• १३ असोज २०८१, आइतबार

संवैधानिक परिषद् विधेयकमा संशोधन पेस गर्न ७२ घण्टाको समय

blog

आइतबारको प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा ।

काठमाडौं, चैत १२ गते। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयक पेस भएको छ। आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको हो। 

विधेयक सदनमा पेस भएपछि प्रतिनिधि सभाका सदस्यले उठाएका प्रश्नको जवाफ सञ्चारमन्त्री शर्माले दिनुभएको थियो। त्यसपछि सभामुखले विधेयक दफावार छलफलका लागि सदनमा निर्माणार्थ प्रस्तुत गर्नुभयो। उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावलाई सदनले छलफलका लागि पारित गरे लगत्तै सभामुख देवराज घिमिरेले संशोधन प्रस्ताव पेस गर्न सांसदलाई ७२ घण्टाको समय दिनुभएको हो। 

त्यसैगरी, प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ। बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो।

बैठकमा दुवै विधेयकमाथि सांसदले आफ्नो आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक चैत्र १५ गते दिउँसो १ बजे बस्नेछ।