• १६ चैत २०८०, शुक्रबार

सुदूरपश्चिम डायरी

इतिहास पछ्याउँदै विकासमा अघि बढ्दै

blog

डिलबहादुर सिंह/केशवचन्द्र महरा

एक समय शक्तिशाली राज्यका रूपमा डोटीमा मल्ल राजाले शासन गर्थे । नेपाल एकीकरणपछि पनि राणाकालमा डोटी महत्वपूर्ण गौँडाका रूपमा रहेको थियो । डोटीको सिलगढीको प्रशासनले अछाम, बझाङ, बाजुरा, जुम्ला, दार्चुला र बैतडीसम्मको प्रशासनिक कार्य हेर्ने गथ्र्याे । 

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ तथा दक्षिणमा कैलाली जिल्ला रहेका छन् । दुई हजार २५ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस जिल्लामा ५९ हजार १०१ हेक्टर भूभाग वनजङ्गलले ओगटेको छ । डोटीमा ३० हजार ७११ हेक्टर क्षेत्रफल नदीनालाले ओगटेको छ । यस्तै सात हजार १११ हेक्टर सरकारी तथा गौचरन, सात हजार ७३८ हेक्टर सञ्चित क्षेत्र र २४ हजार ५३८ हेक्टर सिञ्चित क्षेत्रले ओगटेको छ ।

डोटी जिल्ला भौगोलिक, जैविक, सामाजिक, सांस्कृतिक विविधताले भरिपूर्ण छ । समुद्री सतहबाट ३३५ मिटरदेखि तीन हजार २९५ मिटरसम्मको उचाइमा रहेको डोटी जिल्लामा हिमाली, पहाडी एवं तराई क्षेत्रको वातावरण एवं परिवेश प्रस्ट देख्न र अनुभव गर्न सकिन्छ । यहाँ वार्षिक औसत वर्षा एक हजार ३४७ मिलिमिटर हुने गरेको छ । यस जिल्लामा अधिकतम तापक्रम दिपायलमा ४४.३० डिग्री सेन्टिग्रेटदेखि न्यूनतम तापक्रम ०.२ डिग्री सेन्टिग्रेट खप्तड क्षेत्रमा हुने गर्छ । 

प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको छ । डोटीमा दुई नगरपालिका र सातवटा गाउँपालिका छन् । २०७८ सालको जनगणनाअनुसार डोटीको कुल जनसङ्ख्या दुई लाख पाँच हजार ६८३ रहेको छ । महिलाको सङ्ख्या एक लाख १० हजार ६१७ र पुरुषको सङ्ख्या ९५ हजार ६६ रहेको छ । जम्मा परिवार सङ्ख्या ४६ हजार एक सय रहेको छ । सेती नदी, ठूलीगाड, सानीगाड, लुवाखडीगाड, कालागाडजस्ता प्रमुख नदी र खोला रहेको डोटीमा तिनै नदीको आसपास हुँदै केआई सिंह मार्ग, भीमदत्त मार्ग र पहलमानसिंह स्वाँर मार्गले जिल्लाका गाउँबस्तीमा सडक पहुँच स्थापित गरेको छ ।

डोटी जिल्लामा खप्तड लेक, सकार लेक, महाभारत लेक, केदार लेक तथा गोलेदेउ लेकजस्ता उच्च पहाडी सम्पदाका साथै दिपायल, वानेडुग्रीसैन तथा नारीदाङजस्ता प्राकृतिक भूबनोट मिलेका क्षेत्र र नदी, खोला किनारामा समथल खेतीयोग्य जमिन रहेको छ । 

सडकमा जोडिए २० हजार घरधुरी

डोटीको बोगटान फुडसिल, बडीकेदार, केआईसिंह गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र कैलालीको चुरे गाउँपालिकाका २० हजार घरधुरी सडक पहुँचमा जोडिएका छन् । सहजपुर–बोगटान–दिपायल सडक सञ्चालनमा आएसँगै डोटीवासीलाई निकै सहज भएको छ ।

