• ७ जेठ २०८१, सोमबार

वर्षाअघि नै निर्माणको काम सम्पन्न गर्न निर्देशन

blog

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय बुटवलभित्रका मुख्य योजनाहरुको अनुगमन गर्नुहुँदै । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, चैत १० गते । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका मुख्य योजनाहरूको अनुगमन गर्दै वर्षाअघि नै सबै योजनाको काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने सङ्घ, प्रदेश र बुटवल उपमहानगरपालिकाको लगानीमा निर्माणाधीन योजनाको शुक्रबार प्रमुख पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीसहित बुटवल उपमहानगरपालिका टोलीले अनुगमन गरेको थियो ।

बुटवलको गोलपार्कदेखि योगीकुटीसम्मको सडक क्षेत्र, योगीकुटीदेखि कालिकापथ क्षेत्र, योगीकुटीदेखि रानीगञ्जसम्मका सडक, अभियानपथको पर्खाल र निर्माणाधीन योजनाको अनुगमन गर्दै प्रमुख पाण्डेयले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराउनुभयो ।

उहाँले निर्माण सुरु गरेर निर्माण गर्नुपर्ने अवधिभित्र पूरा गर्नेलाई पुरस्कृत गर्ने र समयमा निर्माण पूरा नगर्ने कम्पनीलाई दण्डित गरिने बताउनुभयो । नगरप्रमुख पाण्डेयले बुटवलभित्र निर्माण हुने संरचनाको काम समयमै सम्पन्न गर्न सङ्घ र प्रदेशलाई समेत ताकेता गर्न आग्रह गर्नुभयो । 

समयमा पूरा हुनसक्ने गरी बजेट विनियोजन भएका योजनाहरू समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिस गर्ने बताउनुभयो । यसैबीच बुटवल उपमहानगरपालिकाको टोलीले तिनाउ नदी किनार क्षेत्रको अनुगमन गर्दै नदीजन्य पदार्थको चोरी निकासी रोक्न नियमित अनुगमन गर्न टोली खटाएको छ ।

बुटवलतर्फको नदीकिनार क्षेत्रबाट चोरी निकासी बढेको पाइएको र सीमावर्ती स्थानीय तहमा निर्माण भइरहेका संरचना र निर्माण कम्पनीको समेत निगरानी गर्ने र स्थानीय तहसँग छलफल गरेर नियमनमा ल्याउने बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेयले बताउनुभयो ।

नदीजन्य पदार्थको चोरीनिकासी रोक्ने र आगामी वर्षामा बाढी र कटान रोक्न सुरक्षित बनाउनेगरी काम गर्न योजना महाशाखा र विपद् शाखालाई निर्देशन दिनुभयो । प्रमुख पाण्डेयले नगर प्रहरीसहितको टोलीले नियमितरुपमा निगरानी गर्ने र चोरीनिकासी रोक्न स्थानीयको समेत साथ आवश्यक रहने बताउनुभयो । जिल्ला र नगरको सुरक्षा निकायलाई समेत चोरीनिकासीमा थप संवेदनशील बन्न आग्रह गर्ने बताउनुभयो ।