काठमाडौं, चैत १३ गते। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताउनुभएको छ।
सोमबार नेत्रज्योति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो काममा लागि योगदान पुर्याउने नेपाल नेत्रज्योति सङ्घ, चिकित्सकलगायतका सम्बन्धित सबै पक्षप्रति आभार पनि व्यक्त गर्नुभयो।
उहाँले सङ्घीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रूपमा विकास गर्न नेपाल नेत्रज्योति सङ्घलाई आग्रह गर्नुभयो।
सङ्घले नेपालको दूरदराजमा पुगेर अन्धोपना हुनबाट जोगाउन खेलेको भूमिकाको प्रशंसा आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपालमा आँखा उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो।
सभामुख घिमिरेले भन्नुभयो, ‘‘नेपाल नेत्रज्योति सङ्घले अब केन्द्रीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर नेपाल आँखा उपचारको एउटा पर्यटन गन्तव्यको रूपबाट यसलाई विकास गर्ने लक्ष्य राखेको मैले थाहा पाएको छु। नेत्रज्योति सङ्घले गरेको इमान्दार प्रयत्न र यसले अन्धोपनलाई हटाएर उज्यालो छाउनका लागि गरेको योगदानप्रति विश्वास बढेको छ। यसले यो क्षेत्रमा मुलुकले प्रगति गर्दै गइरहेको छ। यो क्षेत्रमा धेरै ठूलो योगदान गरेका धेरै विशिष्ट व्यक्ति हुनुहुन्छ। मेरो ठाउँबाट सक्ने सहयोग गर्न म जहिले पनि तयार छु।’
सभामुख घिमिरेले गरिब जनताको घरदैलोमा पुगेर आँखाको उपचार गर्ने लक्ष्य प्राप्तिमा नेत्रज्योति सङ्घलाई सफलता मिलोस् भन्ने कामनासमेत गर्नुभयो। कार्यक्रममा आँखा उपचारको क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान गरिएको छ।