सडक शिलान्यास भएको ३५ वर्षपछि सडककको ट्र्याक खोल्ने काम सकिएर सहजपुर–बोगटान–दिपायल सडक सञ्चालनमा आएको हो । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको आयोजनामा राखेर सडक निर्माण सुरु गरेको थियो ।

सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत भौतिक पूर्वाधार कार्यालय डडेल्धुरा मातहतमा सडक निर्माण कार्य भइरहेको छ । पूर्वाधार विकास कार्यालय, डडेलधुराका कार्यालय प्रमुख नवराज रावलका अनुसार कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिकाको अत्तरकाँडासम्मको ५० किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सङ्घीय सरकारअन्तर्गत भइरहेको छ । 

अत्तरकाँडादेखि दिपायलसम्मको १५५ किलोमिटर सडक निर्माणको काम सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत भइरहेको छ । सडक निर्माणअन्तर्गत दिपायलदेखि रानागाउँसम्मको १० किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । रानागाउँदेखि अगाढी थप १७ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारको प्रतिवेदनअनुसार सहजपुर–बोगटान–दिपायल सडकको १५५ किलोमिटरमा सुदूरपश्चिम प्रदेश सरकारको चार अर्ब १२ करोड लागत अनुमान गरिएको छ । 


सहजपुर–बोगटान–दिपायल सडक सञ्चालनमा आएसँगै डोटीको विकट क्षेत्र सडक सञ्जालमा जोडिएको छ । डोटीको दक्षिणी क्षेत्र बोगटान फुड्सिल गाउँपालिका र बडीकेदार गाउँपालिकाका स्थानीयले जिल्ला सदरमुकाम सिलगढीलगायत तराईका जिल्ला जान पैदल यात्रा गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । 

डोटीको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाका अनुसार सहजपुर–बोगटान–दिपायल सडकअन्तर्गत बोगटान फुड्सिल गाउँपालिका–१, छिडिखानदेखि कैलाली जिल्लाको जोशीपुरसम्म नियमित बस सेवासमेत सञ्चालन भइरहेको छ । उहाँका अनुसार अब डोटीको दक्षिणी क्षेत्र सडक सञ्जालमा जोडिएको छ । सडक सञ्चालनमा आएसँगै स्थानीयलाई यातायातमा सहज भएको छ । यस क्षेत्रको कृषि उत्पादनले बजार पाउन थालेको छ ।

वि.सं. २०३८ देखि निर्माण थालिएको सहजपुर–बोगटान सडकको निर्माण सुरु गरिएको ३५ वर्षपछि ट्र्याक खोलिएको हो । सडक सञ्चालनमा आएसँगै यस क्षेत्रमा उत्पादन हुने कृषि तथा पशुजन्य वस्तु तराईका जिल्ला कैलाली र कञ्चनपुरसम्म बिक्रीका लागि लैजान सहज भएको छ । 

बोगटान फुड्सिल गाउँपालिका–४ की स्थानीय रङ्गा दमाईले भन्नुभयो, “गाउँमा गाडी आउला र फलफूल, साग तरकारी घरबाटै गाडीमा हालेर बिक्रीका लागि लैजाउँला भन्ने सोचेका पनि थिएनौँ । अचेल घरदैलोमै गाडी आउँदा बजारको सामान गाउँमा छ, गाउँको सामान बजारमा छ ।”

उत्पादित बिजुली डोटीमै 

डोटीको बोगटान फुड्सिल गाउँपालिका–२, केदारअखाडामा सौर्य ऊर्जा मिनी ग्रिड प्रणाली स्थापना गरेर ३२ किलोवाट क्षमताको विद्युत् उत्पादन गरिएको छ । सौर्य ऊर्जा (सोलार) मिनी ग्रिड निर्माण उपभोक्ता समितिका सचिव पारस बोहराका अनुसार उत्पादित विद्युत्बाट बोगटान फुड्सिल गाउँपालिका–२, गराँजु गाउँका १३० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । उत्पादित विद्युत्बाट स्थानीय विद्यालयमा कम्प्युटर, प्रिन्ट, फोटोकपी र समुदायस्तरमा कुटानी–पिसानी मिल सञ्चालनमा आएका छन् । 

