धर्बेन्द्र झा
धनुषा, चैत १० गते । नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति अघि बढ्न नसक्ने बताउनुभएको छ । एमाले देशको मियो अर्थात् नेता शक्ति रहेकाले एमालेलाई केन्द्र मानेर राष्ट्रिय राजनीति घुमिरहेको बताउनुभयो ।
एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबार आयोजित धनुषा जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उहाँले यस्तो बताउनुभएको हो । विगतमा एमालेलाई कमजोर पार्न विभिन्न षडयन्त्रहरू भए पनि निर्वाचनपछि एमाले पहिलो शक्तिको रूपमा आएको उहाँले बताउनुभयो ।
पार्टी एकताको बेला माओवादीको जे हैसियत थियो त्योभन्दा बढी हैसियत दिएर पार्टी एकीकरण गरिए पनि माओवादी भित्रको महत्त्वाकाङ्क्षा कारण पार्टी एकता टिक्न नसकेको बताउनुभयो । नेकपा विभाजन पश्चात् फर्किएको एमालेले विधान अधिवेशन र पार्टीको महाधिवेशन सम्पन्न गरेर देशी विदेशी षडयन्त्रलाई विफल पार्न सफल भएको बताउनुभयो । स्वार्थको जगमा बनेको वर्तमान गठबन्धन लामो समयसम्म नटिक्ने उहाँले दाबी गर्नुभयो ।
एमालेले चाहने हो भन्ने यो गठबन्धन कुनै पनि बेला टुट्न सक्ने उहाँले दाबी गर्नुभयो । तर एमालेले अहिले त्यस्तो नगर्ने उहाँको भनाइ छ । एमाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । एमाले उपाध्यक्ष पौडेलले वर्तमान गठबन्धन दह्रो नभएको बताउनुभयो ।
देशको आर्थिक अवस्था चिन्ताजनक रहेको भन्दै अहिलेसम्ममा गत वर्षभन्दा पनि कम राजश्व उठेको उहाँले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा उत्पादन छैन र रोजगारी छैन । त्यसैले पुँजीगत खर्चलाई वृद्धि गरेर देशलाई चलायमान बनाउनुपर्छ ।” एमाले पार्टीलाई शुद्ध र गतिशील बनाउन मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा एमालेका सचिव एवम् मधेश प्रदेशका इन्चार्ज रघुवीर महासेठले यस अभियान अन्तर्गत सङ्गठित सदस्यताको नवीकरण, पार्टी र जनसङ्गठनको निर्माणकार्य पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । एमाले धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा एमालेका नेता लिलानाथ श्रेष्ठ, नेत्री जुली महतो सहितले बोल्नुभएको थियो ।