• ११ मंसिर २०८१, मङ्गलबार

प्रसव फिस्टुलाको उपचारका लागि सरकारले तोक्यो तीन स्वास्थ्य संस्था

blog

काठमाडौं, चैत १० गते । सरकारले प्रसव फिस्टुलाको उपचारका लागि तीनवटा अस्पताल तोकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना निकाल्दै सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, काठमाडौं मोडेल अस्पताल, काठमाडौं र पादेशिक अस्पताल, सुर्खेत गरी तीनवटा अस्पताललाई प्रसव फिस्टुलाको उपचारका केन्द्र तोकेको जनाएको छ ।

प्रसव फिस्टुलाको शल्यक्रिया तालिमप्राप्त चिकित्सकद्वारा निम्न स्वास्थ्य संस्थामा हुने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।

लामो र कठिन प्रसव व्यथाको अवस्थामा दक्ष प्रसूतिकर्मीबाट सही समयमा उपयुक्त सेवा नपाउने प्रसव फिस्टुला हुने चिकित्सक बताउँछन् ।

चिकित्सकका अनुसार प्रसूतिपछि योनिबाट निरन्तर रुपमा पिसाव वा दिसा वा दुवै चुहिने समस्यालाई प्रसव फिस्टुला भनिन्छ ।

प्रसव फिस्टुला शल्यक्रियाबाट मात्र यसको उपचार सम्भव भएकाले यस्तो समस्या देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीसँग सल्लाह र सेवा लिन मन्त्रालयले आग्रह गरेको छ ।

प्रसव फिस्टुलाको उपचार गरी महिलाको सम्मानजनक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।