सौर्य ऊर्जाबाट विद्युुत् उत्पादन भएपश्चात् गाउँपालिकाको सहयोगमा स्थानीय महिला समूहमार्फत कुटानी–पिसानी मिलसमेत स्थापना भएको छ । मिल सञ्चालनमा आएसँगै कुटानी–पिसानीमा सहज भएको छ । विद्युत् उपयोग गरेबापत स्थानीयले प्रतिघरधुरी मासिक १५० रुपियाँ शुल्क तिर्ने नियम बनाइएको छ । स्थानीय रामबहादुर बोहराले भन्नुभयो, “विद्युत्को राष्ट्रिय प्रसारण लाइन आउने निश्चित छैन । स्थानीयस्तरमा उत्पादित विद्युत्ले गाउँ झिलिमिली हुँदा असाध्यै खुसी लागेको छ । उत्पादन भएको विद्युत् उज्यालो बाल्नेबाहेक अन्य काममा पनि उपयोग भएको छ ।” गाउँमा विद्युत् उत्पादन भएसँगै बोगटान फुड्सिल गाउँपालिकास्तरबाट समुदायमा सेवा विस्तार गर्न सहज भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । अध्यक्ष गड्सिलाले भन्नुभयो, “विद्युत् उत्पादन भएसँगै गाउँपालिकाबाट मिल स्थापनामा सहयोग गरिएको छ । अब विद्यालयमा कम्प्युटरलगायत अन्य सुविधा उपलब्ध गराउन पनि हामीलाई सहज भएको छ ।”

बढ्दो तरकारी खेती

डोटीमा ४४ हजार ८१२ हेक्टर खेतीयोग्य जमिन छ । २५ हजार पाँच सय हेक्टर जमिन कृषि उपज उत्पादनका लागि प्रयोगमा छ । जिल्लाको ८१ प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित छन् । 

डोटीमा परम्परागत रूपमा मौसमी खेती गर्ने किसान धेरै छन् । यहाँ मुख्यतः धान, गहुँ, कोदोको उत्पादनमा किसानले बढी जोड दिने गरेका छन् । पछिल्लो समय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आधुनिक कृषि प्रणालीमा जोड दिँदै आएको छ । कृषकलाई तालिम, अभिमुखीकरण, अनुदान, पुरस्कार, पकेट क्षेत्र निर्धारण, कृषि नमुना गाउँ, मुख्यमन्त्री कृषि नमुना गाउँजस्ता कार्यक्रम अघि सारेपछि आधुनिक कृषि प्रणालीमा कृषकको आकर्षण बढ्दो छ ।

कृषि ज्ञान केन्द्र डोटीले जिल्लाका अधिकांश कृषकलाई फलफूल, तरकारी एवं बेसार खेतीमा लाग्न प्रेरित गर्दै आएको छ । परम्परागत कृषि प्रणाली त्यागेर यहाँका किसान सामूहिक तथा व्यक्तिगत फर्मबाट व्यावसायिक रूपमा कृषि खेती गर्न थालेका छन् । 


चालु आर्थिक वर्षमा फलफूल क्षेत्र विकास आयोजना १८७ हेक्टर जमिनमा हिउँदे र बर्खे फलफूलको क्षेत्र विस्तार भएको छ । दुईवटा मध्यम खालका हाइटेक फलफूल नर्सरी स्थापना गरिएको बताइन्छ । चक्लाबन्दीमा आलु उत्पादन आयोजनाअन्तर्गत २३ हेक्टर क्षेत्रफलमा उन्नत जातका आलुको क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र डोटीले उपलब्ध गराएको तथ्याङ्कअनुसार चक्लाबन्दीमा तरकारी खेती गर्न १३४ बाँसका प्लास्टिक घर र दुईवटा सिँचाइ पोखरी निर्माण भइरहेका छन् ।

