी प्रदेश सरकार आलोचित बन्दै आएको बताउनुभयो। 

“प्रदेश सरकारले पाँच लाख, दस लाख रुपियाँका योजनामा बजेट विनियोजन ग¥यो भनेर आलोचित बन्न पुगेको छ, पहिलो पटक प्रदेश सभामा सहभागी हुँदा मैले ५० लाख कमका योजना नराखौँ भनेर आवाज उठाएँ तर विविध कारणले त्यसलाई कार्यान्वयन गर्न सकिएन,” मुख्यमन्त्रीले थप्नुभयो। उहाँले साना तथा टुक्रे योजनालाई स्थानीय सरकारमार्फत सञ्चालन गर्न प्रदेश सरकारले पहल गर्ने बताउनुभयो। 

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले नयाँ ढङ्गबाट काम गर्न खोजेको बताउँदै त्यसका लागि प्रदेश र स्थानीय सरकारले कार्यक्रमको प्राथमिकीकरण गरी जनताका आवश्यकता पूरा गर्नुपर्ने बताउनुभयो। उहाँले नागरिकको पहिलो आवश्यकताका रूपमा खानेपानी तथा सरसफाइ मुख्य रहेको बताउँदै स्थानीय तहले पहिलो वर्षमा खानेपानी तथा सरसफाइ, दोस्रो वर्षमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको क्षेत्रमा बजेट विनियोजन गर्न सुझाव दिनुभयो। 

उहाँले प्रदेश सरकारमा माग भई आउने योजनामा ९५ प्रतिशत योजना सडकका लागि बजेट माग गर्दै आउने गरेको बताउनुभयो। कार्यक्रममा प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादे श्रेष्ठले जिल्लाको विकासका लागि आफ्नो तर्फबाट प्रयास हुने बताउनुभयो। कार्यक्रममा जिल्ला समन्वय प्रमुख दीपक गौतम, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल र मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले जिल्ला विकासका लागि सहयोग गर्न तत्पर रहेको बताउनुभयो। 

कार्यक्रममा बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले बनेपाबाट जिल्लाको पर्यटकीय क्षेत्र नगरकोट जाने सडक स्तरोन्तिका लागि प्रदेश सरकारसमक्ष आग्रह गर्नुभयो। स्थापना दिवसका अवसरमा नगरपालिकाका लामो समयसम्म सेवा गर्नुभएका कर्मचारी, सेवा निवृत्त हुने शिक्षकलाई सम्मान गरिएको थियो।