• १२ मंसिर २०८१, बुधबार

सुपर मादी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान

blog

गण्डकी, चैत ११ गते । कास्कीको मादी गाउँपालिका वडा नं. १ र २ मा निर्मित सुपर मादी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ ।

कूल ४४ मेगावाटको जलविद्युत् आयोजनाको निमार्ण सम्पन्न गरी आन्तरिक परीक्षण भई आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सब-स्टेशनमा जडान गरिएको कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनाको बाँध, सुरुङमार्ग, विद्युत गृहलगायत सम्पूर्ण क्षेत्रको काम सम्पन्न भइसकेको छ । आयोजना निर्माणमा रु आठ अर्ब ७० करोड खर्च भएको अध्यक्ष ढुङ्गानाले बताउनुभयो । वि.सं २०७५ मङ्सिरदेखि निर्माण थालेको बताउँदै उहाँले २०७८ चैतदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखिए पनि कोरोना महामारी तथा २०७८ असार १ मा मादी खोलामा आएको बाढीलगायत कारणले केही समय ढिलो भएको उल्लेख गर्नुभयो ।

सुरुमा रु सात अर्ब ४७ करोड लागत भनिए पनि बाढी प्रकोप, बैङ्कको ब्याजदरमा आएको परिवर्तन, अर्थतन्त्रमा देखिएको तरलतालगायत कारणले उक्त लागत बढ्न गएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार बाढीका कारण रु एक अर्बभन्दा बढी नोक्सानी भएको छ । मुख्य सुरुङको लम्बाइ करिब छ किलोमिटर रहेको र कमजोर भौगोलिक अवस्थाका कारण करिब आठ सय मिटर पेनस्टक पाइप सुरुङभित्र जडान गर्दा करिब २५ करोड लागत थपिएको जनाइएको छ ।

आयोजनाका लागि रु दुई अर्ब १० करोड शेयर पुँजी रहेको छ । बाँकी सानिमा विकास बैङ्कको अगुवाइमा राष्ट्रिय वाणिज्य बैङ्क, कुमारी बैङ्क, कृषि विकास बैङ्क, एभरेष्ट बैङ्क, प्रभु बैङ्क र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको लगानी रहेको अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो ।

वार्षिक २४२ दशमलव ६५ गिगावाट घण्टा बिजुली उत्पादन हुने आयोजनाको सुपर मादी हाइड्रो पावर लिमिटेड प्रवर्द्धक एवम् सिभिल ठेकेदार फेवा कन्स्ट्रक्सन प्रालि, हाइड्रो मेकानिकल ठेकेदार माछापुच्छ्रे मेटल एण्ड मेसिनरी प्रालि र इलेक्ट्रो मेकानिकल ठेकेदार एसिया प्यासिफिक पावर टेक प्रालि र परामर्शदाता सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ कम्पनी रहेका छन् । रासस