जोरायल गाउँपालिका–२ मा जलवायुमैत्री कृषि नमुना गाउँ घोषणा गरिएको छ । त्यहाँको ५४ रोपनी क्षेत्रफलमा आलुको क्षेत्र विस्तार गरिएको छ । २५ वटा बाँसका प्लास्टिक घर निर्माण गरिएको छ । थोपा सिँचाइ, प्लास्टिक घर, मल्चिङजस्ता आधुनिक प्रविधि प्रयोग गरेर जस्तोसुकै मौसम र अवस्थामा कृषि उपज उत्पादन गर्न सकिने गरी काम भइहरेको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरूले जानकारी दिनुभयो । १३ हेक्टर जमिनमा व्यावसायिक प्याज खेती गर्न अनुदानमा उन्नत जातको बिउ वितरण गरिएको बताइन्छ । जिल्लामा च्याउ उत्पादनका लागि पनि विशेष कार्यक्रम लागू भएको छ । डोटीका ४० जना कृषकले व्यावसायिक रूपमा च्याउखेती गर्दै आउनुभएको छ । व्यावसायिक तरकारी खेतीका लागि अनुदानमा प्लास्टिक टनेल वितरण गरिँदै आएको छ । पछिल्लो समय प्रदेश सरकारको सहयोगमा १२५ वटा बाँसका प्लास्टिक घर निर्माण भएका छन् ।

कृषि उत्पादनलाई बढावा दिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा साना सिँचाइ निर्माणको काम पनि सँगसँगै अघि बढाइएको छ । हाल २८ हेक्टर क्षेत्रफलमा पुग्ने गरी सिँचाइ आयोजना निर्माण भएका छन् । सिँचाइ आयोजनाले उत्पादन वृद्धि भएको ज्ञान केन्द्रले जनाएको छ । कृषि उत्पादनको बजारीकरण र किसानको आयस्रोत सञ्चित गर्न सहकारीमार्फत पनि लगानी गरेको पाइन्छ । सरकारको लगानीमा छवटा सहकारीमा भवन निर्माण गरिएका छन् ।

मख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमअन्तर्गत ८० वटा फलामे टनेल, ५५ वटा बाँसका प्लास्टिक घर निर्माण भएका छन् । प्लास्टिक घरमा बेमौसमी तरकारी खेती गरिँदै आएको छ । २३० हेक्टर जमिनमा खुला तरकारी खेती गरिएको छ । सोही कार्यक्रमअन्तर्गत ६० रोपनीमा अदुवा खेती विस्तार गरिएको छ । एउटा कोल्ड स्टोर, सोलार ड्रायर र चारवटा पोखरी निर्माण भएका छन् । विपन्न वर्ग लक्षित कृषकका लागि छुट्टै कार्यक्रम छ । दलित, एकल महिला, जनजाति वर्गलाई प्राथमिकतामा राखेर अनुदान तथा सहयोगको व्यवस्था गरिएको छ । हाल ५७ जनाले विपन्न वर्ग लक्षित कार्यक्रमबाट सहयोग प्राप्त गरेर तरकारी, च्याउ र अदुवा खेती गरेर आम्दानी गरिरहेका बताइन्छ । ४५ हेक्टर जमिनमा हिउँदे तथा वर्षे फलफूलको क्षेत्र विस्तार भएको छ, जसमा दुईवटा सिँचाइ पोखरी निर्माण गरिएको छ । व्यावसायिक कृषकलाई कृषि सामग्रीसमेत अनुदानमा वितरण गरिएको ज्ञान केन्द्रको वार्षिक प्रगति विवरणमा उल्लेख छ । बीज वृद्धि आयोजनाअन्तर्गत पाँच हेक्टरमा मकै र दुई हेक्टरमा भटमासको बिउ उत्पादन भएको छ । 

रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत काठमाडौँमा बास्मती धानको ब्रान्डिङसहित बजारीकरण गरिँदै आएको छ । कोदोको बजारीकरणमा समेत सहयोग पुगेको छ । जिल्लामा प्राङ्गारिक कृषि प्रवद्र्धन कार्यक्रमसमेत लागू छ । 

सिँचाइका २५३ आयोजना 

कृषिलाई प्रवद्र्धन गर्न प्रदेश सरकारले सिँचाइ आयोजनालाई प्राथमिकता दिएको छ । गत आर्थिक वर्षमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत डोटीमा ३२ करोड १४ लाखको लागतमा सिँचाइ आयोजना निर्माण गरिएको थियो । 

चालु आर्थिक वर्षमा सिँचाइतर्फ ४० करोड ९८ लाख बजेट व्यवस्थापन गरिएको छ । यसअन्तर्गत २५३ वटा सिँचाइ आयोजना र १०७ वटा तटबन्धनका आयोजना निर्माण गर्ने लक्ष्य रहेको सिँचाइ विकास डिभिजन कार्यालय डोटीका सूचना अधिकृत मेखु अधिकारीले जानकारी दिनुभयो । यस आर्थिक वर्षको बजेटमा १० लाखदेखि ३० लाख रुपियाँसम्मका आयोजना समेटिका छन् । खेतीयोग्य र उत्पादनशील जमिन रहेका क्षेत्रमा आयोजना निर्माण गरिएका छन् । विशेषतः धान, गहुँ उत्पादन हुने खेतका लागि बढी आयोजना माग हुँदै आएका छन् । 

आदर्श गाउँपालिका–५ मा गडखेत तलारा सिँचाइ आयोजना निर्माण गरिएको छ । दिपायल सिलगढी नगरपालिका–८, दाङमा बालखेत सलडा सिँचाइ आयोजना, जोरायल गाउँपालिका–४ मा राहुलगाउँ सिँचाइ आयोजना निर्माण गरिएको छ । यी क्षेत्रमा खेतीका लागि उपयुक्त ठुल्ठूला फाँटहरू छन् । एउटा आयोजनाले दुई सयदेखि चार सय किसानलाई राहत मिलेको सिँचाइ विकास डिभिजन कार्यालयको दाबी छ । प्रदेश सरकार स्थापना भएदेखि हालसम्म वार्षिक रूपमा मर्मतसहित तीन सयदेखि पाँच सय आयोजनाको काम हुने गरेको छ । सिँचाइ विकास डिभिजन कार्यालयमा प्रदेश सरकारको तुलनामा सङ्घ सरकारको १० देखि १५ प्रतिशत मात्रै बजेट आउने गरेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले डोटीका लागि ४० करोड ९८ लाख २१ हजार ७२३ रुपियाँ बजेट विनियोजन गरेको थियो । सङ्घ सरकारबाट छ करोड १७ लाख बजेट मात्रै प्राप्त भएको थियो ।

सिँचाइको बजेट सधैँ फ्रिज

भौतिक पूर्वाधार विकास मन्त्रालयले डोटीमा लिफ्ट सिँचाइ आयोजना निर्माण गर्न बर्सेनि बजेट विनियोजन गर्ने गरेको छ । सिँचाइका लागि पानीको मुहान नभएका तर खेतीयोग्य जमिन भएका क्षेत्रमा लिफ्टमार्फत पानी तानेर खेतबारीमा प्रयोग गर्ने आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । 

डोटीमा पाँचवटा लिफ्ट सिँचाइ आयोजना निर्माण गर्ने लक्ष्यसहित मन्त्रालयले २०७५ देखि निरन्तर बजेटको व्यवस्था गर्दै आए पनि ती योजना निर्माण हुन सकेका छैनन् । मन्त्रालयले त्यस्ता आयोजना निर्माण गर्न बर्सेनि पाँचदेखि २० लाख रुपियाँसम्म बजेट विनियोजन गर्दै आएको छ । 

