बस्थ्यौँ रम्मिँदै अहा प्रियतमा ! स्वर्गै थियो झोपडी ।
उम्दा सुन्दर स्वच्छ वायुजलले, ताजा थिए खोपडी ।।
नाच्दै थोपल आँखुका जल पिई, बाला र घोगा झुले ।
पाखा शैल सिँगार्न चम्चम हुँदै, चम्पा जुएली फुले ।।
त्यस्तो सुन्दर गाउँ छोड्न पुगियो, आएँ विदेशी धरा ।
साहु ती छविलालका ऋण तिरी, चोख्खिन्छ पाखा गह्रा–
भन्दै, दूर विदेशमा श्रम गरी, बित्दैछ मेरा दिन ।
तातो त्रूmर हवा चलेर मुटुनै, मूर्छा भयो छिन्छिन ।।
भाषा संस्कृति भिन्न पद्धति यहाँ, कामै छ साह्रै कडा ।
धम्की खप्की पिएर बस्दिनँ प्रिया, आफ्नै धरित्री बडा !!
मीठा छन् मधुमासका पिकगला, झर्ना बनेली मुना ।
मेरो हृत्तल बोल्छ हे प्रियतमा ! हुन् अश्म माटो टुना ।।
बाआमा पनि रूग्ण वृद्ध घरमा, छोरा सुता भाइ छन्।
राखी धैर्य विचार साहस लिनू, श्रीकृष्ण यै भन्दछन् ।।
खेती गर्न तिमी असक्षम भए, खोज्नू बटैया जन ।
प्यारी ढुक्क भए म आउँछु छिटै, होस् शान्त तिम्रो मन ।।
तर्कारी कुखुरा अजाअज तथा थालेर गोपालन ।
नौलो आर्थिक क्रान्ति ल्याउँछु सखा, धन्दा नमानीकन ।।
आफ्नै जाँगर सीप स्वेद बहँदा, खुल्छन् उज्याला दिन ।
आफ्नै देश बसेर पौरख गरौँ, नेपाल होस् कञ्चन ।।