• १६ चैत २०८०, शुक्रबार

गोल्डेन गेटले जित्यो प्याट्रियोट्स कप

blog

उपाधिसँगै गोल्डेन गेटका खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत ११ गते । प्याट्रियोट्स अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजले जितेको छ । मूलपानी क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा गोल्डेन गेटले ब्लुबर्ड कलेजलाई २७ रनले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको गोल्डेन गेटले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४८ रन बनायो । गोल्डेन गेटका आशुतोष घिराइयाले सर्वाधिक ६६ रन बनाउनुभयो । तीर्थराज दास र साहिल पाटिल १९/१९ र रवि शाहले १० रन बनाउनुभयो । 

बलिङमा ब्लुबर्ड मेहुल श्रेष्ठ र कौशल रुपाखेतीले दुई दुई तथा सुवास खत्री र विवेक रानामगरले एक एक विकेट लिनुभयो । जितका लागि एक सय ४९ रनको विजयी लक्ष्य पछ्याएको ब्लुबर्ड १८.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय २१ रनमा समेटिएको थियो ।

ब्लुबर्डका लागि दीपक प्रसाद डुम्रेले ३२ रन बनाउनुभयो । सन्दीप शाहले २०, रोनल्म तिवारीले १९ र निर्भीक पाठकले १० रन जोड्नुभयो । बलिङमा गोल्डेन गेटका रवि शाह र आशुतोसले दुई दुई विकेट लिनुभयो ।

उपाधिसँगै गोल्डेन गेटले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता ब्लुबर्डले ५० हजार रुपियाँ पायो । ललितपुर प्याट्रियोट्स प्राइभेट कम्पनीले आयोजनामा गरेको प्रतियोगितामा १२ कलेजको सहभागिता रहेको थियो ।