चालु आर्थिक वर्षमा लिफ्ट सिँचाइ आयोजनालाई निरन्तरता दिन ६५ लाख बजेट विनियोजन गरे पनि काम सुरु हुन नसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । खानेपानीको समेत अभाव झेल्दै आएको दिपायल सिलगढी नगरपालिका–४, बाँफी गाउँमा लिफ्ट सिँचाइ आयोजना निर्माण गर्न प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा १० लाख बजेट विनियोजन गरेको थियो । सो रकमको काम नहुँदा फ्रिज भएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा बजेट अपुग भएको कारण देखाउँदै उपभोक्ताले गुनासो गरेपछि सोही आयोजनाका नाममा मन्त्रालयले २० लाख बजेट विनियोजन गरेको थियो, त्यो रकमको पनि काम हुन सकेन । चालु आर्थिक वर्षमा पनि त्यसलाई निरन्तरता दिइएको छ । २० लाख बजेट रहेको सो योजनाको काम हालसम्म सुरु हुन सकेको छैन । 

त्यस्तै दिपायल सिलगढी नगरपालिका–१, शिरखोली सैन लिफ्ट सिँचाइ आयोजनाको बजेट पनि बर्सेनि फ्रिज हुँदै आएको छ । सो आयोजनामा गत वर्ष पाँच लाख फ्रिज भएको थियो । यस वर्ष १० लाख विनियोजन गरिएको छ तर काम सुरु हुन सकेको छैन । 

शिखर नगरपालिका–६ मा निर्माण हुने भनिएको मङ्गलपुर लिफ्ट सिँचाइ आयोजनाका लागि गत वर्ष विनियोजित पाँच लाख बजेट फ्रिज भएको थियो । चालु आर्थिक वर्षमा त्यसको बजेट १० लाख छ यद्यपि अझै काम सुरु हुन सकेको छैन । यता दिपायल सिलगढी नगरपालिका–१, घटालीगाउँ सिर्खोली सैन सेती नदी लिफ्ट सिँचाइ आयोजनाको गत वर्षको १५ लाख बजेट पनि फ्रिज भएको थियो । चालु आर्थिक वर्षमा सोही आयोजना निर्माणका लागि १५ लाख रुपियाँ विनियोजन गरिएको छ । पूर्वीचौकी गाउँपालिका–४ मा निर्माण हुने भनिएको गन्डिगाड लिफ्ट सिँचाइ आयोजनाको १० लाख रुपियाँ गत आर्थिक वर्षमा फ्रिज भएको थियो । यस वर्ष पनि १० लाख विनियोजन गरिएको छ तथापि काम भने सुरु हुन सकेको छैन । अपुग बजेटका कारण आयोजनाहरू निर्माण नसकिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख रामरथ खरेलले बताउनुभयो । उहाँका अनुसार लिफ्ट सिँचाइ आयोजना निर्माण गर्न ५० लाखदेखि एक करोड रुपियाँसम्म खर्च हुन्छ । सरकारले विनियोजन गर्ने बजेटमा एउटा मेसिन खरिद गर्नसमेत बजेट अपुग हुन्छ । अधुरो बजेटमा काम गर्न कठिन हुने भएकाले बजेट फ्रिज हुने गरेको छ ।

पर्यटक तान्न सङ्ग्रहालय 

डोटीको जोरायल गाउँपालिका–१, पोखरीडाँडामा डोटेली कला, संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सो सङ्ग्रहालय स्थापना गरिएको हो । 

सुदूरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय डोटीको सहयोगमा रानीवन सामुदायिक वन उपभोक्ता समूहले स्थानीय परम्परा, कला, संस्कृति र पहिचान झल्कने सामग्रीसहितको सङ्ग्रहालय स्थापना गरेको हो । डोटेली कला, संस्कृति, सभ्यता, परम्परा र इतिहासका बारेमा जानकारी दिने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष भाष्कर भट्टले बताउनुभयो । 

सङ्ग्रहालयमा सुदूरपश्चिमका पुराना ऐतिहासिक हातहतियार, पहिरन, बाजा, भाँडाकुँडा, गरगहना, वाद्यवादन सामग्री, वेशभूषा झल्काउने सामग्री राखिएको छ । डिभिजन वन कार्यालय डोटीको चार लाख र रानीवन सामुदायिक वन उपभोक्ता समितिको ४० हजार रुपियाँको लागतमा सङ्ग्रहालय स्थापना गरिएको हो ।

 

स्वास्थ्य सेवा सहज हुँदै

डोटीमा हाल ११८ वटा सरकारी स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षमा चार करोड ४१ लाख स्वास्थ्य क्षेत्रमा खर्च गर्दै छ । 

सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य कार्यालयमार्फत ग्रामीण क्षेत्रका जनतालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य शिविर, बन्ध्याकरण शिविर, खोप अभियान, अल्ट्रासाउन्ड सेवाजस्ता थुप्रै कार्यक्रम सञ्चालन गरिँदै आएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । प्रदेश सरकारको सहयोगमा सञ्चालन भएका कार्यक्रममध्ये ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम निकै प्रभावकारी देखिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले बताउनुभयो । यो कार्यक्रमले जिल्ला सदरमुकाममै पुगेर पटक–पटक अल्ट्रासाउन्ड गर्नुपर्ने बाध्यता हटेको बताइन्छ । प्रमुख जोशीका अनुसार सुत्केरी महिलाले गाउँमै सेवा पाइरहेका छन् । मातृ मृत्यु दर घटाउन पनि महत्वपूर्ण योगदान पुगेको छ । 

ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम जिल्लाका सबै पालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा घुम्ती शिविरका रूपमा दक्ष जनशक्तिसहित सञ्चालन गरिँदै आएको छ । एक आर्थिक वर्षमा जिल्लाका तीन हजार १८९ महिलाले ग्रामीण अल्ट्रासाउन्ड सेवा लिएका छन् । तीमध्ये १०८ जना जटिल अवस्थाका गर्भवती थिए । विद्यालयमा विद्यार्थीसँग नर्स कार्यक्रम सञ्चालन गरिँदै आएको छ । यस वर्ष जिल्लाको बोगटान फुड्सिल गाउँपालिका, केआईसिंह गाउँपालिका र जोरायल गाउँपालिकाअन्तर्गतका विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रम अन्य पालिकामा पनि विस्तार गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । विद्यालयहरूमा गरिएको यो कार्यक्रम निकै प्रभावकारी देखिएको केआईसिंह गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवीन माझीले बताउनुभयो । 


स्वास्थ्य कार्यालयले महामारी, प्रकोपका समयमा दु्रत प्रतिकार्य टोलीसमेत परिचाल गर्ने गरेको छ । डोटी जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषण गरिएको छ । जिल्लाका ९० प्रतिशत मानिसले कोभिड खोप लगाएका छन् । स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या ७६ प्रतिशत रहेको छ । जिल्लाका २५ स्थानमा परिवार नियोजनका पाँचवटै साधन प्राप्त गर्ने संस्था रहेका छन् । जिल्लाका २९ स्वाथ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रदान गरिँदै आएको छ । जिल्ला अस्पतालमा २४ घण्टे आकस्मिक शल्यक्रिया सेवासमेत प्रदान गरिँदै आएको छ । महिलामा देखिने पाठेघरको समस्याको उपचार, शल्यक्रिया र स्वास्थ्य परामर्शसमेत शिविरमार्फत सञ्चालन गरिँदै आएको छ । यसका कारण स्वास्थ्य सेवामा ग्रामीण क्षेत्रका जनताको पहुँच पृद्धि हुँदै गएको छ ।